मसलाकै चक्कर

फिल्म: सिम्बा | रेटिङ: २/५

- गोकर्ण गौतम

बरु मरुभूमिमा पानी भेटिएला तर रोहित शेट्टीका फिल्ममा सामाजिक चेत, प्रभावकारी सन्देश र कलात्मक अभिव्यक्ति भेटिन्न । अतिरञ्जित पात्र, मारधड, जबर्जस्ती थोपरिएका हास्य संवाद र रोमान्स शेट्टी फिल्मका विशेषता हुन् । नपत्याए, गोलमाल सिरिज, सिंघम्, चेन्नाई एक्सप्रेस  र दिलवाले  हेरे हुन्छ । उनको नयाँ फिल्म सिम्बाले यही विरासतलाई निरन्तरता दिएको छ । भ्रष्ट पुलिसलाई मुख्य पात्रका रुपमा उभ्याइएको फिल्मको केन्द्रमा छ, बलात्कार र हत्या । विषय यति संवेदनशील छ, प्रस्तुतिचाहिँ हल्का । मसलेदार बनाउने चक्करमा रुमल्लिएका छन्, निर्देशक । सिम्बा  तीन वर्षअगाडि प्रदर्शित तेलगु फिल्म टेम्परबाट प्रभावित छ । टेम्परमा जस्तो बलात्कारको व्यावहारिक र प्रेरक समाधान देख्न पाइँदैन । तर अभिनेता रणवीर सिंह जबर्दस्त लाग्छन् । बाँकी त उही हो, कथित मनोरञ्जनको एकोहोरो रटान ।

सडकमा हुर्किएको अनाथ संग्राम भालेराव उर्फ सिम्बा (रणवीर) प्रहरी अधिकृत बन्छन् । तर अपराध र अपराधी तह लगाउन होइन, पैसा असुल्न मात्र ध्यान छ उनको । इमानदारी र नैतिकता रौँजति पनि भेटिन्न, निर्दयी छन् । पैसा भए पुग्छ । गोवा सरुवा भएपछि पनि अव्यावसायिक हर्कत छाड्दैनन् । यस्तैमा उनले बहिनी मान्ने युवतीको बलात्कार र हत्या हुन्छ । त्यसपछि बल्ल सिम्बाको आँखा खुल्छ । हिजोसम्म आफैँलाई घुस खुवाएको अपराधीलाई सजाय दिलाउन सिम्बा सफल होलान् ? भ्रष्ट प्रहरी अधिकृतको इमानदारीतिरको यात्रा हो, यो फिल्म ।

घुसखोरीमा रमाउने प्रहरीका नालीबेली रोजै अखबारमा छापिन्छन् । नेपालमै निर्मला पन्त हत्याकाण्डका अपराधीलाई जोगाउन प्रहरी प्रशासन लागिपर्‍यो, अपराधी

अझै पत्ता लागेको छैन । त्यसैले सिम्बाले उठाएको विषय हाम्रो समाजको वर्तमान नियतिसँग मिल्दो छ । तर निर्देशकले सामाजिकबोधबिनै बलात्कारको मुद्दालाई ‘हिरोइजम’ ले लेपन गर्न खोजेका छन् । मध्यान्तरको केही मिनेटअगाडि मात्र मूल विषयले प्रवेश पाउँछ । नत्र सुरुबाटै सिम्बाको उदय र पैसाका लागि कतिसम्म नीच हुन सक्छन् भन्नेमा अल्झिएको छ । सिम्बाको ठट्यौली व्यवहार र हास्य संवादले पट्यारचाहिँ लागिहाल्दैन । सिम्बा र क्याटरिङ सञ्चालिका सगुन (सारा अली खान) को प्रेमले ‘रिफ्रेस’ गराउँछ । सिम्बाकी बहिनीको हत्या अर्थात् मध्यान्तरपछि फिल्म पूरापूर ‘ट्रयाक’ मा आउँछ ।

त्यसो त, टेम्परसँग हुबहु मिल्दैन, सिम्बा । युवती हत्यापछि नयाँ प्लट थपिएको छ । त्यसका लागि निर्देशकले ‘बलात्कारीलाई फाँसी दिनुपर्छ’ भन्ने आम मागलाई अवलम्बन गरेका छन्, बडो चलाखीपूर्वक । सिम्बा  यहीँ पुगेपछि फिस्स लाग्छ । न घुस्याहा सिम्बा एकाएक आदर्श बनेको विश्वसनीय लाग्छ, न त हत्यारालाई प्रहरीको टिम मिलेर सजाय दिने तरिका नै । जबकि, टेम्परमा प्रहरीले कानुनी प्रक्रियाबाटै अपराधीलाई सजायको भागीदार बनाउँछ । अनेक ट्वीस्ट छन् । त्यसैले टेम्पर  हेरेका दर्शकलाई सिम्बा  वजनदार लाग्दैन ।

निर्देशक शेट्टीले बलात्कारीलाई नियतवश ‘इकान्टर’ गर्नुको औचित्यलाई संवादकै सहारामा भए पनि प्रस्ट्याउन खोजेका छन् । सँगै बलात्कारीप्रतिको आम आक्रोशलाई ‘ क्यास’ गर्न खोजिएको छ । अन्तिममा सिंघम्अर्थात् अजय देवगणको प्रवेश हुन्छ । दर्शकले ताली बजाउँछन् तर अजयको उपस्थिति बुलन्द छैन । प्रहरीको मनोविज्ञान, गुन्डाको चारित्रीकरण, द्वन्द्व, पृष्ठभूमि, संगीतसमेत सिंघम् बाटै अनुसरण गरिएको छ । स्थानीय गुन्डाको केन्द्रीय स्तरका नेता, मन्त्री र प्रहरी अधिकृतसँगको ‘नेक्सस’ लाई देखाउने शैली पनि उस्तै छ । फरकचाहिँ सिंघम् का अजय देवगण कर्तव्यनिष्ठ हुन्छन्, सिम्बाका रणवीर घुस्याहा ।

पटकथा र प्रस्तुति बासी छ तर रणवीर आफ्नो अभिनयकलामार्फत दर्शकलाई जसोतसो बाँध्न सफल छन् । सिंघम् का अजय वा दबंगका सलमान खानभन्दा रणवीर कुनै कोणबाट फिक्का लाग्दैनन् । बरु डेब्यु फिल्म केदारनाथमा सशक्त भूमिकामा देखिएकी सारा अली खान सिम्बामा ‘सोपिस’ मै सीमित छिन् । उनी पनि फिल्ममा छिन् भन्ने नै भुलिन्छ, ठाउँ–ठाउँमा । दुई नम्बरी धन्दामार्फत आतंक सिर्जना गर्ने चरित्रमा सोनु सुद ‘टाइपकास्ट’ भइसके । रिमिक्स गीत ‘आँख मारे...’ रमाइलो लाग्छ । निर्देशकका रुपमा शेट्टीले सिम्बाबाट गर्व गर्ने ठाउँ छैन किनभने उनको निर्देशन कौशलमा पटक्कै नयाँपन आभास हुँदैन ।

सिंघम्, दबंग  मार्काका पुलिसगिरी रुचाउनेलाई सिम्बाले निराश पार्दैन । तर कलात्मक र यथार्थपरक फिल्मका पारखीलाई सिम्बा टाउको दुखाइ हुनेछ । रणवीर सिंहको फ्यान हो भने त किन छुटाउनु र  !

प्रकाशित: पुस १३, २०७५