रुख माया

- शब्द/तस्बिर : दीपेन्द्र वज्राचार्य

एक रात छटपटिँदै अचानक बिस्ताराबाट उठिन्, लक्ष्मी शर्मा । आफैँले अँगालो मारेर हुर्काएका रुखमाथि रेन्जर र वन विभागका कर्मचारीले टाँचा नम्बर कोरे । ती रुखमा पारिएका घाउबाट आलो रगतसरह रातो रङ बग्यो । उनले त्यसलाई सपना ठानिन् । तर विपनामै रुख काट्ने बाध्यता आइलाग्यो उनलाई ।

प्रख्यात उद्यमी लक्ष्मी तौख्यः ललितपुरमा रुखसँग अंकमाल गरेर विलाप गर्दै थिइन्, १ पुसमा । 'हे प्रकृति आमा, मलाई माफ गरिदिनुस् । मलाई प्रकृतिले धेरै दियो, दिएको छ । मैले ऋण तिर्नु त कता हो कता, आज यी विवश चार सय कलिला रुख काटेर पाप गर्न गइरहेकी छु । मलाई क्षमा ‌गरिदिनुहोला ।'

त्यो दिन आकाश नीलो थियो । सबेरै भूमिपूजा गरिन् लक्ष्मीले । २० बाट ५० जना पुगे रुख काट्नेहरु । खुँडा, बन्चरो, खुकुरी, हँसिया लिएर आएका ।

२५ वर्षपहिले उनले काठमाडौँबाट १७ किलोमिटर पूर्वमा नौ रोपनी जग्गा किनेकी थिइन् । उनको एउटा सपना थियो- यहाँ लक्ष्मीका नाममा सदाका लागि केही शुभकार्य होस् । तर त्यसो भएन । राजनीतिक परिवर्तनलगत्तै उनीमाथि मुद्दा लाग्यो । ऋण लाग्यो । कम्पनीको साख जोगाउन जग्गा बेच्नुपर्‍यो । त्यही क्रममा उनी रुख काट्ने निधोमा पुगिन् ।

१३ वर्षकै उमेरमा बिहे भएर चार छोरीलाई जन्म दिएपछि पतिबाट अलग बसेर जीवन संघर्ष गरिन् । बागमती र विष्णुमती नदी किनारामा फालेका हाड, हड्डी र काठका टाँक बनाएर विदेशमा बेचिन् । द्वन्द्वकालको राजनीतिक चेपुवामा परेर आफ्ना कम्पनीका १ सय ५० जनाको रोजगारी धरापमा परे पनि उनी सफल उद्यमीका लागि प्रयत्नशील रहिरहिन् । उनी एसियाकी पहिलो महिला टेम्पो चालक, एसियाकै 'बटन क्विन' आदि नामले पनि चिनिन्छिन् । उनको संघर्षको कथा प्रेरणादायी छ ।

उत्तिस, चिलाउने, कोल्की, हरिवरी, लप्सीजस्ता रुख फडानीपछि पनि कर तिरेर घर लैजाने सुरमा छिन् । यी काठबाट उनी केही वस्तु बनाउनेछिन् । लक्ष्मीका निम्ति रुख काट्नु हिंसा गर्नु हो- प्राणी हत्याजस्तै । प्रकृतिको सिर्जना त्यही रुखै हामी किन काट्न लागिरहेका छौँ- किन काटिरहेका छौँ ?

सबै तस्बिर : दीपेन्द्र वज्राचार्य

प्रकाशित: पुस १५, २०७५

ट्याग: दृश्य