धरहरामा विपक्षी

- सुरेश किरण

काठमाडौँको सुन्धारास्थित नौतले धरहरा अब २२ तले हुनेभएको  छ । अहिले धरहरा बनाउने काम तीव्र रुपले अगाडि बढिरहेको छ । स्वयं प्रधानमन्त्री केपी ओलीको सदिच्छाअनुरुप यो धरहरा बनाउन लागिएको हो । सुनिन्छ, ठीक यस्तै अर्को एउटा धरहरा प्रधानमन्त्रीको गृहजिल्ला झापामा पनि बन्दैछ रे । धेरैको अनुमान छ, यी दुइटा धरहरा बनेपछि नेपाल समृद्ध बन्नेछ र नेपाली सुखी हुनेछन् ।

काठमाडौँको धरहरा शिलान्यास गर्ने कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभएछ, यो धरहरा बनेपछि त्यहाँ चढेर काठमाडौँ हेर्ने इच्छा छ । त्यो त ठीकै हो । आखिर प्रधानमन्त्री भएपछि देश ‘हेर्ने’ दायित्व उहाँकै हो । उहाँ धरहरा चढेर देश हेर्न चाहनुहुन्छ । दायित्व त वहन गर्नैपर्‍यो ।

तर मेरो विचारमा चाहिँ धरहरा बनिसकेपछि त्यहाँ प्रधानमन्त्री मात्र होइन, सबैभन्दा पहिले त विपक्षी पार्टीका नेताहरुलाई चढाउनुपर्छ । सबैले सुनेकै हुनुपर्छ, हिजोआज विपक्षी दलका नेताहरू सरकारै देखिएन भनिरहेका छन् । जहाँ गए पनि सरकारै देखिएन भन्न थालिहाल्छन् । अब उनीहरुलाई २२ तले धरहरा चढाइदियो भने त्यहाँबाट चाहिँ सरकार देख्लान् कि ?

प्रकाशित: पुस २३, २०७५

ट्याग: परिहास