पाटनसँग बौद्ध धर्मको ऐतिहासिक साइनो, तर पहिचानमै संकट

- गोकर्ण गौतम

बुद्धको जन्मस्थल कहाँ हो ?

जो कोही भन्न सक्छन्, लुम्बिनी । तर विश्वको पुरानो 'बुद्धिस्ट सेटलमेन्ट' चाहिँ कुन हो ? यसबारे विदेशी मात्र होइन, स्वदेशीमा पनि अनभिज्ञता छ । लुम्बिनीपछि बौद्धमार्गीको आकर्षणको केन्द्र कहाँ हुन सक्छ ? बुद्धको नाम जति जपे पनि यतातिर सरोकारवालाको ध्यान छैन ।

यी दुई प्रश्नको जवाफ एउटै हो, पाटन । उपत्यकाको यो पुरानो सहरलाई प्राचीन मूर्त/अमूर्त सम्पदाले ख्याति दिलाएको छ तर बौद्ध धर्म/दर्शनको ऐतिहासिक र मौलिक सहरको पहिचान दिइएको छैन । जबकि, पाटनमा बौद्ध धर्मावलम्बी जोडिएको दुई हजार वर्ष नाघिसकेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्य भन्छन्, "वंशावली र ग्रन्थलाई आधार मान्ने हो भने त बुद्धकालमै पाटनमा बौद्ध धर्मको प्रवेश भएको थियो ।" विहार-चैत्य र जात्रा-पर्व त्यसका जिउँदा प्रमाण हुन् ।

अहिलेको काठमाडौँ उपत्यकामा बुद्धकालमै बौद्ध धर्म छिरेको उल्लेख छ, मूलसर्वास्तीवादविनय सूत्र ग्रन्थमा । तिनताका यो क्षेत्रलाई नइपाल प्रदेश भनिन्थ्यो । आनन्द नाम गरेका गौतम बुद्धका शिष्य आफन्तलाई भेट्न नइपाल आएका थिए । उनले केही समय यहीँ बिताए । सोही कारण ती भिक्षुले यहाँ बौद्ध धर्मसम्बन्धी ज्ञान बाँडेको विश्वास गरिन्छ ।

पाटनस्थित हिरण्यवर्ण महाविहार


अशोककालीन प्रभाव

पाटन र बौद्ध धर्मलाई जोड्ने अर्को आधार हो, डेनियल राइटद्वारा लिखित वंशावली हिस्ट्री अफ नेपाल । यो वंशावलीमा प्रस्ट उल्लेख छ, सम्राट अशोक रानी र दलबलसहित ललितपुर आएका थिए, उनीसँग गुरु पनि थिए । उनैले बस्ती निर्माण र धर्मको प्रचार गरे । यही कारण हुनुपर्छ, ललितपुरलाई पहिले 'अशोकपतन' भनिन्थ्यो, जसको अर्थ हुन्छ, अशोकको सहर । अर्थात्, अनेक कोणबाट पाटनमा अशोकको उपस्थिति र प्रभावको छनक मिल्छ । संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, "यो वंशावली र यहाँका अशोक स्तुपका आधारमा सम्राट अशोक पाटनमा आएको र उनको युगमा बौद्ध धर्मको प्रवेश भइसकेको थाहा हुन्छ ।" तर कतिपय विद्वान् अशोकको पाटन आगमनमाथि नै प्रश्न उठाउँछन् । उनीहरूको तर्क छ, चन्द्रागिरि छिचोलेर अशोक यहाँ आउन सम्भव थिएन ।

पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशकसमेत रहेका संस्कृतिविद् जोशीचाहिँ प्राप्त तथ्य वा किंवदन्तीलाई आधार मानेर विस्तृत अध्ययन नगरी अशोक पाटनमा आएकै थिएनन् भन्न नमिल्ने बताउँछन् । त्यसका लागि एउटा उदाहरण दिन्छन्, लुम्बिनीमा अशोकस्तम्भ भेटिएको एक शताब्दी बित्दैछ । एलोवस फुइरर नेतृत्वको उत्खनन् टोलीले पत्ता लगाएको अशोकस्तम्भबाटै सारा संसारले थाहा पाएको हो, बुद्ध नेपालमा जन्मिएका । स्तम्भमा अशोकले ब्राह्मी लिपिमा 'मेरो शासनकालको १४ वर्षपछि तीर्थयात्रा गरेको' भनेर लेखेका छन् । जोशी भन्छन्, "पाटनमा उत्खनन् र अध्ययन हुने हो भने बौद्ध धर्म र अशोकसँग जोडिएका ऐतिहासिक प्रमाण फेला पर्न सक्छन् ।"

सम्राट अशोकको बौद्ध धर्मप्रतिको अनुराग साँच्चै गज्जबको थियो । यसमा चाहिँ कसैको विमति छैन । लडाइँबाट दिक्क भएपछि अशोकले बौद्ध धर्मलाई 'राज्य धर्म' कै रूपमा अवलम्बन र प्रचार गरेका थिए । इतिहासकार र संस्कृतिविद्हरू अशोकले आत्मसात नगरेको भए बौद्ध धर्म यतिविघ्न विस्तार नहुने दाबी गर्छन् । उनले आफ्ना भाइबहिनीलाई बौद्ध धर्मबारे बुझाउनकै लागि लंका पठाएको प्रमाण भेटिन्छ । उनी आफैँ पनि अन्य धेरै क्षेत्रमा पुगेका थिए ।

जोशीका अनुसार आर्ट अफ नेपाल पुस्तकको भूमिकामा 'लंकामा बौद्ध धर्मको प्रचारकै लागि भाइबहिनीलाई पठाउने, लुम्बिनीमा स्तम्भ बनाउने अशोक चन्द्रागिरि र चुरेलाई छिचोलेर दर्शन गर्न पाटन आएनन् भन्न सकिन्न' लेखिएको छ । बौद्ध धर्मसम्बन्धी अध्ययन गरेका रवि दर्शनधारी भन्छन्, "अशोक आए/आएनन् भन्ने विवादमा विभिन्न उत्खनन्सँगै सुल्झन्छ तर पाटन बौद्धमार्गीको पुरानो केन्द्र हो भन्नेमा कसैको विमति छैन ।"

त्यसो त, उपत्यकाका अन्य दुई सहर काठमाडौँ र भक्तपुरमा पनि बौद्ध धर्मको ऐतिहासिक प्रभावका प्रमाण नभेटिने होइनन् तर त्यसको आयतन र प्रभाव पाटनजस्तो देखिँदैन । तुलनात्मक रूपमा बौद्ध धर्म र संस्कृति पाटनमै मजबुत देखिन्छ । प्रमाण अनेक छन् । मुख्यचाहिँ चैत्य-विहार नै हुन् । पुरानो पाटनमा अहिलेको शंखमूलदेखि लगनखेल अनि पुल्चोकदेखि ग्वार्कोसम्म अटाउँछन् । चारै दिशामा अशोक चैत्य छन् । केन्द्रमा छ, पिम्वहाल । यी सबै अशोकले बनाए भन्ने आधार छैन । तर अशोककै युग वा प्रभावमा बनेकामा शंका नरहेको विद्वानहरु बताउँछन् ।

अर्को महत्त्वपूर्ण तथ्य जोन के लकको पुस्तक द वहाज एन्ड वहिज् अफ द काठमाडौँ भ्यालीमा पाटनमा १ सय ८६ सानाठूला विहार रहेको उल्लेख छ । जबकि, काठमाडौँमा १ सय ६ र भक्तपुरमा २३ विहार छन् । पाटनका हरेक बौद्धमार्गी ती चैत्य-विहारमा जोडिएका हुन्छन् । अध्येता शाक्यका अनुसार मूल रूपमा पाटनमा १५-१५ वहाः र वहीः छन् । वहाः पहिले भिक्षुहरु बस्ने स्थान हो, अहिले त्यहाँ बौद्धमार्गी संस्कारको अभ्यास हुन्छ । वहीः चाहिँ अध्ययन केन्द्र हुन्, जसमा चक्रशम्भरको दीक्षा दिइन्छ । शाक्य भन्छन्, "वहाः र वहीः को यो अटूट परम्परा अहिले होइन, हजारौँ वर्षदेखि चलिआएको हो ।" पाटन वरपर मूर्ति नभएका चैत्यलाई अशोक चैत्य भनिन्छ । यसले पनि अशोक र बुद्धप्रति पाटनको प्रेम दर्शाउँछ ।

भनिहालियो, विहारले पाटनको शोभा बढाएको छ, त्यही विहारले पाटनसँग बौद्ध धर्मको ऐतिहासिक सम्बन्धलाई स्थापित गरेको छ । अनि, तिनै विहारले बौद्ध संस्कारलाई अझै जीवित राख्न प्रभावकारी भूमिका खेलिरहेका छन् । त्यसमध्ये केन्द्रमा छ, हिरण्यवर्ण महाविहार । हिरण्य अर्थात् सुन । वर्ण अर्थात् आकृति । यो विहार गोल्डेन टेम्पलका रूपमा संसारभर प्रसिद्ध छ । पाटन क्षेत्र घुम्ने जोकोही आगन्तुक यहाँ पुगेकै हुन्छन् । मुसाले बिरालोलाई धपाएको स्थानमा यो विहार बनाइएको जनविश्वास छ । विहारभित्र अहिले पनि मुसा हुन्छन् तर तिनलाई मारिँदैन ।

सुनको आकृति भएकाले मात्र होइन, संस्कारलाई अझै मौलिक ढंगले जीवित राखिएकाले संस्कतिविद् जोशी यो विहार नमुनालायक भएको बताउँछन् । यहाँ अहिले पनि पूजा गर्न १२ वर्षे कुमार केटो चाहिन्छ । विहारका 'केयरटेकर' वाफचः ले पूजाका लागि केटोलाई गाइड गर्छन् । कसैले छुन हुँदैन । उसलाई खाना बनाउने नै बेग्लै हुन्छन् । एक-एक महिनामा पूजा गर्ने केटो फेरिन्छ । जोशी भन्छन्, "यहाँका हरेक संस्कार र पूजाविधि मौलिक परम्पराअनुसार जस्ताको तस्तै गरिन्छ । अन्य विहारले पनि यसको अनुसरण गर्न आवश्यक छ ।" हिरण्यवर्णबाहेक पुल्चोकको यक्षश्वर, सुन्धारा नजिकैको उकुवहाः, तीन हजार बुद्धको मूर्ति भएको महाबौद्ध पनि उत्तिकै विशेष मानिन्छन् ।

रातो मच्छिन्द्रनाथको जात्रा


सहिष्णुताको पाठशाला

संस्कृतिविद् जोशीले ६ डोरे जनै लगाउँछन् तर उनको घरको आँगनमा बुद्धको मूर्ति छ । उनी बुद्धको नित्य पूजा गर्छन्, श्रद्धा गर्छन् । जोशी मात्र नभएर, हरेक पाटनबासीको दिनचर्या हो यो । जो हिन्दु धर्मका संस्कारलाई पनि पछ्याउँछन्, बौद्ध धर्मप्रति पनि अगाध स्नेह राख्छन् । संस्कृतिका अध्येता यसलाई सहिष्णुताको पाठशाला भन्दै पाटनको 'ब्युटी' का रूपमा व्याख्या गर्छन् । पाटनको जन्मसँगै यी दुई धर्मबीचको अन्योन्याश्रति सम्बन्ध सुरुआत भएको विश्वास गरिन्छ, जुन अहिले पनि उस्तै मजबुत छ । तलेजु मन्दिरका सहायक पुजारी निरण ज्वालानन्द राजोपाध्याय भन्छन्, "पाटनमा यस्तो मन्दिर, पर्व, जात्रा सायदै छन्, जसमा बौद्ध र हिन्दु दुवै धर्मावलम्बीको सहभागिता नहोस् । कहीँ न कहीँ जोडिएकै हुन्छ ।" जस्तो, तलेजु हिन्दुको मन्दिर हो तर यहाँ दसैँको नवमीमा बौद्धमार्गीले छोरीचेलीलाई कुमारी बनाएर मन्दिरभित्र पूजा गर्छन् । नवमीकै दिन यहाँ महाद्वीप प्रज्वलन गर्ने बौद्धमार्गी नै हुन्छन् ।

अन्यत्रजस्तै पाटनको हकमा पनि लिच्छविकाल बौद्ध धर्मका लागि स्वर्ण युग मानिन्छ । जयदेव द्वितीयको अभिलेखमा 'सुगतशासन पक्षपाती' भन्ने उल्लेख छ । अर्थ हुन्छ, बुद्धको शासनलाई समान अवसर दिएको, पक्षपात नगरेको । लिच्छविकालीन अर्का राजा अंशुवर्माको हाँडीगाउँको अभिलेखमा राज्यतर्फबाट विहारलाई बजेट दिने उल्लेख छ । तर लिच्छविकालका विहार, चैत्य, संस्कारबारे यथेष्ट प्रमाण खासै भेटिँदैन ।

पाटनको सुन्धारा


पाटनका सबै विहार लिच्छविकालमै बनेको एक थरीको मत छ । सबैले स्वीकार्ने तथ्य के हो भने मल्लकालमा पाटनमा बौद्ध धर्मसम्बन्धी गतिविधि र विहारले व्यापकता पाए । मल्ल राजा हिन्दु थिए तर बौद्ध धर्मप्रतिको स्नेह पनि गहिरो थियो । अध्येता शाक्य भन्छन्, "बौद्ध धर्मका लागि लिच्छविकाल स्वर्ण युग थियो । मल्लकालमा पनि राजासँगै जनताले बौद्ध दर्शनको विस्तारमा अहं भूमिका खेलेको देखिन्छ ।"

नेपाल संवत् ७४१ मा सिद्धिनरसिंह मल्ल पाटनका राजा भए । उनले रत्नाकर विहारमा बस्नेलाई सुनको काम गर्ने अवसर दिएको प्रमाण भेटिन्छ । सिद्धिनरसिंहका छोरा श्रीनिवास नेपाल संवत् ७६४ मा राजा भए । उनको बौद्ध धर्मप्रतिको प्रेम अझ घनीभूत थियो ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण जात्रा हो, रातो मच्छिन्द्रनाथको रथयात्रा । यसलाई निरन्तरता र विस्तार गर्न सबैभन्दा ठूलो भूमिका श्रीनिवासकै छ । उनले मछिन्द्रनाथको रथ जात्रा जीवित राख्न धेरै जग्गा-सम्पत्ति जोगाड गरेका थिए । अहिले यो रथयात्रा हिन्दु र बौद्ध धर्मावलम्बीबीच सहिष्णुताको प्रतीक बनेको छ । हिन्दु यसलाई ऐतिहासिक सन्त गुरु करुणामय र बौद्धमार्गी पञ्चबुद्धमध्ये चौथो बुद्ध पद्यपाणिका रूपमा पुज्छन् । पुरेतदेखि कथित तल्लो जातसम्मको रथ बनाउन उत्तिकै स्थान हुन्छ । पहिल्यैदेखिको चलन हो यो ।

अष्टमीका दिन बस्ने व्रतको इतिहास बुद्धकालमा जोडिन्छ, लोकेश्वरको पूजा गरिन्छ । लोकेश्वर भनेको बोधिसत्व हो, त्यसको रूपचाहिँ मच्छिन्द्रनाथ । श्रीनिवास लोकेश्वरका भक्त थिए । चार-चार वर्षमा मनाइने सम्यक पर्वमा काठमाडौँका सबै ठूला बुद्धका मूर्ति ललितपुरको नागवहालमा ल्याइन्छ र दुई दिन राखेर फिर्ता लगिन्छ । सम्यक पर्वमा वेद पढ्ने बाहुन, पूजा गर्ने आचार्यदेखि डकर्मीसम्म सँगै हुन्छन् । अगाडिबाटै सुरु भए पनि मल्लकालमा यो पर्वले विशेष महत्त्व पायो । जात्रा पर्वमा सक्रिय रहने पाटनकै शुक्र वज्राचार्य भन्छन्, "सबैलाई जोडेर बनाइएका यस्ता पर्वले समाजमा मैत्रीमाहोल सिर्जिएको छ । अहिले हामी अझ मजबुत बनाउन लागिपरेका छौँ ।" जयस्थिति मल्लले भिक्षुहरूलाई गृहस्थी बनाइदिएका थिए । फरक धर्मप्रतिको श्रद्धा पाटनमा अझ कायम छ ।

पुनर्निर्माणका क्रममा महाबौद्ध


चाहे जात्रा होस्, चाहे पर्व । चाहे विहार हुन्, चाहे मन्दिर । जहाँ पनि हिन्दु र बौद्ध जोडिन्छन् । सहिष्णुता ह्रास हुँदै गएको अहिलेको अवस्थामा पाटनको यो सौन्दर्य संसारका लागि उदाहरणीय हुन सक्छ । अर्कातिर, पाटन लिच्छविकालबाटै बौद्धमार्गीको केन्द्र थियो, मल्लकाल, शाहकाल हुँदै गणतन्त्रसम्म आइपुग्दा त्यसलाई बचाइराखिएको छ । जात्रा, पर्वमा स्थानीयको सक्रियता लोभलाग्दो हुन्छ । तर काठमाडौँ उपत्यका संरक्षण कोषका नेपाल निर्देशक रोहित रञ्जितकार बुद्ध र पाटनको यो ऐतिहासिक सम्बन्धलाई स्थापित र बजारीकरण गर्न नसकिएको दुखेसो पोख्छन् ।

"पाटनमा कहाँ र कसरी बुद्धिज्मको अभ्यास सुरु भयो । प्रभाव कत्तिको छ, कुन कालमा के-के भयो भन्ने गहन अध्ययन आवश्यक छ," मूर्त/अमूर्त सम्पदा जोगाउन सक्रिय रञ्जितकार भन्छन्, "पाटनलाई 'बुद्धिस्ट टाउन' का रूपमा स्थापित र प्रचार गर्ने हो भने बौद्ध धर्मका अनुयायीको भीड लाग्छ । अध्ययन केन्द्र बन्छ ।"

यो पनि पढ्नुहोस्→ [सम्पादकीय] पाटन संसारकै प्रेरणा

प्रकाशित: पुस १८, २०७५