महिलाका रौँको चर्चा

- नेपाल संवाददाता

महिलालाई प्राय: विज्ञापन र म्यागजिनमा रौँबिनै देखाउने चलन छ । वाक्सिङका साथै खौरेर चिटिक्क पारिन्छन् । बिस्तारै महिलाका शरीरका रौँसहितका तस्बिर देखा पर्न थालेका छन् ।

हो, विश्वभरका महिला समूहगत रुपमा ‘जानुहेयरी’ मा सहभागी हुन थालेका छन् । उनीहरुले अंग्रेजी पहिलो महिना जनवरीभर आफ्ना शरीरका रौँ हुर्काउनेछन् । जानुहेयरीमा महिलाले शरीरका रौँ नखुर्कनुको मुख्य ध्येय नै उनीहरुका पनि रौँ हुन्छन् भन्ने आत्मसात गर्नु हो । उनीहरु च्यारिटी चलाएर पनि पैसा जम्मा गर्छन् ।

जानुहेयरीको फेसबुक पेजमा लेखिएको छ, ‘हाम्रो समाज यस्तो भइसक्यो कि महिलाले शरीरमा रौँ राख्नु कुरुप र विद्रुप हुनु हो । यही कारण हामी शरीरका रौँ फ्याँक्न अभ्यस्त भइसकेका छौँ ।’

अभियानकी संस्थापक बेलायतकी २१ वर्षे लाउरा ज्याक्सन आफ्नो अभियानले विश्वभरका महिलाको ध्यान तानेपछि खुसी छिन् । विश्वभरकै महिलाले यो अभियानमा अमेरिका, क्यानडा, जर्मनी, रुस र स्पेनका महिला तथा किशोरीले सरिक हुने भन्दै अनलाइन फारम भरेका छन् । जानुहेयरी अभियानअन्तर्गत जम्मा भएको रकम किशोरीको आत्मबल बढाउने र शैक्षिक कार्यक्रममा खर्चिइनेछ ।

प्रकाशित: पुस २२, २०७५