यसरी भित्रियो बनारसबाट अखिल

- यज्ञप्रसाद आचार्य

नेपाल कम्युनिस्ट पार्टी (भारत) इकाइ गठन गरेको दुई वर्षपछि बनारसमै अखिल भारत नेपाली विद्यार्थी फेडेरेसनको महासम्मेलनको चुनाव गरायौँ, विसं ०१२ मा । सम्मेलनमा दुई पदाधिकारीमध्ये एउटा पक्ष नेपाली कांग्रेस समर्थित र अर्को पक्ष कांग्रेसविरोधी बनेर चुनावमा खडा भयौँ । त्यो चुनावमा कांग्रेसविरोधी प्यानलले जित्यो । यही चुनावबाटै अन्तत: कम्युनिस्ट पक्षधर विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) गठनको आधार बनेको हो ।

चुनावमा कोषाध्यक्ष पदमा म र अध्यक्षमा धनकुटाका ज्ञानेन्द्रबहादुर कार्की चुनियौँ । उनै कार्की पञ्चायतकालमा दर्जनौँ पटकभन्दा बढी मन्त्रीसमेत भए । त्यतिबेला नेपालबाहिर कुनै पनि नेपाली विद्यार्थी संगठनको स्थापना र अस्तित्व थिएन, त्यसमा पनि नेपालका राजनीतिक दलसँग आबद्ध विद्यार्थी वा युवा संगठन त झन् छँदै थिएनन् । यसकारण विदेशमा बसेर पनि नेपालीको गौरव उठाएको भन्दै प्रोत्साहनस्वरुप राजा महेन्द्रको भरथेग रह्यो ।

अखिल भारत नेपाली विद्यार्थी संगठनको स्थापना भएको थाहा पाएर कोलकाता भ्रमणका क्रममा राजा महेन्द्रले कार्कीका नाममा सफलताको शुभकामनासहित ठूलै आर्थिक सहयोग गरे । सम्मेलनमा कांग्रेसविरोधी समूह पराजित भई हाम्रो समूहले जितेको थियो ।

सम्मेलनबाट छानिएको नेतृत्वले पहिलो बैठकमै नेपालमा एक राष्ट्रिय विश्वविद्यालय स्थापनाका लागि प्रस्ताव पास गर्‍यो । राजालाई त्यो प्रस्तावले उत्साहित बनाएछ । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय स्थापनाको पहल लिए । हाम्रो प्रस्तावलाई प्रशंसा गरेर महेन्द्रले शुभकामना पत्रसमेत पठाए ।

म बनारसको काशी हिन्दु विश्वविद्यालय अध्ययन गर्न जानुभन्दा अगाडि नेपाली विद्यार्थीले नेपाली छात्र संघ, काशी विश्वविद्यालय स्थापना गरेका थिए । सोही संगठनको चुनाव विसं २०११ को मंसिर अन्त्यमा  तोकियो । त्यो निर्वाचनमा नेपाली छात्र संघको सभापतिमा सुरेन्द्रबहादुर बस्नेत, नेपाली कांग्रेस पक्ष र म कांग्रेसविरोधी पक्षबाट उम्मेदवार बन्यौँ ।

त्यसबेलासम्म छात्र संघमा बनारसमा पढ्ने सम्पूर्ण नेपाली विद्यार्थीले मतदान गर्न पाउँथे । निर्वाचनको मिति आउनै लाग्दा बस्नेत समूहलाई जिताउन निर्वाचन समितिले काशी हिन्दु विश्वविद्यालयबाहिर अध्ययन गर्ने नेपाली विद्यार्थीले मतदान गर्न नपाउने निर्णय गर्‍यो । हाम्रो मागचाहिँ नेपालबाट आएर बनारसका विभिन्न कलेज र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पनि मतदान गर्न पाउनुपर्छ भन्ने थियो । त्यसो भएको खण्डमा मेरो जित सुनिश्चितै थियो । हाम्रो समूहले निर्वाचन वहिष्कार गर्‍यो ।

हामीले पढ्ने बनारसमा रहेका अन्य कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको हकअधिकारका लागि नयाँ संगठनको आवश्यकता महसुस गर्‍यौँ । किनभने, काशी विश्वविद्यालयबाहिरका कलेज र विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अधिक थियो । त्यसपछि बनारसको नेपाली संस्कृत महाविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको मंगलागौरीस्थित छात्रवासमा विद्यार्थीहरुको बृहत् भेला गराई पहिलो पटक अखिल बनारस नेपाली विद्यार्थी फेडेरेसन गठन भएको हो, विसं २०१० मा ।

त्यो विद्यार्थी भेलाले सभापतिमा दिवाकरविक्रम राणा (काठमाडौँ) र महासचिवमा म (धरान) समेत गरी २१ सदस्यीय कार्यसमिति गठन गर्‍यो । त्यही भेलाले अखिल भारत नेपाली विद्यार्थी महासम्मेलन गर्न उत्प्रेरणा दिएको थियो । अखिल भन्ने शब्द त्यसअघि नेपालमा अस्तित्वमा आएकै थिएन । हामीले बनारसमै हुँदा अखिल नाम राखेपछि नै नेपालमा खुलेका अन्य कम्युनिस्ट पार्टीका विद्यार्थी, मजदुर आदि भातृ संगठनका हकमा अखिल शब्द कम्युनिस्ट जनाउने ‘ब्रान्ड नेम’ नै हुन पुगेको हो ।

सम्मेलनको उद्घाटनचाहिँ राष्ट्रिय कांग्रेसबाट निर्वाचित बनारसका भारतीय लोकसभा संसद् सदस्य भगवान सहायले गरेका थिए । सहायले बनारसका कम्युनिस्ट नेता रुस्तम स्याटिनलाई हराएर संघीय संसद्मा जितेका थिए ।

नेपाली छात्र संघको विसं ०१३ को चुनावमा बनारसमा अध्ययनरत नेपाली विद्यार्थीबीच पार्टीगत रुपमा नलड्ने सहमति भए पनि केहीले बखेडा झिके । बखेडा उत्कर्षमा पुगेपछि सुशील कोइराला, उनका दाजु प्रमोद, रमेशजंग थापा, ईश्वर सरदार, माधवलाल तावेदार आदिले मध्यस्थता गरे । सुशीलको भूमिका महत्त्वपूर्ण थियो । विद्यार्थीबीच दलगत आबद्धता देखाएर र प्यानल बनाएर चुनाव नलड्ने सहमति बन्यो । म महासचिवमा निर्विरोध भएँ ।

त्यसपछिका चुनावमा विद्यार्थीबीच राजनीतिक पक्ष/विपक्ष अनि एक पक्षले चुनाव वहिष्कार गर्ने र अर्को पक्षले भाग लिने भन्ने कुरा रहेन । म पढाइ सकेर धरान फर्कें । कामविशेषले विसं ०१३ अन्त्यतिर काठमाडौँ आउँदा तत्कालीन कम्युनिस्ट पार्टीमा आबद्ध युवा सम्मिलित भेला भयो । त्यस भेलाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको निर्देशनमा युवा संघ गठन गरी मलाई पहिलो अध्यक्ष चुनेको थियो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: पुस १९, २०७५

ट्याग: स्मरण