संकटमा एकसिंगे गैंडा र पाटेबाघको 'अन्तिम घर’

- मोहन बुढाऐर/धनगढी

लोपोन्मुख एकसिंगे गैँडा र पाटेबाघको 'अन्तिम घर' मानिन्छ, पूर्व रौतहटको बागमती र पश्चिम महाकाली किनारको शुक्लाफाँटासम्मको भूपरिधि । यो अन्तिम घरभित्रै बसेको ८० लाख जनसंख्याको क्रियाकलापले संकट गहिरिँदै गएको छ ।

वन्यजन्तुको अन्तिम घरसँगै चुरे र तराईको वनजंगल विनासले मानिसको वासस्थान पनि मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको छ । संरक्षणकर्मीले चेतावनी दिएका छन्, 'यो अन्तिम घर पनि बचाउन सकिएन भने भावी पुस्ताले एकसिंगे गैँडा र बाघ तस्बिरमा मात्र देख्न पाउनेछन् ।'

बाघ, गैंडा र हात्तीजस्ता ठूला वन्यजन्तु ओहोरदोहोर गर्ने बाटाका बस्तीले पनि अवरोध पुर्‍याएका छन् । भारतको जिम कर्बेटदेखि बागमती किनारसम्मको भूपरिधिको संरक्षण, सम्वर्द्धन र सुरक्षाबाट मात्र विश्वबाटै लोप हुँदै गएका पाटेबाघ र एकसिंगे गैँडाको अन्तिम घर बलियो बन्न सक्ने बताउँछन्, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का संरक्षणविद् तिलक ढकाल । भन्छन्, "यो अन्तिम घरभित्र मानिसले पनि आफ्नो घर बनाउनु छ, त्यसैले एकले अर्काको घरको शान्ति-सुरक्षालाई खलल नपुर्‍याई मिलेर बस्ने हो । यसबाट वन्यजन्तु र मानव दुवैको भावी पुस्ता सुरक्षित हुनेछ ।"

यो परिधिभित्र हालैको गणनामा बाघ २ सय ३५ र एकसिंगे गैँडा ६ सय ४५ को संख्यामा भेटिए । त्यसमध्ये बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, चितवन राष्ट्रिय निकुञ्जमा ९३, बाँके निकुञ्जमा २१, पर्सा १६ र शुक्लाफाँटा निकुञ्जमा १६ छन् । एकसिंगे गैँडाको संख्या भने चितवन राष्ट्रिय निकुञ्जमा बढी छ । यहाँ ६ सयभन्दा बढी गैँडा गणना गरिएको छ । बर्दिया र शुक्लाफाँटामा त्यहीँबाट स्थानान्तरण गरिएका ४५ वटा एकसिंगे गैंडा छन् । एकसिंगे गैंडा नेपालमा मात्रै पाइन्छ ।

पश्चिम परिधिको बर्दिया क्षेत्रमा पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको छ । "नेपाल र भारतको यो परिधि बाघ संरक्षणका लागि उपयुक्त सर्किट बनेको छ," बाघविशेषज्ञ कञ्चन थापा भन्छन्, "यो परिधिमा जैविक मार्ग सुधारिँदै गएकाले बाघ-बघिनी रमाइरहेका हुन्छन् ।"

कहिले नेपालका बाघ भारततिर र कहिले त्यताका बाघ नेपाली जंगलमा देखिन्छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबीचको बर्दियाको खाता, कैलालीको कर्णाली, वसन्ता, कञ्चनपुरको लालझाडी मोहना जैविक मार्गमा संरक्षित, सामुदायिक र चुरे वनक्षेत्र पर्छन् । उक्त जैविक मार्गलाई भारतको लक्काबग्गा, दुदुवा नेसनल पार्क, कतरिनियाघाट वाइल्ड लाइफ सेन्चुरीले जोडेको छ ।

सुरक्षित वासस्थान निर्माण गर्न नसकेकै कारण गैँडा मारिएका उदाहरण धेरै छन् । बाघ र हात्तीका लागि भने पूर्व रौतहटदेखि शुक्लाफाँटासम्मको जैविक मार्गको कनेक्टिभिटी आवश्यक रहेको बताउँछन्, संरक्षणविद् ढकाल । भन्छन्, "हात्ती आफ्नो परम्परागत बाटोमा मात्र हिँड्छ । तर अहिले हात्तीको परम्परागत मार्गमा बस्ती बसेका छन् । त्यसैले हात्तीले घर-बस्तीमा आतंक मच्चाइरहेका छन् ।"

डब्लूडब्लूएफले नेपाल र भारतको यो भूपरिधिलाई जोड्न दुवै देशका सरकारसँग मिलेर तराई भूपरिधि कार्यक्रम (ताल) मार्फत आर्थिक र प्राविधिक रूपमा ठूलो लगानी गरिरहेको छ । तालको उद्देश्य मानिस र जनावर दुवैको घर सुरक्षित बनाउनु रहेको छ ।

तालका प्रबन्धक तथा उपसचिव पूर्णेश्वर सुवेदीका अनुसार यस क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज, संरक्षित तथा आरक्षित वन, सामुदायिक र राष्ट्रिय वनलाई जोडेर सुरक्षित जैविक मार्गका वन्यजन्तु देखाएर इको टुरिज्मलगायत संरक्षणमुखी कार्यक्रम चलाइएका छन् ।

मोहना करिडोरको कञ्चनपुर डोके बजार क्षेत्रबाट र वसन्ताको हसुलियाबाट जंगल मानव आवादीले टुक्रिएको स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठको भनाइ छ । त्यस्तै, जंगल क्षेत्रमा भइरहेको सडक, सिँचाइलगायत विकास निर्माणले कर्णाली करिडोर क्षेत्र पनि संकटमा छ । वातावरण विज्ञानका इन्जिनियर प्रसन्न कर्माचार्य भन्छन्, "वन्यजन्तु तथा वातावरणमैत्री पूर्वाधार निर्माण हुनु आवश्यक छ । वन्यजन्तु ओहोरदोहोर गर्ने बाटामा विकासले उनीहरूको 'लाइफ डिस्टर्ब' भइरहेको छ ।"

तस्बिरहरु : सौजन्य डब्लूडब्लूएफका तिलक ढकाल

प्रकाशित: पुस १६, २०७५