घुस खाने काइदा

नोटबुक

- योगेश ढकाल

दसैँलगत्तै वसुन्धरास्थित बंगलादेशी दूतावासमा भिसा आवेदन फारम बुझाउन पुगियो । आवेदनका लागि अनलाइन फारममा फोटोको साइजले सधैँ धोका दिने । दूतावास गेटछेउको साइबरमा २ सय रुपैयाँ तिरेपछिचाहिँ फोटो अटोमेटिक मिल्ने । शंका त थियो, अनलाइन फारम भर्न आखिर त्यहीको साइबर मात्रै किन ?

१५ देखि १९ नोभेम्बरसम्म हुने जनस्वास्थ्यसम्बन्धी एउटा कार्यक्रममा सहभागिताका लागि १२ नोभेम्बरमा लागियो– बस यात्राबाट काँकडभिट्टा हुँदै ढाकातिर । काँकडभिट्टाबाट झन्डै ३ घन्टा यात्रापछि पुगियो, भारत र बंगलादेशको सीमा क्षेत्र च्याङलावन्द । च्याङलावन्दमा भारतीय अध्यागमनले राहदानीमा छाप लगाउनुपर्ने थियो । कर्मचारीले ४० भारु घुस माग्न थाले । नदिए छाप नलगाइदिने अडानले झन्डै २ घन्टा बित्यो । पारिपट्टि भुरिमारीस्थित बंगलादेशको अध्यागमनमा त्यस्तै थियो चाला । फोहोर र अस्तव्यस्त कार्यालय । बंगाली मात्रै बोल्ने कर्मचारी र स्थानीय । कर्मचारी टीभीमा क्रिकेट हेरेर बसिरहेका थिए । १ सय टाका नभएसम्म काम नगर्ने सूचना दलालले दिइसकेका थिए । घुस माग्ने काइदा पनि सजिलो रहेछ । अध्यागमनमा भर्नुपर्ने फारममा भाषा बंगाली हुन्छ । ध्याउन्न उही । त्यसको फाइदा उठाएर घुस लिने ।

घुस पाएपछि राहदानी मेसिनले ‘रिड’ गर्ने र कागजात चेकजाँचको झन्झट गरिराख्नु नपर्ने । लगेजको चेकजाँच पनि नहुने । सारा झन्झट पार गरेर साँझ ६ बजे ढाका लागियो रात्रिबसमा । लाग्यो, बंगलादेशले कस्तो सुरक्षा संवेदनशीलता अपनाएको हो ? लगेज नै चेकजाँच नहुने नाकाबाट अवैध कारोबारीलाई कति हाइसन्चो होला ?

झोले पर्यटकको बोलवाला

सरकारी आँकडामा सन् ०१८ को ११ महिनामा नेपाल घुम्न आएछन्, १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटक । ठमेलका व्यवसायीको भाषामा त्यसमा ‘झोले पर्यटक’ को बोलवाला छ । त्यसको अर्थ हो, झोलामा आवश्यक सामग्री आफैँ बोकेर एक्लै घुम्ने । सस्तामस्ता गेस्टहाउस र रेस्टुराँ खोज्ने । जति सकिन्छ, बार्गेनिङ गर्ने । अर्थात्, कम खर्चमा नेपाल घुम्ने ।

ती व्यवसायीको भाषामा पर्यटकको संख्या बढेको छ तर खर्च गर्नेको संख्या कम छ । गत वर्ष पर्यटकको बसाइ औसतमा १२.६ दिन र दैनिक औसत खर्च ५४ डलर थियो । सन् ०१६ मा १३.४ दिन र खर्च ५३ डलर मात्रै । पर्यटकको बसाइ अवधि लम्बिएको छैन । खर्च गर्ने दरमा खासै वृद्धि छैन । पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटक बढी खर्चालु हुन्छन् तर त्यता जाने पर्यटकको दर घट्दो छ ।

अन्नपूर्ण सर्किट, खुम्बु क्षेत्र, लाङटाङ क्षेत्रको पदमार्ग । काठमाडौँ उपत्यका–चितवन–पोखराको त्रिभुजाकार गन्तव्य । यहाँभन्दा पर पुग्न सकेको छैन नेपालको पर्यटन । पर्यटकले पिउने चिया, कफीदेखि मद्यपानसम्म विदेशी ब्रान्ड छन् । स्यान्डविच, बर्गर, पिज्जा सबैको कच्चा पदार्थ आयातीत छ । आवतजावत विदेशी विमानबाट गर्छन् । एकातिर सस्ता पर्यटक आउने, अर्कातिर पर्यटकको उपभोगका सामग्रीका लागि घरेलु उत्पादन नहुने । त्यसमाथि नयाँ गन्तव्यको प्रवद्र्धन नहुने । आखिर संख्याले मात्रै गर्छ के ?

लुक्लाको मेजमानी

तीन दिन भइसकेको थियो मौसम नखुलेको । कोठाबाहिर निस्किए जाडोले थरथरी कमाउने । होटलका कोठाभित्रै दिनरात बिताउँदा जेलजस्तो भइसकेको थियो । त्यसमाथि होटल साहूको व्यवहार गतिलो थिएन । “माथिबाट खैरे आउँदैछ, कोठा खाली गरिदिनुपर्‍यो,” होटल साहूले दुई दिनदेखि त्यही भनिरहेका थिए । कोठाको चार्ज खैरेको दरमा छ । खाना खैरेको मेनुमै तिरेको छ । तर पनि साहू कोठा खाली गराउन लागिरहेकै थिए । तीन दिनदेखि लुक्ला–काठमाडौँ उडान हुन सकेको थिएन । कसरी खाली गरिदिने कोठा ? लुक्ला एयरपोर्ट अगाडिकै द नेस्ट होटलका साहूले किन त्यस्तो गरेका हुन्, बुझ्न सकेको थिइनँ ।

संयोगले चौथो दिन मौसम खुल्यो । ६ बजे नै लुक्ला एयरपोर्टमा चहलपहल बढ्यो । पहिलो उडानबाटै काठमाडौँ उड्ने टिकट थियो । तर एयरपोर्टकै कर्मचारीले सारिदिए, दोस्रो उडानमा । दोस्रो उडानको जहाज चढ्नेमा सबै विदेशी थिए मबाहेक । अनि त्यहाँ पनि अर्को विभेद भोगियो, एयर होस्टेजको । जब जहाज चढ्न लाइनमा लागियो, म अन्तिमबाट ५/६ जना अगाडि थिएँ । ती एयर होस्टेजले लाइनमा मभन्दा अगाडि र पछाडिका विदेशीलाई नमस्कार गरिन् । मुस्कान दिइन् तर मलाई देखेको नदेख्यै गरिन् । संयोगले लुक्ला २ पटक पुगेँ । २ पटक नै त्यही व्यवहार भोगेँ । यस्तो आतिथ्यले आन्तरिक पर्यटन प्रवद्र्धन होला त ?

प्रकाशित: पुस १९, २०७५

ट्याग: नोटबुक