नेपाली काइदा

- लक्ष्मण गाम्नागे

हामी धेरै बाठा जाति । हामीलाई हाम्रा धर्म, संस्कृति, परम्परा र पुर्खाहरूले नै बठ्याइँ गर्न सिकाएको । हामीलाई कुनै पनि काम सम्पन्न गर्न जस्तोसुकै प्रतिकूल परिस्थिति र स्रोतसाधनको अभावले पनि रोक्न सक्दैन । हामी आफ्नो मौलिक चतुर्‍याइँले त्यस्ता अप्ठेरा फुकाइहाल्छौँ । हाम्रो धर्मशास्त्रले नै सकेसम्म सक्कली, नभए नक्कली उपायबाट पनि आइपर्ने बाधाव्यवधान निम्ट्याउनू भनेर सिकाएको छ । पूजाआजा, दानधर्मका कार्य गर्दा सके जमिन दान गर्नू, नसके हात्ती, त्यो नसके गाई र त्यो पनि नसके गाईको चित्र भएको पैसा दान गरे पनि हुने विकल्प दिएको छ । हामी नरिवललाई गणेश, शालिग्रामलाई शिव, कुशको मूर्तिलाई ऋषि मानेर पूजा गर्छौं । मान्छे कुनै कारणले मर्यो र लास फेला परेन भने कुशको लास बनाएर दाहसंस्कार गर्न शास्त्रहरुले सिकाएका छन् ।

एउटा ठूलो विवाह भोजका लागि तयार मासुको खड्कुँलो एउटी काली कुकुर्नीले छोएपछि उत्पन्न संकट टार्न बाठा पुरोहितले ‘काली कुत्तिम महाउत्तिम खैरी कुत्तिम तथैवच:’ भन्ने मन्त्र पढेर काम चलाएको कथनचाहिँ चुट्किला मात्र होला । तर यथार्थमै पनि हामी विकल्पवादी जाति हौँ । ब्राह्मणले हरेक बिहान नुहाउने, नसके मुख धुने, त्यो पनि नसके शरीरमा पानी छर्केर शुद्ध हुने बठ्याइँ गर्न छूट छ । छुन वर्जित कुरा छोइएमा गहुँत छर्केर वा गौ दान गरेर चोखिन सकिन्छ । गौ दानका लागि पनि गाई नै चाहिन्छ भन्ने छैन, द्रव्य दान गरे पनि हुन्छ । जसरी पनि काम चलाउनुपर्छ, अड्काउनु हुँदैन भन्ने हाम्रो प्रगतिशील परम्परालाई मान्नैपर्छ ।

धर्मशास्त्रका कुरा छाडेर मानवशास्त्रका कुरा गर्दा हामी कामचलाउ प्रविधिका लागि साँच्चै निपुण छौँ । हाम्रा हजुरबासँग धेरै वर्षदेखि उनका भान्जाले लाहुरबाट ल्याइदिएका खुइलिएका बुट थिए । कतै मेलापर्व वा निम्ता मान्न जानुपर्‍यो भने हजुरबा तोरीका तेलमा कराइको मोसो मुछेर पालिस बनाउनुहुन्थ्यो र झुम्राले दलेर जुत्ता टल्काउनुहुन्थ्यो । हामी चप्पलको लोती छिन्यो भने इजारको लोती वा पिनसियोले तुनेर पनि काम चलाउँछौँ । छोराछोरीका सेता जुत्ता धोइदिन भ्याइएन भने चक दलेर स्कुल पठाउँछौँ । खुट्टामा पाइन्ट र शरीरमा दौरा लगाएर टेलिभिजनमा समाचार भन्ने समाचारवाचकसँग तपाईंको पनि साक्षात्कार भएकै होला । कामचाहिँ चल्नुपर्‍यो क्या !

टालटुल, छोपछाप गरेर काम चलाउन हामीलाई सरकारले पनि सिकाउँछ । विदेशी पाहुना आउँदा फोहोरमैला र खाडल छोपछाप पारेर काठमाडौँलाई रातारात टल्काएको हामीले देखेकै छौँ ।

सरकारमा पनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले हाम्रो यस्तो मौलिक कामचलाउ शिल्पको उच्चतम प्रयोग गरिरहेको समाचार थाहा पाएर गौरवान्वित भयौँ । त्यहाँ राहदानी बनाउन आउने रंगीन कपालधारी नागरिकलाई जुत्ताको पालिस दलेर कालो बनाइदिने गरिएको रहेछ । जनताको काममा यतिविघ्न संवेदनशील निकाय आजसम्म देखिएको थिएन । राहदानीका लागि लाइनमा लागिसकेका सेवाग्राहीलाई कपालकै कारणले फर्किन नपरोस् भनेर राष्ट्रसेवक कर्मचारीले कामचलाउ बुद्धि निकालेका रहेछन् । हाम्रो कपालको मौलिकता जोगाउन नियम कानुनभन्दा माथि उठेर मौलिक जुक्ति लगाउने राहदानी विभागलाई धन्यवाद छ । सस्तैमा कपाल पालिस गरिदिने प्रहरीलाई पनि धन्यवाद । खुट्टामा लगाउने जुत्ताको पालिस शिरमाथिको कपालमा लगाउन मान्ने भद्र नागरिकहरुको पनि जय होस् ।

रातारात पिच, तीनकुने छोपछाप । 

प्रकाशित: पुस १८, २०७५

ट्याग: झटारो