पाण्डित्यको पक्षमा

- महेशराज पन्त

बंगालका अभयाकर गुप्तलिखित पुस्तक निष्पन्नयोगावली १२ औँ शताब्दीको भारत वर्षमा चर्चित थियो । मुख्यत: यही किताबका आधारमा नेपालमा वज्रयानी मण्डलहरुको रचना हुन्छ । मुस्लिमहरुको हमला र शासनले भारतका बौद्धमार्गी छिन्नभिन्न भएपछि यस्ता हस्तलिखित किताबको प्रभाव नेपाल र तिब्बतसम्म फैलिएको थियो । मण्डल–निर्देशकजस्तो लाग्ने त्यही किताबमा आधारित मण्डल डिइटिज इन निष्पन्नयोगावली मुसाची ताचिकावा, माकिको इतो र ताकेसी कामेयामाद्वारा संकलित र गौतमरत्न वज्राचार्यद्वारा चित्रबद्ध भए पनि विज्ञापनमा गौतमरत्नलाई चाहिँ बेवास्ता गरिएको छ । त्यत्रो मिहिनेत गर्ने चित्रकारलाई नजरअन्दाज गर्नु नश्लवादी सोच लाग्छ । संभोगकलासमेत चित्रांकन गरिएको यो किताबलाई ठोस परिश्रमको परिणाम मान्न सकिन्छ । कलाको इतिहासमा रुचि राख्ने र वज्रयान अनुयायीलाई यी चित्रले ठूलो अर्थ राख्छ । तर विश्लेषणको पाटो शून्यप्राय: भएकाले आम पाठकका लागि यो किताब महत्त्वहीन पनि हुन सक्छ ।

बुद्धले जोड दिएको थेरवादमा पुनर्जन्मलाई पन्छाइयो । तर महायानका विभिन्न शाखामध्ये महायानी–वज्रयानीले ‘देउता’ को पनि जोडी बनाइदिए, जसका कारण लोकप्रिय भए उनीहरु ।

विसं १४०६ मा बंगाली मुस्लिमहरुले करिब एक साता लगाएर पशुपति र स्वयम्भूलगायत उपत्यकाका केही ठाउँमा भयंकर आक्रमण गरेको इतिहास छ । पशुपतिको ११ वर्षपछि र स्वयम्भूको २३ वर्षपछि मात्र जीर्णोद्धार हुन सक्यो । आक्रमण र प्रकोपबाट समेत बचेको हाम्रो ऐतिहासिक मण्डल–कला बुझ्न यो चित्र–पुस्तक मेरा लागि उपयोगी रह्यो ।

प्राचीन चिनियाँ साहित्यमा नेपालको सन्दर्भहरुको खोज गरिएको किताब हो, मिसलेनिया नेपालिका: अर्ली चाइनिज रिपोर्ट्स अन नेपाल, फाउन्डेसन लेजेन्ड अफ नेपाल इन इट्स ट्रान्सहिमालयन कन्टेक्स्ट । किताबमा म्याक्स डिगले मूल रचना चिनियाँ लिपिमै दिई त्यसको अंग्रेजी अनुवादसमेत घुसाइदिए । तर यस किताबमा उद्धृत संस्कृत रचनाचाहिँ रोमन लिपिमा मात्रै राखिदिए । शक्तिशाली राष्ट्रको प्रभाव हेर्न यही उदाहरण काफी छ ।

१५ औँ शताब्दीमा बनेपाली शासकलाई लेखेको चिट्ठीमा चिनियाँ बादशाहले महाचीनको संवत् बुझाउने ‘महाचीनाब्द’ शब्द प्रयोग गरेका छन् । केन्द्रीय मल्ल राजालाई सम्बोधन नगरी क्षेत्रीय सामन्तलाई उनले ‘आफ्नो मान्छे’ भनेका छन् । संस्कृतमा ‘भोट्ट’ को अर्थ हुन्छ, तिब्बत । नेवारीमा बनेपालाई भोँत भनिन्छ । यी तथ्यहरु हेर्दा– हाम्रो ‘राष्ट्रिय संवत्’ को बहसलाई ऐतिहासिक अध्ययनको कसीमा राखेरै पर्गेल्नुपर्ने देखिन्छ । यसका लागि म्याक्सको किताब धेरै उपयोगी रहला । बौद्ध ग्रन्थहरु तेस्रो शताब्दीको सुरुतिरै चिनियाँ भाषामा अनुवाद हुन थालेकाले हराएका मूल संस्कृत ग्रन्थबारे पनि पुस्तकले आधिकारिक अध्ययन गर्न सघाउँछ ।

अशुंवर्माको पालामा युआन च्वाङ नेपाल आए/नआएको बारे विवाद छ । तर युआन च्वाङले आफ्नो यात्रावर्णनमा लेखेका छन्–‘नेपालीहरु अपठित भए पनि कलाकुशल हुन्छन् ।’

संस्कृत नै मेरो पहिलो रोजाइ हो । इतिहास पनि संस्कृतको एक शाखा मात्रै हो, जहाँ प्राचीन अर्थशास्त्रीय ज्ञान हुन्छ । हिजोआज रबर छन्दको कविता र इतिहास लेखन सजिलो विधाका रुपमा फस्टाएको छ, जो गद्य कविता र वंशावली/आत्मकथाको अवतारमा छाउँछन् बजारमा । संस्कृत साहित्यअनुसार किताब दुई प्रकारका हुन्छन्– विद्वज्जनश्लाघ्य र पामरश्लाघ्य । अर्थात्, विद्वानले प्रशंसा गर्ने र अपठितले रुचाउने । गम्भीर पुस्तकको चर्चै हुन छाड्यो । चर्चित भनिएका नेपाली किताबमा ठोस पाण्डित्य भेटिँदैन ।

फ्रान्ज कार्ल एर्हार्डको बुद्धिजम इन टिबेट एन्ड हिमालयास: टेक्स्ट्स एन्ड ट्रेडिसन्समा नेपालका विभिन्न धार्मिक स्थलको ऐतिहासिक तथ्य भएकाले पनि पठनीय छ । मूल रचना र अंग्रेजी अनुवादसहित यो किताबमा शेर्पाहरुको बौद्धवादको अध्ययन छ । मुस्ताङ, डोल्पा र काठमाडौँसमेतका बौद्ध तीर्थको चर्चा रहेको पुस्तक लेख्नुअघि लेखकले मूल लिपि र भाषाको अध्ययन गरेकाले उनको अनुवाद र टिप्पणी विश्वसनीय लाग्छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, बौद्धनाथ र स्वयम्भूनाथलाई गहिराइबाट बुझ्न पनि किताब उपयोगी हुन्छ ।

विसं २००० सम्म भाषा वंशावली र अनुश्रुतिमा आधारित इतिहास लेखन परम्परा थियो । त्यसपछि तात्कालिक र समकालिक तथ्यांकहरुको आधारमा अशुद्धि संशोधन गर्ने धारा अगाडि बढ्यो । संशोधन मण्डलको अभ्यासले देखायो– प्रामाणिक इतिहास लेखनका लागि मूल लिपि र भाषासहितको प्राथमिक स्रोतसम्म पुग्नैपर्छ ।

शासक र विजेता लिखित एकतर्फी इतिहासमा पनि सवाल्टर्न इतिहास खोज्न सकिएला । सिंहदरबार निर्माणमा चन्द्रशमशेरको नाम अभिलिखित छ तर त्यतिबेलाका मजदुर संख्या र ज्यालाको बहीखाताका आधारमा इतिहासको पुनर्लेखन गर्न सकिन्छ कि !

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: पुस १९, २०७५

ट्याग: किताब