कत्रो कपाल !

- नेपाल संवाददाता

भारतीय किशोरी नीलांशी पटेल, १६, ले १० वर्षदेखि कपाल काटेकी छैनन् । ६ वर्षकी हुँदा कपाल छोट्याउन खोज्दा बिग्रिएको झोँकमा उनले कहिल्यै नकाट्ने संकल्प गरेकी थिइन् । उनको पाँच फुट सात इन्च लामो कपाल हालै गिनिज बुकमा दर्ता भएपछि देशी-विदेशी सञ्चार माध्यममा थामी नसक्नु चर्चा छ ।

लामो कपालकै कारण गुजराती नीलांशीलाई उनका साथीहरुले चर्चित कार्टुन पात्र 'राम्पुञ्जेल’ भन्दै आएका छन् । 'मानिसहरु मलाई लामो कपालका कारण, समस्या उत्पन्न हुन्न ? भन्दै प्रश्न गरिरहन्छन् ।’ उनी मुस्कुराउँछिन्, 'कपालकै कारण मलाई समस्या भएको छैन । धेरै खेल्छु र दौडधूपमा हुन्छु । कपाल मेरा लागि लक्की चार्म हो ।’ खेलकुदमा भाग लिँदा कपाललाई गुजुल्टो पार्ने गरेको उनले बताइन् ।

प्रकाशित: पुस १७, २०७५