वर्तिका एम राईका गीत र कथाहरु

वर्तिकाको स्वयंबोध

- गोकर्ण गौतम

अमेरिका गएको दुई वर्ष बितिसकेको थियो । खास उपलब्धि केही थिएन । घर छोड्दाको पीडाले औधि सताउँथ्यो । एक्लोपनाले गाँज्थ्यो । कलेजमा जाडो बिदा भयो । सबै साथीहरु कता-कता लागे । वर्तिका एम राई कतै गइनन्, कलेजमै बसिन् । लेख्न र गाउन मन लाग्यो तर गिटार थिएन । आफ्नो गिटार बेचिसकेकी थिइन्, खर्च र राख्ने ठाउँ नभएर । साथीको मागिन् तर ट्युनिङ गर्नै नमिल्ने । त्यही बिग्रेको गिटारसँग खेल्दै गइन्, आफ्नो अन्तरकुन्तर चिहाइन् । जन्मियो, गीत 'खै...' । कलेजका नेपाली साथीलाई सुनाइन्, सबैलाई कन्ठस्थ भयो ।

सन् २०१४ को प्रसंग हो यो । साथीहरु गीत सार्वजनिक गर्न हौसाउँथे तर वर्तिका चुपचाप रहिन् । 'खै...' उनले आफ्नै लागि लेखेकी थिइन्, अरुलाई होइन । तर साथी र आमाजीले औधि कर गरेपछि दुई वर्षपछि अर्थात् २०१६ को जनवरीमा युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिन् । भोलिपल्ट बिहान उठ्दा 'भाइरल' भइसकेछ । युट्युबमा सयौँ कमेन्ट, फेसबुकमा अपरिचितहरुका म्यासेजको ओइरो । प्रशंसै-प्रशंसा । पहिलो ओरिजिनल ट्रयाक नै यतिविघ्न लोकपि्रय । ती पल सम्झँदै वर्तिका सुनाउँछिन्, "एक-दुई दिन त खुसी भएँ तर बिस्तारै डर लाग्न थाल्यो । भाइरलसँग वितृष्णा छ मेरो । मलाई खहरे होइन, नदी मन पर्छ ।"

त्यसपछिका चार वर्ष वर्तिका नदीझैँ संगीतवृत्तमा देखिएकी छन् । 'खै...' समाविष्ट उनको पहिलो एल्बम विम्बाकाशका शीर्षसहित 'नजिक...', 'तिमी ...' जस्ता गीतले श्रोताको मनमुटु जिते । दोस्रो एल्बम तरलका गीत पनि सार्वजनिक गरिसकेकी छन् । हरेक गीत आफैँ लेख्छिन्, आफैँ कम्पोज गर्छिन्, आफैँ गाउँछिन् । गीत लेखिनु पछाडि कथा छ, जहाँ वर्तिकाका जीवनभोगाइ मिसिएका छन्, दर्शन छन् । उनका गीत कवितामय हुन्छन्, कविता गीतमय छन् । त्यसैले जसले सुन्छन्, 'कनेक्ट' गरिहाल्छन् । 'शून्य...' गीत सुनेपछि आशीष तिमल्सिनाले युट्युबको कमेन्ट बक्समा लेखेका छन्, 'यो गीत कहिले पनि नसकिए हुन्थ्यो नि । म कस्सम दिनभरि, हप्ताभरि, महिनाभरि, वर्षभरि सुनेर बस्थेँ ।'

अरु धेरैले वर्तिकाका गीतले डिप्रेसनबाट बचाएको र आत्मविश्वास दिलाएको उल्लेख गरेका छन् । वर्तिकासम्म प्रत्यक्ष आइपुग्ने प्रतिक्रिया पनि यस्तै हुन्छन् । "मेरो गीत सुनेर टिनएजर केटीहरु आफूमा साहस पलाएको र चिन्न सघाएको बताउँछन् । गीतको प्रभाव यतिसम्म होला भनेर आफैँ द्विविधामा पर्छु," वर्तिका भन्छिन्, "यदि त्यस्तो भएकै हो भने म प्रफुल्लित हुन्छु ।" पछिल्लो पटक वर्तिका साढे चार वर्षअघि नेपालबाट अमेरिका गएकी थिइन्, 'खै...' रिलिजभन्दा लगभग एक वर्षअघि । तिनताका उनलाई चिन्ने जमात साघुँरो थियो । गायिकाको रुपमा उनको पहिचान बनेकै थिएन । तर अहिले नेपाल आउँदा सयौँ होइन, हजारौँको ध्यान तानियो उनीतिर । अमेरिकाबाट हिट भइन् तर व्यग्र प्रतीक्षा थियो नेपालमा । २८ दिनको छोटो बसाइमा आधा दर्जन कन्सर्ट भ्याउनुले त्यही प्रमाणित हुन्छ । जहाँ गाउन पुग्थिन्, त्यहाँ उनले होइन, अडियन्सले नै पूरै गीत गाउँथे । 'क्रेज' साँच्चै जादूयी छ उनको ।

वर्तिका एम राई | तस्बिरहरु : भास्वर ओझा


वर्तिकालाई आफ्नो धरातल थाहा छ । र उनको सबैभन्दा सशक्त गुण यही हो । जस्तो, 'खै...' हिट भएपछि संसारभरका नेपालीभाषीमाझ 'हटकेक' भइन् । अपरिचित मात्र होइन, नजिकका साथीभाइ र आफन्तसमेत उनलाई के-के न भई भन्ठान्थे, उनीहरुले गर्ने व्यवहारमै परिवर्तन आयो । टाकुरामा पुर्‍याइयो उनलाई । जबकि, उनको मनमा कठोर द्वन्द्व र द्विविधाले राज गरेको समय थियो त्यो । त्यो बेचैनी अरुले देख्दैनथे । जसरी अरुले देख्थे, भित्र त्यस्तो छँदै थिइनन् । "पढाइ सकेपछि के गर्ने टुंगो थिएन, अनेकौँ अन्योल र अनुत्तरित प्रश्न थिए मनमा," वर्तिका भन्छिन्, "तर बाहिरबाट जसले जे-जति महान देखे पनि भित्र त म जहीँको तहीँ थिएँ अर्थात् केही थिइनँ ।"

त्यतिबेलै वर्तिकाले महसुस गरेकी हुन्, अति ध्यानाकर्षण बेवास्ताभन्दा डरलाग्दो हुँदो रहेछ । उसै पनि 'लाइमलाइट' भन्दा एकांगीपनमा रमाउँछिन् । बाहिरी क्रेज र वाहवाही फिक्का-फिक्का नलागोस् पनि कसरी ! भन्छिन्, "मेरो असलियत मलाई मात्र थाहा थियो । मैले मलाई चिनेकी छु । अरुले कसरी लिन्छन्, त्यसले तात्त्विक फरक पार्दैन ।"

एकाध गीत/सिर्जना हिट हुनासाथ वा दुई-चार हजारले चिन्नासाथ आफूलाई ठूलो  ठान्ने भ्रम धेरै सेलिबि्रटीमा हुन्छ । मानवीय स्वभाव मूलतः यस्तै हो । तर २५ वर्षकै छेकोमा वर्तिका आत्मबोधमा लीन थिइन् । यसको मुहान के होला ? यसको जवाफमा वर्तिकाले पुरानो  कहानी सुनाइन् ।

बूढानीलकण्ठ स्कुल पढ्दाको प्रसंग हो यो । उनलाई भेट्न आमाजी स्कुल आउँथिन् । खाना लैजान वर्जित थियो । त्यसैले आमाजी चिट्ठी छाडेर जान्थिन्, जसमा लेखिएको हुन्थ्यो- 'आफूलाई अन्तरालोकन गर्नु', 'कमलको फूल हिलोमै फुल्छ, भ्यागुता पनि हिलोमै हुन्छ । फूल बन्ने कि भ्यागुता ? आफूमा भर पर्छ ।' वर्तिका भन्छिन्, "१० वर्षकी हुँदादेखि आमाजीले सिकाएका ती ज्ञान मेरा जीवनका गुरुमन्त्र हुन् । त्यहाँबाट कहिल्यै विचलित हुन्न ।"

उनलाई थाहा छ, आजको क्रेज भोलि नहुन सक्छ । तर आजको आत्मविश्वास र आत्मबोध कहिल्यै डगमगाउनु हुन्न । नत्र आफ्नो आवरण जति चमकधमक भए पनि मन अन्धकार हुन्छ ।

अमेरिका बसाइ पनि वर्तिकाको जीवन दृष्टिकोणको पाठशाला भइदियो, परिपक्वताको स्रोत भइदियो । संयुक्त परिवारमा हुर्किएकी उनलाई घरमा अलिक रोकतोक थियो । त्यसैले भाग्न चाहन्थिन् । अमेरिकाको 'ग्ल्यामर' ले पनि तानेको थियो । वर्तिका भन्छिन्, "अमेरिकामा के-के न पाइएलाजस्तो लागेको थियो, त्यस्तो केही भएन । साँच्चै भन्दा घरको माया थाहा पाउन मलाई महँगो पर्‍यो ।"

अर्कातिर, १९ वर्षको उमेरमै उनलाई भ्याइनभ्याई थियो । दुई अंग्रेजी म्यागजिनमा काम गर्थिन्, रेडियो कार्यक्रम चलाउँथिन्, ए-लेभल पढाउँथिन्, जताबाट पनि तारिफ पाउँथिन् । "नेपालमा हुँदा आफूलाई भयंकर ठान्थेँ, सबथोक जानेजस्तो लाग्थ्यो," वर्तिका मुस्कुराइन्, "अमेरिका गएपछि बल्ल आफ्नो हैसियत थाहा भयो, म त शून्य रहेछु ।" खुसीको कुराचाहिँ, यी सबै भोगाइबुझाइ र ठक्कर गीतमार्फत व्यक्त गर्छिन् ।

वर्तिकाले गुरुदेव कामतसँग तीन महिना संगीत सिकिन् । अन्त पनि सिक्न नखोजेकी होइन तर कहिल्यै पूरा भएन । कहिले पैसा नपुगेर, कहिले अनुशासन र धैर्य नभएर । गिटार बजाउने आधारभूत ज्ञान मात्र छ । स्वर त उनी आफैँलाई 'टेक्निकल' लाग्छ । तर गीतप्रतिको इमानदारीले हुनुपर्छ, हरेक शब्दमा गहिरो भाव हुन्छ । फलतः आवाज 'कच्चा' भए पनि सर्वत्र पि्रय छ । उनलाई आफ्ना गीतका सबैभन्दा सशक्त पक्ष शब्द नै लाग्छन् । गायिकाका रुपमा यतिविघ्न परिचित भइसक्दा आफ्नो आधार लेखनलाई नै मान्छिन् । उनका कुनै गीतले लाखौँ भ्युज पाएका छन्, कुनै केही हजारमा सीमित । तर त्यसले गीतप्रतिको प्रेममा कुनै प्रभाव पर्दैन । भन्छिन्, "मेरा गीत मेरा सन्तान हुन् । भ्युजको कुनै मूल्य हुन्न मेरा लागि ।"

भ्युजकै कमाउने लहडमा त्यस्तै प्रकृतिका गीत कम्पोज गर्ने लालसाबाट मुक्त छिन् वर्तिका । बजार-निर्देशित होइन, भावनाप्रेरित गीत सिर्जनामा तल्लीन छिन् । 'फ्यान' शब्द भारी लाग्दो रहेछ । आफ्ना गीत रुचाउनेलाई 'फ्याम' -फ्याम्ली/परिवार) मान्छिन् । "दर्शक/श्रोताको मायाले उत्साह जगाउँछ तर शिखरमा छु भन्ने भ्रम पलाउँदैन," अमेरिकामा आर्ट काउन्सिलमा अकाउन्टेन्टका रुपमा कार्यरत वर्तिका भन्छिन्, "मभित्र सयौँ प्रश्न छन्, तिनका उत्तर खोज्न गीत लेख्छु/गाउँछु । कति गुम्सिएका भावना पोख्ने प्रत्यत्न गर्छु । अरु स्वार्थ र नियत छैन ।"

गीतमा मात्र सीमित छैन, वर्तिकाको कलाकारिता । फिल्ममेकिङमा पनि संलग्न छिन् । दुई सर्ट फिल्म बनाइसकेकी छन् । कविता लेख्छिन् । सारमा आफूलाई कलाकार (आर्टिस्ट) ठान्छिन् । 'आर्टिस्ट' शब्दसँग गहिरो मोह छ उनको । सानो हुँदा के बन्ने भनेर सोध्दा उनी 'एस्ट्रोनट' (अन्तरिक्ष यात्री) भन्थिन् । तर एक दिन बुबाले 'मेरी छोरी आर्टिस्ट बन्छिन्' भनेछन् । उनी खुब रिसाइन् । त्यतिबेला उनलाई आर्टिस्ट भनेको स्केच/पेन्टिङ बनाउनेजस्तो लाग्थ्यो, जुन फिटिक्कै आउँदैनथ्यो । उमेरसँगै बुझ्दै गइन्, कलाकार शब्दको दायरा र शान । बिस्तारै त्यही कलाकारितामा हेलिँदै गइन् । अर्थात्, 'आर्टिस्ट' बनिन् । त्यतिबेला बाबु उनको साथमा थिएनन् । त्यसैले जब आर्टिस्ट बनिन्, नामको बीचमा 'एम' लेख्न थालिन् । बुबाको 'टि्रब्युट' स्वरुप । वर्तिका भन्छिन्, "नामबाट समेत कलाकारको रुपमा म बुबासँग जोडिएकी छु । त्यसैले पनि आफ्नो धरातल र वास्तविकता बिर्सन्न ।" उनले बुबाका लागि गीतै लेखेकी छन् :

तिमी मेरो केवल

न्यानो सम्झनामा

तिम्रा कथाहरु

खुसी बाँड्दै भन्नेछु म

तस्बिरहरु : भास्वर ओझा

प्रकाशित: पुस १५, २०७५

ट्याग: रङ