मेलिना राईको हिट यात्रा

- नेपाल संवाददाता

अहिलेकी सबैभन्दा चल्तिकी गायिका हुन् मेलिना राई । उनले जे गाउँछिन् हिट भइदिन्छ । दर्शक–श्रोताबाट निकै रुचाइएकी उनी रेडियो नेपालको देशव्यापी गायनमा प्रथम बनिसकेपछि गायनमा लागेकी थिइन् । मेलिनाको करियर टर्निङ प्वाइन्ट भइदियो फिल्म दुई रुपैयाँको गीत ‘कुटुमा कुटु...’ । अहिले मेलिनाले जे गाउँछिन् त्यो युट्युबको ट्रेन्डिङमा छाइदिन्छ । मेलिना सफलताको यस्तो घडीमा छिन्, उनी आफैलाई समेत के गर्ने के नगर्ने भइरहेको छ । सबै संगीतकारहरु मेलिनाले आफ्नो गीत गाइदेओस् भन्ने चाहन्छन् ।

करियरको पिकमा रहेकी उनी यो वर्ष धेरैभन्दा धेरै म्युजिक प्रोजेक्टहरु गर्दैछिन् । उनी सफल बन्नुमा उनले गाउने गीतको छनोट पनि एक हो । ‘पहिले पहिले म जेपनि गाउँथे । अहिले अग्रजहरुको सिफारिसमा मात्रै गाउँछु र गीतको शब्द मेरा लागि मेरो प्रमुख कुरा हो ।’,रेडियो कान्तिपुरको कार्यक्रम रेडियो टकमा मेलिनाले भनिन्, ‘आएका सबै गीत गाउन म सक्दिनँ । छानेर मात्र गाउँछु । समाजलाई भड्काउने भल्गर गीतहरु मेरो रोजाईमा पर्दैनन् ।’ मेलिनाले आफ्ना लागि गीतको शब्द मुख्य कुरा रहेको र त्यसैमा ध्यान दिने बताइन् ।

हिटका हिट पाश्र्व गायन दिएकी मेलिना गाउने मात्रै होइन भिडियो पनि खेल्ने गरेकी छन् । भिडियो मोडलिङबारे सोध्दा उनले भनिन्, ‘म गायिका नै हुँ । म त गीतमा केबल फिचर्ड मोडलमात्र हुँ । यसलाई फिचर्ड कभर भन्छन् ।’

प्रकाशित: पुस २०, २०७५

ट्याग: मनोरञ्जन