यथार्थको पुन:सिर्जन

पुस्तक : अघोरी | कथाकार : राजेन्द्र पराजुली | प्रकाशक : किताब पब्लिसर्स | पृष्ठ : १६४ | मूल्य : ३९० रुपैयाँ

- शार्दूल भट्टराई

राजनीतिमा निस्वार्थ त्याग र इमानदारीको अर्थ छैन ? भ्रष्ट र अनैतिकहरुले नै राजनीतिमा मान–सम्मान र सफलता पाइरहने हो ? समाजमा स्वच्छ छवि र निष्ठाको मूल्य छैन ? उत्पीडन र भेदभाव समाजबाट कहिले हट्ला ?

समाजमा नैतिक मूल्यको स्थापना कहिले होला ? देशमा परिवर्तनको आभास कहाँ छ ? यस्ता अनेक प्रश्नसहित उपस्थित भएका छन्, कथाकार राजेन्द्र पराजुली नयाँ कथा–संग्रह अघोरीमा । 

राजनीतिक विकृति, सामाजिक कुरीति, मानवीय मनोविज्ञान, व्यक्तिका मनोवृत्ति, जीवनका पीडा र समय–सन्दर्भका विडम्बनालाई विषय बनाएर कथा लेख्ने कथाकार हुन्, पराजुली । उनको सातौँ पुस्तक अघोरीमा १७ कथा संगृहीत छन् ।

समाजका सानाठूला सबै खाले घटनालाई कथाकार पराजुलीले नजिकबाट नियालेका छन् । त्यस्ता घटनामा उनको हेराइ सूक्ष्म छ । असलको सम्मान र खराबको निन्दा गर्ने उनको लेखकीय ध्येय कथाका घटनाहरुको हेराइमा अभिव्यक्त भएको छ ।

यथार्थको अनुभव, इतिहास, मिथकजस्ता कुरा कथाका स्रोत बनेका हुन्छन् । पराजुली पनि तिनै स्रोतमा आधारित भएर कथा लेख्छन् । उनका स्रोतमा विशेषगरी यथार्थपरक अनुभव रहेका छन् । यथार्थपरक अनुभवमा पनि बाह्य यथार्थ र आन्तरिक यथार्थ दुवै उनका कथाका स्रोत बनेका छन् ।  

लेखनमा शिल्प भनेको फूलबुट्टा भरेर विषयलाई कलापूर्ण बनाउने कारिगरी हो । शैली भाव अभिव्यक्तिको एउटा ढाँचा हो । यी दुवैको आधार भने भाषा नै हो । अझ कथाको विशेषता भनेकै भाषाको माध्यमबाट मूर्त रुपमा अभिव्यक्त हुनु हो । कथा कत्तिको प्रभावकारी र प्रभावशाली छ भन्ने कुराको निर्धारण भाषाले गर्छ । रचना शक्तिको अर्थमा साहित्यमा भन्ने गरिने कला वा सौन्दर्यको आधार पनि भाषा नै हो । भाषाको शक्ति भनेकै समग्र रचनाको सौन्दर्य हो । भाषाको शक्तिकै सन्दर्भमा कथामा विभिन्न अभिव्यक्ति शैलीको प्रयोग हुन सक्छ । धेरैले विशेषगरी घुमाउरो, सोझो र सांकेतिक अभिव्यक्ति शैलीको प्रयोग गरेको पाइन्छ ।

प्रस्तुत संग्रहमा कथाकार पराजुलीले तीनै खाले शैलीको प्रयोग गरेका छन् । द्वन्द्वको संयोजनका सन्दर्भमा कथाकार पराजुलीले चित्रात्मक, दृश्यात्मक र नाटकीय पद्धतिको प्रयोगलाई बढी रुचाएको अनुभव हुन्छ । अनावश्यक चित्रण, वर्णन र संवादबाट कथालाई लम्ब्याउने कुराको विपक्षमा उभिएका छन् उनी । कथ्यको ढाँचा मात्र होइन, भाषिक अभिव्यक्तिमा पनि उनले कथा निर्माणको शिल्पलाई ख्याल गरेका छन् । उनका अघिल्ला कथाकृतिसँग तुलना गर्ने हो भने पनि यस संग्रहको भाषाशैलीलाई बढी प्रभावी मान्नुपर्छ ।

प्रस्तुत संग्रहमा अमूर्त कुरालाई पनि प्रतीकको माध्यमबाट मूर्त बनाउने काम कथाकारले गरेका छन् । त्यस सन्दर्भमा कथाकारले सार्वभौमिक प्रतीकको मात्र प्रयोग गरेका छैनन्, वैयक्तिक प्रतीकको प्रयोगसमेत गरेका छन्, जसलाई उनको मौलिक सिर्जनाको फरक विशेषता मान्नुपर्छ । ‘रातो छाता’ मा वैयक्तिक प्रतीकको प्रयोग भएको पाइन्छ भने ‘माकुरो’ मा सार्वभौम प्रतीक । कथाहरुमा पात्रको स्वभाव र कथामा प्रयुक्त प्रतीकात्मक अर्थका आधारमा शीर्षक राखिएका छन् । मानिसको स्वभाव र चरित्रकै प्रतीकका रुपमा कृतिको शीर्षक छ, अघोरी । त्यस्तै, ‘माकुरो’, ‘रातो छाता’, ‘हुरी’, ‘न्यानो’ जस्ता शीर्षक आफैँमा प्रतीकात्मक लाग्छन् ।

पराजुली यथार्थवादी कथाकार हुन् ।  यस संग्रहका कथा पनि यथार्थवादी धरातलमा छन् । जीवनलाई स्पर्श गर्ने यथार्थवादी कथाको शक्तिलाई पराजुलीका यी कथाले आत्मसात् गरेका छन् । त्यसैकारण पनि होला, कथामा रोमान्टिक आत्मपरकता पाइँदैन । उनका सबै कथा वस्तुपरकतालाई महत्त्व दिएर लेखिएका छन् । यथार्थवादको प्रभाव गहिरो हुन्छ भन्ने कुराको उदाहरणका रुपमा पनि उनका ‘एकान्तवास’, ‘अघोरी’, ‘दुर्गा मिसको साइकल’, ‘गुमदेश’, ‘हे माते’, ‘माकुरो’, ‘केमिस्ट्री’, ‘अकल्पनीय’, ‘हुरी’ जस्ता कथालाई लिन सकिन्छ ।

कथाकार पराजुली कुनै पनि खाले अतिरञ्जना र उडन्ते कल्पनाको विरुद्धमा छन् । यथार्थभन्दा टाढाको हवाई कल्पनामा उड्न उनी पटक्कै मन पराउँदैनन् । अभिव्यक्तिमा उनी हरेक कुरालाई आफ्नै धरातलबाट हेर्छन् । यथार्थप्रति उनको कल्पनाशीलता वास्तवमै कठोर छ । उनको यथार्थ फोटोग्राफिक छैन, यथार्थ त पुन:सिर्जन हो । उनी घटनाको प्रतिलिपि उतार्दैनन्, संश्लेषणात्मक प्रतिविम्बन प्रस्तुत गर्छन् । यथार्थको पुन:सिर्जन र यथार्थकै प्रतिविम्बनका उदाहरणका रुपमा रहेका छन् उनका कथाहरु । यथार्थको पुन:सिर्जन भनेको यथार्थकै कलागत पहिचान हो भन्ने मान्यतामा उनको यो संग्रह प्रस्तुत छ । क्षणिक रुपमा पाठकलाई आनन्दित बनाउने काल्पनिक जादूगर बन्ने प्रयत्न उनले पटक्कै गरेका छैनन् ।

प्रकाशित: पुस २५, २०७५

ट्याग: पुस्तक