छिले–निलेतिर

- छम गुरुङ

उपल्लो गोर्खा अर्थात् चुम–नुब्री । मध्य कात्तिकमा १४ दिने चुम भ्याली विशेष पदयात्राको १२ सदस्यीय टोलीमा म पनि मिसिएँ । काठमाडौँबाट एक दिनको बस यात्राले गोर्खाको आरुघाटमाथिको सोतीखोलासम्म पुग्यौँ । भोलिपल्टदेखि बूढीगण्डकी तीरैतीर हाम्रो पदयात्रा अगाडि बढ्यो ।

६ वर्षपहिले मनास्लु पदयात्रा दुईपल्ट गरेको थिएँ । यसपालिचाहिँ त्यो रुटभन्दा दायाँतर्फ लाग्यौँ । उहिले हाम्रो पुर्खा नुन बोक्न त्यतै जान्थे । नुन बोकेर आँबुखैरेनी बजारमा अन्न–चामल साट्न गएको आप्तबोली सुन्न पाइन्छ । मनास्लु रुटपट्टिको ‘कोताङ’ र बूढीगण्डकीको दायाँपट्टिको रुटचाहिँ ‘छिले–निले’ ।

यसपालि हामी गएको चुमपट्टि हो अर्थात् छिले–निले । यहाँबाट चीनको सिमानामै पुगिन्छ । सोतीखोला, माछाखोला, तातोपानी, जगत, यारुबगर, फिलिम, चुम्लिङ, छेकम्पार, लामा गाउँ हुँदै हामी पुगेको सबभन्दा अन्तिम ठाउँ, मु–गुम्बा हो । विदेशीसँग पदयात्रा गर्दा नेपालीका लागि जगतस्थित मनास्लु संरक्षण क्षेत्र परियोजना (एम्क्याप) कार्यालयमा प्रतिछाक दुई सय दरले एकमुस्ट कुपन काटेर जानुपर्ने रहेछ । होटल व्यवसायीलाई एक सय, एम्क्यापलाई एक सय । मोबाइल रिचार्ज कार्ड जसरी बोक्नैपर्ने ।

०७२ भूकम्पको असर खासगरी धार्चे गाउँपालिकाभित्र देखिन्छ । चुमनुब्री गाउँपालिकामा भने त्यति असर गरेको पाइएन । धुले सडक, त्यसमाथि ठाउँ–ठाउँमा भीर पहरामा ब्लास्टिङ गर्दै गरेको, सँगसँगै खच्चरको बथान पनि उत्तिकै बाक्लै । त्यसो हुँदा हामी तोकेकै गन्तव्यमा पुग्न असमर्थप्राय: भयौँ ।

तल्लो चुमभ्यालीबाट अगाडि लागेपछि त प्राय: चिनियाँ सामानकै कब्जा देख्न सकिन्छ । माथि चुमको बोर्डरबाट छेकम्पारसम्म गाडी नै आइसक्यो । तैपनि त्यताको खास ढुवानी साधन खच्चर–घोडा नै छन् । उपल्लो चुम भ्यालीमा सडक यातायात छैन । अर्को कुरा, चुम भ्याली प्रवेश गरेपछि मासु निषेध रहेछ । वन्यजन्तु सिकार गरेको फेला परे निकै महँगो जरिवाना व्यवस्था गरेको, एम्क्याप र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का ठाउँ–ठाउँका साइनबोर्डले बताउँछन् । हामी जाँदै गर्दा एक जना हट्टाकट्टै मासु व्यापारीलाई छेकम्पारमा कारबाही गरेको देख्यौँ । व्यापारीले खासमा होटलहरुको मागअनुसार नै एउटा घोडालाई बोकाएर लुकाई–छिपाई भैँसीको मासु ल्याएका रहेछन् । तर ५० हजार रुपैयाँ जरिवाना उनैलाई मात्र तिराइयो । गोर्खा या काठमाडौँदेखि आउँदा नाकाबन्दी गरिदिने धम्की दिएर उनी फर्के, रिसाउँदै ।

हाम्रो पदयात्रामा एउटा कुरा नयाँ फेला पार्‍यौँ– क्यान्डिलिभर पुल, जुन भीरको चट्टान खोपेर ठमठमी हिँड्न मिल्ने बनाइएको छ । टाढैबाट हेर्दा त भीरमा विकासे च्याउ फस्टाएजस्तो देखिने दुइटा त्यस्ता पुल भेट्यौँ । एउटा यारुबगरमा, अर्को चुम्लिङ गाउँ र लोक्पा गाउँका बीचमा । जता बाटोले घुम्ती मागेको छ, त्यतै–त्यतै पुल खोपाइएको रहेछ । रोचक ! पुल आइपुग्दा खच्चरको ख्याल गर्नुपर्ने रहेछ । हामी फर्किंदा खच्चरको हूलले केही समय रोक्यो । जाँदा जति उत्साहित थियौँ, फर्किंदा पनि त्यो क्यान्डिलिभर पुलमाथिको यात्राले हामीलाई उस्तै उत्साहित बनायो । चुम्लिङफेदीमा रहेको लामो पुलचाहिँ भूकम्पले निकै क्षति पुर्‍याएको पाइयो । यही पुलछेउमा भूकम्पका बेला सालाङ र लाम्रा गाउँका दुई स्कुले ठिटा मारिए, जो एसएलसी सकेर ट्रेकिङ पोर्टरका रुपमा गएका थिए । उनीहरुको चिनोको नाममा चप्पल मात्र भेटिएको थियो । हामी जति उक्लिँदै गयौँ, चिसो पनि त्यति–त्यति तीखो हुँदै गयो । माथि–माथि उचाइमा पो विकसित ठाउँ भेटिए । चुम्लिङ पुग्दा झन् चिसोचिसो हावा जोडतोडले चल्न थाल्यो । हिउँ पर्लाजस्तो भयो । दृश्य छर्लंग देख्न नपाइने चिन्ता बढ्न थाल्यो । बाटोमा भेटिएका साना बच्चाहरुका कलेटी परेका ओठमा गरिबी फुलेजस्तै लाग्यो ।

अर्को दिन आकाश मज्जाले खुल्यो । गाउँमा चारैतिर कोदो र लट्टे पाकेर झुलिरहेका थिए । भोलिपल्ट छेकम्पार पुग्यौँ । बाटोमा थरीथरी चरा, वनपशु, घरपशु भेट्यौँ । छिले र निले गाउँ छुट्याउने खोला तर्दै गर्दाको नाउर–घोरल–झारलको उफ्रीपाफ्री मनमोहक थियो । छेकम्पार पुगेपछि त के भन्नु र ! हिमाली सहर नै लाग्यो त्यो । जति माथि लम्किँदै गयौँ, मैदानी उपत्यकामा पाइलाका डोब छाड्दै गयौँ । लामा गाउँ पुग्यौँ, जसलाई गुम्बैगुम्बाको गाउँ घोषणा गरे पनि हुन्छ लाग्यो । गफ गर्न पनि त्यति मन नलाग्नेजस्तो, प्रकृति यति शान्त–मौन कि हल्ला गर्न डर लाग्ने । वरिपरि खुला मैदान, हिमाल, छङछङ हिउँखोला । ठाउँ–ठाउँमा लुङ्दर फरफर । केही बेर मु–गुम्बा घुम्न गयौँ । सुनेको मात्र थिएँ, त्यहाँ पुगेपछि जंगली जनावर सुम्सुम्याउन पाइन्छ । त्यस्तै भयो पनि । कसैले कान, कसैले सिङ समाउन पाइने । सिरेटो नै बिर्सेर घुमन्तेहरु क्यामेरामै व्यस्त थिए । संरक्षित वन्यजन्तु मान्छेको डरबिना बेफिक्री यताउति डुलिरहेका दृश्य झन् अनौठा–अनौठा ।

हाम्रो ट्रेकको अन्तिम थलो नै मु–गुम्बा । ठाउँ–दृश्य साह्रै मज्जाको– हेरिरहूँ, छोइरहूँ । त्यतै बसिरहूँ नै लाग्ने तर बाटो सम्झिँदा, राज्यको उपस्थिति खोज्दा निरास–निरास, हतास–हतास भइहाल्ने । स्वास्थ्य सेवा पुग्दो छैन । सूचना–मिडिया छैन । होटलको पनि व्यवस्था भइसकेको छैन । लन्च या डिनरका लागि होटल भनेको त्यही गुम्बा रहेछ । बास बस्ने पनि त्यही गुम्बामा । त्यहाँ कुकको रुपमा आनीहरु रहेछन् ।

यसरी हामी जुन बाटो हुँदै गयौँ, त्यही बाटो ओरालियौँ । खासमा यो पदयात्रा मस्तै हिँड्नेहरुका लागि बढीमा ८/९ दिन लाग्ने रहेछ । हामी भने १४ दिनमै काठमाडौँ आइपुग्यौँ ।

हेर्नुहोस् तस्बिरहरु :

शब्द/तस्बिर : छम गुरुङ

प्रकाशित: पुस १३, २०७५

ट्याग: दृश्य