कफी गफ, नयाँ सिरप

- गोकर्ण गौतम

किताब लेख्न सधैँ झक्झक्याइरहने सबै प्रिय पाठकहरुलाई नयाँ वर्ष २०१९ को मेरो कोसेली !’

 

वर्ष २०१८ को अन्तिम दिन आख्यानकार/पत्रकार नारायण  वाग्लेले ‘सरप्राइज’ दिएफेसबुक/ट्वीटरइन्स्टाग्राममा । सँगै अपलोड गरिएको थियो, उनको नयाँ पुस्तक कोरियाना: कफी गफको गाता । किताब केही दिनमै सार्वजनिक हुँदै छ । तर उनका निकटस्थले समेत सुइँको पाएनन् । प्रकाशक नेपालयले पनि पाण्डुलिपि बुझाएपछि मात्र पत्तो पाएको रहेछ । रेडमड, थापाथलीमा कफीको चुस्की लिँदै वाग्ले मुस्कुराए, “गुन्गुनाउँदा अरुलाई सुनाउन दकस लाग्छ । गीत पूरै तयार भएपछि मात्र सुनाउँछु । स्वभाव यस्तै छ मेरो ।”

आठ वर्ष भयो, वाग्लेको दोस्रो उपन्यास मयूर टाइम्स सार्वजनिक भएको । उनको लत लागेकालाई नयाँ पुस्तक आउने खबरले उत्साहित बनाउने भइहाल्यो । कारण भने यत्ति मात्र छैन, नाममा झुन्डिएको ‘कफी गफ’ ले धेरैलाई ‘नोस्टाल्जिया’ मा लगेको हो । कुनै समय कान्तिपुरमा वाग्लेको शनिबारे स्तम्भ प्रकाशित हुन्थ्यो, कफी गफ । अनौपचारिक शैलीको लोकप्रिय यो स्तम्भ वाग्लेको ‘ट्रेडमार्क’ नै बन्यो । कतिपयले सोचेछन् पनि, त्यतिबेलै प्रकाशित स्तम्भहरुको संकलन रहेछ, नयाँ पुस्तक । यत्तिमै फुरुंग थिए, उनका पाठक । जबकि, यो पूरापूर ताजा पुस्तक हो तर कफी गफकै शैलीमा लेखिएको । वाग्लेकै शब्दमा, ‘सिर्जनशील गैरआख्यान’ । भन्छन्, “पाठकले यसलाई उपन्यासका रुपमा पढ्न सक्छन्, निबन्धका रुपमा पनि पढ्न सक्छन् । मेरो चाहचाहिँ कफी गफका रुपमा पढून् भन्ने छ ।” यसो भनौँ, कफी गफको पुस्तकाकार रुप हो, कोरियाना

वाग्ले आफैँलाई ‘मिस’ हुन्छ, कफी गफ । लेखकको पहिचान र हजारौँ पाठकको प्रेम दिलाएको भएर मात्र होइन, उक्त स्तम्भमा उनको स्वतन्त्र उडान हुन्थ्यो । जस्तो चाहन्थे, त्यस्तै लेख्न सक्थे/पाउँथे । सम्पादन हुन्नथ्यो । अनेक प्रयोग गर्थे । पत्रकार/सम्पादक भएर लेख्दा त्यो स्वछन्दता कहाँ ! तर दु:खमनाउ छैन । पत्रकार नभएको भए कफी गफ लेख्ने खुराक मिल्दैनथ्यो । कफी गफ नलेखेको भए पल्पसा क्याफे  सायदै लेखिन्थ्यो । पल्पसा क्याफे  नलेखिएको भए न मयूर टाइम्स  लेखिन्थ्यो, न त अहिलेको पुस्तक । त्यसो त, कफी गफको प्रभाव वाग्लेको लेखनीमा मात्र सीमित छैन । उपन्यासकार बुद्धिसागरले केही वर्षअगाडि नेपालसँग भनेका थिए, “पल्पसा क्याफे नलेखिएको भए मेरो कर्नाली ब्लुज सायदै जन्मन्थ्यो ।” अहिले बजारमा नाम कमाएका कतिपय पुस्तकमा यही लेखन शैलीको चर्को छाप छ । यी सबैको जननीचाहिँ, कफी गफ ।

सुरु गरौँ, त्यही कफी गफको सुनौलो कथा ।

२०५१–५२ सालको ठमेल ।

वाग्ले यसलाई ‘उबेलाको ठमेल’ भन्न रुचाउँछन् । अहिलेजस्तो कर्कश कोलाहल होइन, संगीतमय । अहिलेजस्तो भीडभाड होइन, शान्त । कंक्रिटले ढाकेको होइन, मौलिकताले भरिएको । मानौँ, सहर होइन, पुस्तकालयको विस्तारित रुप हो । त्यो स्वर्णिम ठमेलमा रोजै पुग्थे, वाग्ले । कफी चिनाउने जस जान्छ, कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्यायलाई । “कालो कफी पिउनकै लागि सम्पादकको कोठामा गइन्थ्यो । कफी तीतो भएपछि मात्र मीठो हुन्छ भन्नेचाहिँ ठमेलमा सिकेँ,” यी कफी गफीले सम्झे । खासमा त्यसभन्दा पहिले उनी ‘कोलाज’ नामक स्तम्भ लेख्थे ।

पत्रकारको मूल दायित्व समाचार । वाग्ले पनि लेख्थे तर निश्चित ढाँचामा बाँधिनैपर्ने । ‘डेडलाइन’ को दबाब सामान्य भइहाल्यो । त्यसमाथि उनी परे फुक्काफाल घुमन्ते । समाचार कक्ष होइन, पहाड र गाउँ चहार्न दिलचस्पी राख्थे । ठाउँपिच्छे फेरिँदै जान्थे– पात्र, घटना, मौसम र विषयहरु । नोटबुकमा टिपेका सबै समाचारमा मात्रै अटाउन सकिन्नथ्यो । कति पात्र र विषयहरु समाचारको परम्परागत मानकभित्र अटाउँदैनथे । वाग्ले सम्झन्छन्, “पत्रकारलाई आफ्नो नोटबुक र त्यसमा टिपेका कुराहरु प्रिय हुन्छन् । ती छुटेका घटना, पात्रले चिमोट्थे । त्यत्तिकै खेर जान दिन मन लागेन ।” वाग्लेले स्वान्त:सुखायका लागि कफी गफ थालेका थिए तर त्यसले पाठकलाई छिट्टै आफ्नो बनायो । 

वाग्लेले यस्तो लेख्न थाले, जस्तो उनले पढ्न पाएका थिएनन् । सरल, सरस । पाठकसँग बसिबियाँलो गर्दै । जुन पात्रका बारेमा लेख्थे, पाठक स्वयंले प्रत्यक्ष भेटेको आभास दिलाउँथे । वाक्य बोझिला होइन, बलिया । अनि त जसले पढ्थे, ती त फिदा हुने भइहाले । उनको नाममा पत्रहरुको ओइरो लाग्न थाल्यो । अफिसमा मात्र होइन, घरमा पनि । मुस्कुराउँछन्, “घरमा चिट्ठीका चाङ देखेर दाजुभाइहरु ठान्थे, मेरो टन्न लभ परिरा’को छ । तर ती व्यक्तिगत पत्रहरु मजस्तो युवा रिपोर्टरलाई दंग पार्ने प्रशस्त खुराक थिए ।” अधिकांश पत्र तन्नेरीका हुन्थे ।

समाचारमा नआउने प्रतिक्रिया कफी गफबाट आउन थाल्यो । जताततै चर्चा । उनको बाइलाइनमा समाचार आउँदा पाठक भन्ने गर्थे, ‘कफी गफ लेख्ने नारायण वाग्ले हो ।’ उनको पत्रकारभन्दा आत्मीय र फराकिलो छ, लेखकीय छवि । समाचारमा सूचना हुन्थ्यो, कफी गफमा सुख । भन्छन्, “मान्छे सूचना वा ज्ञानभन्दा आनन्दसँग जोडिएको हुँदो रहेछ । किनभने पत्रमा ‘कफी गफ पढ्न शनिबार–शनिबार कान्तिपुर किन्छु’ भनेर लेखिएको हुन्थ्यो ।” वाग्ले साहित्य पढेर पत्रकारितामा आए, साहित्यको सौन्दर्य समाचारमा मिसाए, कफी गफ अझ ज्यादा । उनको यो जादूयी शैलीमा अर्नेस्ट हेमिङ्वे र भीएस नइपालका कृतिहरुको ठूलो उत्प्रेरणा रहेछ ।

बीसौँ शताब्दीका महान हेमिङ्वे पहिलो विश्वयुद्धमा एम्बुलेन्स चालकका रुपमा प्रत्यक्ष सहभागी थिए । उनको मूल पेसा भने पत्रकारिता थियो । उनले युद्धको रिपोर्टिङ पनि गरे । पछि उपन्यास लेखे, नोबेल पुरस्कार जिते । उनको लेखाइ सरल थियो । छोटा तर बलिष्ठ वाक्य लेख्थे । पुनर्लेखनबाट आर्जन हुने शक्तिमा विश्वास गर्थे । लिड लेख्दा बढीभन्दा बढी सोच्थे । नइपालचाहिँ पत्रकार होइनन् तर रिपोर्ताज शैलीमा लेख्थे । एउटा पुस्तक आख्यान लेख्यो भने अर्को गैरआख्यान लेख्थे । यसो गर्दा, तथ्य र कल्पनाशीलताको सन्तुलन मिल्छ भन्ने सोचाइ थियो उनको । वाग्ले भन्छन्, “मैले यी दुवै लेखक र उनीहरुको लेखन शैलीलाई आदर्श मानेर पछ्याएँ ।” वाग्लेको यही शैली सर्वप्रिय भयो । अर्थात्, हाम्रो साहित्य/पत्रकारितामा पनि सरलताको खडेरी रहेछ ।

नारायण वाग्ले | तस्बिरहरु : रवि मानन्धर


“कोरिया यात्राका विषय र पात्रसँगको भेटलाई सम्झनामा राख्न पनि लेख्नैपर्ने थियो । यो पुस्तक कफी गफका पाठकलाई सिरपजस्तै हुनेछ ।”

वाग्लेले कफी गफ कहिल्यै समाचार कक्षभित्र लेखेनन् । सधैँ समाचारको डेडलाइनको रस्साकस्सीमा लेख्ने माहोल कहाँ ! डेराका चिसा कोठाहरुमा लेख्ने मुड हुन्नथ्यो । न्यानो ठमेलमा पुगेर लेख्न थाल्थे– कफीको चुस्की लिँदै, संगीतमा रमाउँदै, हावासँग बात गर्दै । सुरु–सुरुमा हातले लेख्ने गर्थे । सोचाइ सघन भयो भने पुन: लेखन बढी हुन्नथ्यो । कति कुरा काल्पनिक लेख्थे, कति सत्य । कहिलेकाहीँ सपनामा देखेको कुरा पनि लेख्थे । यो हुनुपर्छ, त्यो हुनुहुन्न भन्ने बन्धन थिएन । खासमा ती सबै समाचारमा नअटाएका रहलपहल घटना र पात्र हुन्थे तर तिनै पाठकहरुमा प्रिय भइदिए ।

कफी गफको लोकप्रियता चुलिँदो थियो । अर्कातिर, कान्तिपुरमा उनी नेतृत्वदायी भूमिकामा उक्लदै थिए । पहिलेजस्तो डुल्न पाएनन् । नहिँड्दा न पात्रसँग साक्षात्कार हुने, न त घटनासँग । कल्पनाशीलतामा ह्रास हुन थाल्यो । यसको मारमा पर्‍यो, कफी गफ । वाग्ले भन्छन्, “कफी गफका लागि लेख्न, पढ्न, हिँड्न, घुम्न समय चाहिन्थ्यो तर नेतृत्वदायी भूमिकाले थिचिदै गएँ । बल गरेर समाचार लेख्न सक्थेँ तर कफी गफ होइन ।” अलिपछि पीपलबोट डटकम नयाँ स्तम्भ लेख्न थाले । वाग्ले सकार्छन्, “समाचार सम्पादक भएपछि राजनीति बुझ्छु भन्ने स्वाङ पार्न पीपलबोट डटकम सुरु गरेँ ।” यो स्तम्भले उस्तो निरन्तरता भने पाएन ।

कान्तिपुरमा सम्पादक भएपछि प्रकाशित पल्पसा क्याफेले वाग्लेलाई मदन पुरस्कार दिलायो । त्यसअघि नै उनी ‘सेलिब्रिटी’ भइसकेका थिए । आज पनि सदावहार बिक्री हुने पुस्तकमा पर्छ यो । पाँच वर्षपछि मयूर टाइम्स  लेखे, कफी गफकै विरासत पछ्याएर । पल्पसा क्याफे सुपरहिट भएपछि पाठक र प्रकाशन गृहको ‘नयाँ चाहियो’ भन्ने दबाब झेल्न नसकेर लेखेका थिए । उनकै भनाइमा, मयूर टाइम्सबाट पिटाइ खाए । भन्छन्, “लेखकको रुपमा मभित्रको अहं र पाठकको अपेक्षाको तालमेल मिलेन । त्यसैले पाठकको पिटाइ स्वाभाविक थियो ।” यसपछिका वर्षहरुमा पनि पत्रकारितामा सक्रिय रहे । कान्तिपुरपछि नागरिकको सम्पादकीय नेतृत्व छाडेपछिका वर्षहरुमा सेतोपाटी डिजिटल पत्रिकामा कफी गफ चलाइहेरे तर निरन्तरता दिन सकेनन् । दुई उपन्यासका खेस्रा गरे तर पूर्णता पाएका छैनन् । सिर्जनशील लेखनबाट टाढा रहनै नसक्ने यी लेखक पोहोर साल पछिल्लोपल्ट दक्षिण कोरिया पुगेका थिए, लेखन शिविरमा भाग लिन । त्यही बेला उनको मानसपटलमा जन्म भयो, कोरियाना । उनी त्यसअघि पाँच खेप कोरिया पुगेका थिए ।

वाग्लेका अनुसार यसमा सबै कोरियाकै विषय छन्, नेपालको प्रतिध्वनिचाहिँ हुन्छ । रातबिरात लेखेको पुस्तक हो यो । सुत्ने बेला छोरीलाई कथा सुनाउँथे । त्यही बेला समानान्तर रुपमा कोरियाका कथाहरु पनि सोच्थे । छोरी सुत्थिन्, उनी ल्यापटपमा औँलाहरु दौडाउँथे । कारण यत्ति हो, यो नलेख्दा विषय र पात्रले उनलाई औडाहा बनाउँथे, सताउँथे । लेखिसकेपछि एक चरणको सन्तुष्टि मिलेको छ, मन शान्त भएको छ । यसमा विषय र पात्र छन् तर घटना छैनन् । भन्छन्, “कोरिया यात्राका विषय र पात्रसँगको भेटलाई सम्झनामा राख्न पनि लेख्नैपर्ने थियो । यो पुस्तक कफी गफका पाठकलाई सिरपजस्तै हुनेछ ।”

जसरी पाठकहरु वाग्लेको पुस्तक पढ्न आतुर छन्, उसैगरी उनी पाठकको प्रतिक्रिया लिन । तर आफ्ना भावनाको निकास लेखन नै हो भन्नेमा अविचलित छन् सर्वदा । चाहे पल्पसा क्याफेको जस्तै ताली मिलोस् वा मयूर टाइम्सको जस्तै गाली ।

प्रकाशित: पुस २२, २०७५

ट्याग: रङ