दरबारिया चौघेरा नाघेर

पुस्तक : पृथ्वीनारायण शाह : द फाउन्डर अफ मोर्डन नेपाल | लेखक : तुलसीराम वैद्य | प्रकाशक : एडुकेसनल पब्लिसिङ हाउस | पृष्ठ : ४०२ | मूल्य : ५९५ रुपैयाँ

- नीरज महर्जन

पृथ्वीनारायण शाहलाई हेर्ने दुई अतिवादी कोण छन् । पहिलो, शाह ज्यादै बहादुर, तेजस्वी, दूरदर्शी, पराक्रमी, सर्वगुणसम्पन्न र ‘गोरखनाथको कृपाले समृद्ध’ महाराजा हुन् । दोस्रो, उनी आर्थिक रुपमा विपन्न गोर्खा राज्यलाई धनी बनाउन अरु सम्पन्न राज्यमा आँखा गाड्ने, नृशंस, अत्याचारी, सन्काहा, अरुलाई फुटाएर लडाउने, आक्रमणकारी युद्धपिपासु हुन् ।

इतिहासका कुनै पात्रलाई एकै कोणबाट मात्र हेर्दा पूजा हुन जान्छ या यो पूर्वाग्रहमा गएर टुंगिने गर्छ । वस्तुगत र यथार्थको मूर्त जरासम्म पुग्न यस्ता दृष्टिकोण सदैव बाधक हुने गर्छन् । कुनै पनि ऐतिहासिक पात्रलाई निरपेक्षतामा बुझ्दा वास्तविकताको नजिक पुग्न गाह्रो हुने गर्छ ।

इतिहासकार तुलसीराम वैद्यको पुस्तक पृथ्वीनारायण शाह, फाउन्डर अफ मोर्डन नेपालले आफूलाई यी दुवै थरी अतिवादबाट अलग राख्ने प्रयास गरेको छ । जयप्रकाश मल्लको जीवनी जयप्रकाश मल्ल ब्रेभ मल्ल किङ अफ कान्तिपुरमा वैद्यले लेखेका छन्– इतिहासका कोही पनि पात्र ऐतिहासिक कालखण्डका नतिजा हुन् । उनले पृथ्वीनारायणको जीवनीमा पनि यही कोणलाई बलियो गरी समातेका छन् ।

इतिहासका घटना कुनै एक पात्रको चाहना र महत्त्वाकांक्षाकै कारण सफल–बिफल हुँदैनन् । ऐतिहासिक कालखण्डमा धेरै दिशाबाट आएका धेरै थरी रेखाको मेल–बेमेलकै कारण कुनै पनि पात्रको निर्माण वा विघटन हुने गर्छ । पृथ्वीनारायणलाई पनि वैद्यले इतिहास अध्ययनको त्यही फ्रेमभित्र बुझ्ने कोसिस गरेका छन् ।

‘आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाह’ भनिए पनि पुस्तक उनको जीवनी मात्र होइन । बाइसे र चौबीसे राज्य, काठमाडौँ उपत्यकाका मल्ल राज्य, पूर्वका सेन राज्यको विकासदेखि गोरखा राज्यको विकासक्रम हुँदै पृथ्वीनारायणको राज्य विस्तार र निधनसम्मको फराकिलो समयक्रमलाई यो पुस्तकमा समावेश गरिएको छ । गोर्खा राज्यलाई राज्य विस्तार गर्नुपर्ने बाध्यता र उनका पुर्खाले गरेको प्रयासका प्रसंगले पृथ्वीनारायणलाई निरपेक्ष तरिकाले बुझ्ने दृष्टिकोणलाई भुइँ टेकाउन मद्दत गर्छ ।

लेखकले मिहिनेतका साथ गोर्खा राज्य बन्नुअघि नै पश्चिमका बाइसे र चौबीसे राज्य, पूर्वका सेन र किराँत राज्य तथा काठमाडौँ उपत्यकाभित्रका मल्ल राज्यबारे धेरै तथ्यांक र ऐतिहासिक प्रसंग संकलन गरेका छन् । ती स–साना राज्य प्राकृतिक स्रोतका हिसाबमा कति बलिया थिए र वरपरका राज्यसँगको आपसी सम्बन्ध कस्तो थियो भन्ने चर्चा तत्कालीन नेपालको अवस्था बुझ्न उपयोगी छ । लमजुङका राजकुमार द्रव्य शाहले स्थानीय ब्राह्मण समुदायको चाँजोपाँजोमा मगर बाहुल्य क्षेत्रमा गोरखा राज्य स्थापना गरेका थिए । तर प्राकृतिक स्रोतसाधनको कमी, जटिल भौगोलिक अवस्था, खेतीयोग्य जमिनको अभाव, कमजोर व्यापारका कारण गोर्खा राज्य वरपरका अन्य राज्यको तुलनामा कमजोर थियो । लमजुङसँगको वैरभावका कारण चौबीसे राज्यभित्र पनि गोर्खालाई समावेश गरिएको थिएन । विपन्नता, अलगाव, असुरक्षाले गोर्खाली राजासँग प्रगतिका लागि अन्य राज्यमाथि आक्रमण गर्नुको विकल्प थिएन । पश्चिममा आफूभन्दा शक्तिशाली राज्य भएकाले गोर्खासँग राज्य विस्तारका लागि पूर्वतिर हेर्नुपर्ने बाध्यता थियो । काठमाडौँ उपत्यकामा समृद्ध मल्ल राज्यहरुबीचको आपसी द्वन्द्वको फाइदा उठाउने ध्येयले पृथ्वीनारायणका पिता नरभूपाल शाहले नुवाकोटमा हमला गरेका थिए । पिताको पराजय नै कालान्तरमा पृथ्वीनारायणका लागि राज्य विस्तार अभियान थाल्ने जग बन्यो । मल्ल राज्यबीचको आपसी झगडा नै गोर्खाली राज्यको शक्ति बनिदियो ।

पृथ्वीनारायण शाह काठमाडौँ उपत्यका विजयपछि झन्डै सात वर्ष मात्र बाँचे । त्यस अवधिमा उनले पूर्वमा कन्काई र पश्चिममा मस्र्याङ्दी नदीसम्म गोर्खा राज्य विस्तार गरे । भारतका गुर्गिन खानको सेना र क्याप्टेन किन्लक नेतृत्वको अंग्रेज सेनालाई गोर्खाली सेनाले पराजित गर्‍यो । जीवनका बाँकी अवधि उनले जितेका भूभाग जोगाउने, प्रशासनिक व्यवस्थापन, आर्थिक सुधार आदि पक्षमा समय दिनुपर्‍यो ।

सामान्यत: इतिहासलाई विगतका राजनीतिक घटनाक्रम, अझ विशेषत: दरबारिया जीवनको संग्रहका रुपमा लिइन्छ । तर  पुस्तकमा दरबार र राजा–राजपरिवारको साँघुरो चौघेरा नाघेर तत्कालीन समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, व्यापारिक, प्रशासनिक, भूमि व्यवस्थापन, बजारभाउ, मौद्रिक नीति, कूटनीतिक सम्बन्ध आदि धेरै आयामको गहिरो अध्ययनसार प्रस्तुत गरिएको छ ।

लेखकको अध्ययनको गहिराइ पुस्तकमा समाविष्ट सन्दर्भ सामग्रीको अधिकताले प्रतिविम्बित गरेको छ । तर मनग्य हिज्जे र व्याकरणीय गल्तीले पठनलाई बेस्वादिलो बनाइदिन्छ ।

प्रकाशित: पुस १९, २०७५

ट्याग: पुस्तक