मन्त्रीज्यूले भनिसक्नुभयो

- सुरेश किरण

मन्त्रीज्यूले प्वाक्कै भनिहाल्नुभयो, ‘बलात्कारी समाइसक्यो, अब विधिसम्मत ढंगले सार्वजनिक गर्न मात्रै बाँकी छ ।’

तर मन्त्रीज्यूले त्यसो भनेर के गर्नु, यथार्थमा बलात्कारी त समाएकै रहेनछ । जो समातिएको हो, त्यो बलात्कारी होइन । जो बलात्कारी हो, त्यो समातिएकै छैन । अब गर्ने के ? मन्त्रीज्यूको यो अभिव्यक्तिले प्रहरी फोर्समा खैलाबैला मच्चियो । बलात्कारी त अहिलेसम्म समातिएकै छैन । तर मन्त्रीज्यूले समातिसक्यो भनिसक्नुभएकाले जो भए पनि एक जना बलात्कारी त समात्नैपर्‍यो । होइन भने मन्त्रीज्यूको प्रतिष्ठामै आँच आउने सम्भावना देखियो । अब मन्त्रीज्यूको प्रतिष्ठामा आँच आउनु भनेको राष्ट्रकै प्रतिष्ठामा आँच आउनुसरह हो ।

त्यसैले यतिबेला प्रहरी फोर्स एक थान बलात्कारीको खोजीमा तीव्र ढंगले लागिरहेको छ । जसरी होस् प्रहरीलाई एउटा बलात्कारी चाहिएको छ, चाहे त्यसले बलात्कार गरेको होस् वा नहोस्, त्यो ठूलो कुरा होइन । (प्रहरीको हातमा परेपछि बलात्कारी बन्न बलात्कारै गर्नुपर्छ भन्ने हुँदैन ।) अब कसैलाई न्याय दिलाउन, कानुनको रक्षा गर्न अथवा अपराधीलाई दण्ड दिन होइन, मन्त्रीज्यूले बलात्कारी समाइसक्यो भनेकाले बलात्कारी नसमाई नहुने अवस्था प्रहरीसामु खडा भएको छ । अब हेरौँ, प्रहरीले मन्त्रीज्यूलाई कसरी खुसी पार्ने हो ।   

प्रकाशित: पुस २०, २०७५

ट्याग: परिहास