विश्व बडी बिल्डिङ च्याम्पियन महेश्वर भन्छन्– 'इच्छाशक्ति छ, पैसा छैन’

- मनबहादुर बस्नेत

खेलकुदमा स्वर्ण पदक नेपालका लागि कठिन सपना हो । कठिन तर ऐतिहासिक उपलब्धिको खातामा नाम चढाए, महेश्वर महर्जन, ३६, ले थाइल्यान्डमा आयोजित १० औँ विश्व बडी बिल्डिङ च्याम्पियन बनेर । काठमाडौँ, नरदेवीका महर्जन बडी बिल्डिङमा नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण पदकधारी एक मात्र खेलाडी हुन् । महर्जनसँगको कुराकानी 

विजेताका रुपमा आफ्नो नाम आउँदा कस्तो अनुभव भयो ?

दुःख-कष्टमा साथ दिने घरपरिवार, साथीभाइदेखि यसले खेल्न सक्दैन भनेर मेराबारे नकारात्मक सोच्नेहरु सबैलाई सम्झिएँ । अनि, नेपालको राष्ट्रिय गान बज्दा भावुक बनेछु र आँसु झरेछन् ।

विश्व च्याम्पियन बन्छु भन्ने कहिल्यै सोच्नुभएको थियो ?

जब सन् ०१६ मा भुटानको थिम्पुमा एसियन च्याम्पियन बनेर गोल्डमेडल जितेँ, त्यतिबेलै मैले आगामी गन्तव्य वर्ल्ड च्याम्पियन हो भन्ने निर्धारण गरेको थिएँ । तर त्यसपछिका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा त्यति राम्रो गर्न सकिनँ । आफैँभित्र केही कमी देखेँ । पहिले ३ महिनासम्म डाइट गरिन्थ्यो । यसपालि ६ महिना डाइटमा बसेँ र जितेँ ।

खेल तयारीको डाइटिङमा कति खर्च हुन्छ ?

यसपालि ८ देखि १० लाख रुपैयाँ सकियो । तौल 'मेन्टेन' एकदमै महफ्वपूर्ण हुने भएकाले खानपिन र पोषणमा अलिकति पनि तलमाथि गर्नुहुँदैन ।

कमाइचाहिँ कत्तिको हुन्छ ?

साथीहरुसँग मिलेर फिटनेस/जिम क्लब चलाउँछौँ । आम्दानीको स्रोत त्यही हो । 

सबैभन्दा गाह्रो कति बेला हुन्छ ?

प्रतियोगिता हुनुभन्दा १२ दिनअघिदेखि शरीरमा पानीको मात्रा कम गर्नुपर्छ । त्यो बेला गाह्रो हुन्छ ।

स्वर्ण पदक जितेपछि राज्यका तर्फबाट कुनै सहयोग ?

अहिलेसम्म भएको छैन । म अझै यसभन्दा अगाडि बढ्न चाहन्छु । तर त्यो व्यक्तिगत खर्चबाट सम्भव छैन ।

भनेपछि मिस्टर युनिभर्सका लागि पनि भिड्ने हो ?

अबको लक्ष्य सन् ०२० मा मिस्टर युनिभर्स जाने हो । तर यो प्रतियोगितामा भाग लिन अहिलेभन्दा दस गुणा बढी अर्थात् चानचुन एक करोड रुपैयाँ खर्चनुपर्छ । ५५ केजीदेखि १ सय केजी समूहभन्दा माथिका विश्वविजेताबीच भिडेर यो उपाधि लिनुपर्छ । मसँग इच्छाशक्ति, आत्मविश्वास छ । तर पैसा छैन ।

खर्चिलो बडी बिल्डिङ त्यागिदिऔँजस्तो लागेन ?

सन् ०१५ को एकै वर्षमा ५ वटा राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएँ । तीन वटामा राम्रो गरेँ । अरुमा राम्रो गर्न सकिनँ । खासमा पोषण, आराम पुगेन । मानसिक तनाव पनि बढ्दै गयो । अर्को अवसर आउला भनेर आफैँलाई सम्हालेँ ।

बडी बिल्डिङतिर लाग्नुको प्रेरक मोड केही ?

मेरा बा जिम जानुहुन्थ्यो । ९ कक्षा पुगेपछि म पनि जिम जान थालेँ । १६ वर्षको उमेर भएपछि बडी बिल्डिङतिर लागेँ । प्यासनले यहाँसम्म आइपुगेँ ।

परिवारबाट यतातिर नलाग्न दबाब आएन ?

मेरा हर कुरामा सहयोग गर्ने आमाले एकपटक सोध्नुभयो- 'बडी बिल्डिङ देशका लागि भन्दै खालि खर्च गरिरहन्छस् । तैँलेचाहिँ के पाउँछस् ?' सबै आफूले पाउन मात्रै गरिँदैन, मरेर जाँदा मानिसले छाड्ने चिनो नै ठूलो कुरा हो भनेपछि 'ल ठीक छ' भन्नुभयो ।

नेपालमा यो खेललाई हेर्ने दृष्टिकोण कस्तो ?

१५ वर्षअघिसम्म त एकदमै नराम्रो थियो । अल्लारे, लागूऔषध, चोरी, डकैतीमा लाग्नेहरु जिमखाना जान्छन् भन्ने सोच थियो । अहिले जीवनशैलीकै रुपमा अँगाल्न थालिएको छ ।

प्रकाशित: पुस १५, २०७५