[सम्पादकीय] पाटन संसारकै प्रेरणा

- नेपाल संवाददाता

पाटनले आफ्नो विरासतमा बौद्ध धर्म/दर्शन बोकेर आएको छ- बुद्धकालबाटै ।

यहाँ कृष्ण मन्दिर, तलेजु मन्दिर, हिरण्यवर्ण महाविहार हेर्न पाहुना झुम्मिन्छन् । रातो मच्छिन्द्रनाथ, कात्तिक नाच, सम्यक् पर्व, लोकेश्वर पूजा आदिले पाटनलाई विशिष्ट बनाएका छन् । पाटनको वैभव यत्तिमा सीमित छैन ।

पाटनको चार दिशामा सम्राट अशोकका स्तुप छन् । नेपालको वंशावलीमा अशोक स्वयं बौद्ध धर्मको ज्ञान बाँड्न ठूलै टोली लिएर पाटन आएको उल्लेख छ । यहाँ १ सय ८६ वहाः र वहीः छन् । यही कारण हुनुपर्छ, उबेला पाटनलाई 'अशोकपतन' अर्थात् अशोकको सहर भनिन्थ्यो । विद्वानहरु भन्छन्, पाटन सम्भवतः विश्वको सबैभन्दा पुरानो 'बुद्धिस्ट सेटलमेन्ट' हो । यस्तो समृद्ध इतिहास हाम्रोसामु हुँदाहुँदै पनि प्रचारमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन ।

देशी बौद्धमार्गी हुन् वा विदेशी- सबैको नजर लुम्बिनीतिरै छ । जति पनि बौद्ध धर्मावलम्बी र शुभेच्छुक नेपाल आउँछन्, तिनलाई लुम्बिनी पुग्न हतारो हुन्छ । लुम्बिनी विश्वकै लागि आकर्षण पक्कै हो, तर उपत्यकाको पाटन पनि कम छैन । बौद्ध धर्मको शान राख्ने सम्पदा बेवास्ताको सिकार बन्नुमा ती पर्यटकको गल्ती छैन, हाम्रो छ । हामीले पाटनलाई बौद्ध धर्मको केन्द्रका रूपमा चिनाउन सकेका छैनौँ । पाटनमाथि लेखिरहेका सहकर्मी गोकर्ण गौतमसँग कुराकानी गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले ठोकुवा गरे- पाटनको विस्तृत अध्ययन गर्ने हो भने बौद्ध धर्मसँग जोड्ने अनेकौँ ऐतिहासिक तथ्य फेला पर्छन् । पाटनले पनि लुम्बिनीझैँ बुद्धको मौलिक सहरका रूपमा ख्याति पाउँछ । सम्पदा जोगिन्छ, आयको स्रोत पनि बन्छ । भोलिका पुस्ताले गर्व गर्ने ठाउँ रहन्छ ।

सम्पदा भनेको मन्दिर, दरबार, जात्रा र पर्व मात्र होइन । सहर आफैँमा अमूल्य सम्पदा हो । पाटनको अवस्थिति, जीवनशैली नियालौँ, हाम्रो सांस्कृतिक ढुकुटी प्रतीत हुन्छ । आधुनिकताको नाममा फैलिएको पश्चिमाकरणले सबैतिर राइँदाइँ गरिसक्दा पनि पाटनमा जात्रा, पर्वहरू जीवन्त छन् । यो सहर सहिष्णुताको आदर्श पाठशाला पनि हो । लिच्छविकाल बौद्ध धर्मका लागि स्वर्णयुग मानिन्छ । त्यसैबेला यहाँ बनेका चैत्य-विहार अझै जिउँदा छन् । याद रहोस्, लिच्छवि शासक बौद्ध धर्मावलम्बी थिएनन् । हिन्दु मल्ल राजाहरू पनि बौद्ध धर्मलाई अगाध श्रद्धा गर्थे । जात्रापर्वका लागि बजेटै छुट्याइन्थ्यो । भत्केका विहार पुनर्निमाण हुन्थे । अनेक युगअनुसार शासक र व्यवस्था फेरिए पनि यो सहिष्णुता आजपर्यन्त विचलित छैन । पाटनमा यस्ता जात्रा, पर्व, मन्दिर छैनन्, जहाँ बौद्ध र हिन्दु सँगसँगै नहोऊन् । परस्पर भाइचाराको मान्यता खण्डित हुँदै गएको आजको संसारका सामु पाटन सहिष्णुताको नमुना बन्न सक्छ ।

पाटनमा कति विहार हराए, तिनको खोजी जरुरी छ । लोप भएका जात्रा ब्युँताउनुको विकल्प छैन । हरेक मूर्त/अमूर्त सम्पदाप्रति स्थानीयको अपनत्वबोध हुनुपर्छ । सारमा, पाटनले मौलिक पहिचान पाउनुपर्छ, 'बौद्ध सहर' को । त्यसका लागि पहिले गौतम बुद्धसँग गाँसिएका प्रमाणको व्यवस्थित अध्ययन र प्रवर्द्धन गर्नुपर्छ ।

संसारलाई भन्न सकियोस्, हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी मात्र छैन, बुद्धसँग २ हजार वर्षभन्दा पुरानो नाता भएको पाटन पनि छ ।

यो पनि पढ्नुहोस्→ पाटनसँग बौद्ध धर्मको ऐतिहासिक साइनो, तर पहिचानमै संकट

प्रकाशित: पुस १८, २०७५