बीपीले बनाए कम्युनिस्ट

- यज्ञप्रसाद आचार्य

म सुरुमा कांग्रेसको सक्रिय सदस्य थिएँ । ००४ मा नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएको थिएँ, जतिबेला बीपी कोइराला नेपाली राष्ट्रिय कांग्रेसका सभापति थिए । विराटनगरको जुट मिल आन्दोलनताका तत्कालीन श्री ३ मोहनशमशेरले बीपीलाई विराटनगरबाट पक्राउ गरेर काठमाडौँमा थुनामा राखेका थिए । बीपीलाई पक्राउ गरेको विरोधमा नेपाली राष्ट्रिय कांग्रेसले सत्याग्रह घोषणा गर्‍यो । बीपी पक्राउपछि कार्यवाहक सभापति बने मातृकाप्रसाद कोइराला ।

अधिराज्यव्यापी सत्याग्रहका लागि पार्टीले मलाई तेह्रथुम खटाएको थियो । आफूलाई बिनाकारण थुनामा राखेको भन्दै बीपी काठमाडौँमा २१ दिनसम्म आमरण अनशन बसे । त्यसपछि मोहनशमशेरले बीपीलाई छाडिदिए । सत्याग्रह पनि समाप्त भयो ।

त्यसपछि बीपी रक्सौल हुँदै विराटनगरनजिक भारतको जोगबनी बजारमा नौलखा परिवारको घरमा बसे । जोगबनीबाटै धरानका कार्यकर्तालाई बीपीले भेट्न बोलाए । हामी सबै त्यहाँ पुग्यौँ । यो ००६ तिरको कुरा हो । बीपीसँग नेपाल कम्युनिस्ट पार्टीबारे छलफल भयो । उनले भने, ‘तिमीहरुजस्ता पढेलेखेका युवक कम्युनिस्टमा नलाग्नू ।’

बीपीले यसो भन्नुको खास कारणचाहिँ त्यतिबेला धरानबाट  एसएलसी र स्नातकोत्तर गर्ने पहिलो विद्यार्थी मै थिएँ । एलएलएमचाहिँ बनारस विश्वविद्यालयबाट सन् १९५४ मा गरेको हुँ । कम्युनिस्ट पार्टीबारे बीपीका धारणासँग म सहमत हुन सकिनँ । त्यतिबेलासम्म म कम्युनिस्ट विचारसँग खासै जानकार भने थिइनँ । 

बीपीले पढेलेखेका कम्युनिस्टमा लाग्नु हुँदैन भनेपछि मात्र मैले कम्युनिस्ट सिद्धान्त र अन्तर्राष्ट्रिय गतिविधिबारे अध्ययन गरेँ । बनारसमा अध्ययनका सिलसिलामा कम्युनिस्ट विचारप्रति प्रभावित भएँ । रुस्तम स्याटिन बनारसका कम्युनिस्ट थिए । मलाई उनैले कम्युनिस्ट पार्टीको सदस्यता दिलाए । यसरी राणा शासन अन्त्यका लागि कांग्रेसमा सक्रिय म पछि कम्युनिस्ट बन्न पुगेँ ।

हुन त, बीपीसमेत कुनै समय भारतीय कम्युनिस्ट पार्टीको सक्रिय सदस्य थिए । बनारसमा अध्ययनरत केही साथीभाइको पहलमा हामीले नेपाल कम्युनिस्ट पार्टी (भारत) खोल्यौँ, सन् १९५३ मा । म त्यसको अध्यक्ष तथा संयोजक छानिएँ ।

बनारसमा कम्युनिस्ट इकाइ खोलेको कुरा नेपालका कम्युनिस्टहरुले थाहा पाएछन् । नेकपा केन्द्रीय सदस्य शैलेन्द्रकुमार उपाध्यायले पहिलो पटक देशबाहिर हामीले खोलेको कम्युनिस्ट इकाइलाई एउटै बनाउन पहल लिए । त्यसपछि हामीले जिल्ला कमिटीमा बरोबरी सिट माग्यौँ । हाम्रो मागमा उपाध्याय सहमत भए र बनारस कम्युनिस्ट इकाइ नेपाल कम्युनिस्ट पार्टीमा विलय भयो । केशरजंग रायमाझी त्यतिबेला त्यस पार्टीका महासचिव थिए ।

हामी सन् १९५६ मा नेपाल फर्कियौँ । नेकपासँग भएको समझदारीअनुरुप केही जिल्ला कमिटीका पदाधिकारीको हैसियतमा पुगे भने केहीले चाहिँ लोकसेवा परीक्षा पास गरेर सरकारी जागिर खाए ।

०१६ मा पहिलो पटक धरान नगरपालिकाको चुनाव हुने भयो । त्यतिबेला नेपालमा ९ वटा मात्र नगरपालिका थिए । चुनावमा मलाई पार्टीले उम्मेदवार बन्न जोडबल गर्‍यो । मैले लामो समय त्यसलाई अस्वीकार गर्दै रहेँ ।

रोचक के भने मलाई मनाउन पार्टीले नेता मनमोहन अधिकारीलाई धरान पठायो । मनमोहन धरानस्थित हाम्रो घरमा ३ दिन अड्डा जमाएर बसे । उनले बाबा लक्ष्मीप्रसाद आचार्यसँग नगरपालिकामा सदस्यका रुपमा उठ्न मलाई मनाउन आग्रह गरे । त्यसपछि बाबाले नै मनमोहनका कुरा मान्देऊ भनेपछि म गर्न के सक्थेँ र ! अन्तत: म धरान नगरपालिकाको सदस्यमा उठ्न बाध्य भएँ । यसरी पार्टी र घरपरिवारको जोडबलका कारण म चुनावमा उम्मेदवार भएँ ।

म धरान नगरपालिकाको सदस्यमा अत्यधिक बहुमतसहित विजयी भएँ । नेपाली कांग्रेस, प्रजापरिषद्का सदस्यले हार बेहोरे । स्वतन्त्रमा चाहिँ सूर्यबहादुर थापाका काका कुलकेशरसिंह थापा उठेका थिए । धरानका ९ वडामध्ये एउटामा मात्र नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । बीपीको सरकारले धरान नगरपालिकालाई नाकाबन्दी गर्‍यो, बजेट नदिएर, कर्मचारी व्यवस्थापन नगरिदिएर । चुनावको केही समयपछि १ पुस ०१७ को घटना भइहाल्यो ।

(आचार्य पूर्वराजपरिषद् स्थायी समिति, सदस्य हुन् )

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: पुस १२, २०७५

ट्याग: स्मरण