अनि, मुखुन्डोमा कला देखेँ

- मनबहादुर बस्नेत

कुनै बेला पुख्र्यौली मुखुन्डो कला त्यागेर जागिरे बनेका थिए, पाटन, नागबा:लका सुरज शाक्य । कला सिर्जनामै फर्किएपछि शाक्यको पहिचान बदलियो । प्रमाण खडा छ, पाटनमा १० दिनसम्म चलेको प्रदर्शनी ‘ख्वपा: द मास्क’ । शाक्यसँगको बातचित :

मुखुन्डो अन्य हस्तकलाभन्दा कति फरक ?

यो हस्तकलाकै एउटा विधा हो । तामाको पातामा स्केच गरेपछि त्यसमा देवीदेवताको अनुहार कुँदिन्छ ।

तपाईंका कलाकृति देवीदेवताका अनुहारसँग ठ्याक्कै मिल्दैनन् नि ?

मैले कुँदेका यी कलाकृतिको डिजाइन या स्वरुप मेरा बा पूर्णरत्न शाक्यबाट लिएको हुँ । उहाँ गोलाकारमा मुखुन्डो कला सिर्जना गर्नुहुन्थ्यो । अनुहारको दायाँबायाँ पुक्क निस्किएका भाग देखिन्छन् । त्यसैले मेल नखाएको ।

बाको शैली पछ्याउनुको खास कारण ?

बाले कालभैरव, श्वेतभैरव र सिंहिनीलाई आधार मानेर मास्क कलालाई व्यावसायिक बनाउनुभयो । हाम्रो परिवार त्यसकै आधारमा बाँच्यो । बाले त्यत्तिकै आजीवन यो थिममा पक्कै काम गर्नुभएन । उहाँको शैली नपछ्याउँदा मास्क कलाको एउटा पुस्ताको पहिचान मेटिन्थ्यो । म त्यो चाहन्नँ ।

आफ्नो शैलीचाहिँ थप्नुभएको छैन ?

मैले बाको शैलीमा केही थपेको छु । खासगरी गरुड, बाराही, गणेश, महांकाल भैरवका कलाकृतिका आकार र रङमा नयाँपन दिएको छु । बाको थिममा काम गर्दा अनुहार दुरुस्त नचिनिने हुँदा मैले तिब्बती मास्क डान्स कला बनाएँ । मास्कबाहेक जनावर, ड्रागन, भैरव, स्वयम्भू स्तुपा पनि बनाएको छु । बा र आफ्नो दुवै शैलीलाई समानान्तर रुपमा अगाडि बढाउँछु ।

पुस्तैनी पेसाका कारण मात्रै यो कलामा आकर्षित हुनुभएको हो ?

म सानैदेखि बालाई सघाउँथेँ । स्नातक सकाएपछि चाहिँ काम छाडौँजस्तो लाग्यो । कहिले पढाएँ, कहिले कम्प्युटर डिजाइनिङको जागिर खाएँ । २ वर्षपछि आफ्नै काममा फर्किएँ ।

फर्किनु बाध्यता थियो वा अरु केही ?

आर्थिक रुपमा जिम्मेवारी पनि बढिरहेको थियो । तर त्योभन्दा पनि मैले पहिले यसलाई कलाको रुपमा बुझेकै थिइनँ । मास्कमा कला देखेँ । स्कोप पनि देखेँ ।

मास्क कला कत्तिको महँगो हुन्छ ?

डिजाइन, आकार र यसमा प्रयोग गरिने ढुंगाको गुणस्तरअनुसार लागत फरक हुन्छ । चलनचल्तीमा ९/१० इन्चको छ । यो आकारको मूल्य ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ । १० लाख रुपैयाँ पर्ने बाराहीको मास्क पनि बनाएको छु । विडम्बना ! यति मूल्यवान चीज लोपोन्मुख अवस्थामा छ ।

कसरी लोपोन्मुख ?

परिवारमा म चौथो पुस्ताको कालीगढ हुँ । भाइहरु विदेशमा छन् । मपछि यसलाई निरन्तरता दिने परिवारमा कोही छैन । यस्तो खालको कलाकृति मैले बजारमा समेत देखेको छैन । काठमा केमिकलको लेप लगाउने र त्यसमा स्टोन टाँसेको जति पनि देखिन्छ ।

यस्तो कला बनाउने तपाईं एक्लो हो ?

मैले बनाएजस्तो बजारमा भेटेको छैन ।

यसको जर्गेनाबारे केही सोच्नुभएको ?

हो, म एक्लो छु । त्यसैले लोप नहोस् भन्ने चाहन्छु । तर अहिले नै आफैँ संस्था खोलेर सिकाउन सक्दिनँ । कुनै संस्थाले १/२ घन्टा आएर सिकाइदिओस् भन्ने चाहन्छ भने त्यसका लागि तयार छु ।

एक महिनाअघि विश्व कला परिषद्ले पाटनलाई हस्तकला नगरीमा सूचीकृत गरेको यसले तपाईंहरुलाई केही फरक पारेको ?

यो खुसीको कुरा त हो तर राज्य र हस्तकलासम्बन्धी कुनै संस्थाले कलाकार/कालिगढलाई सहयोग गरेको अहिलेसम्म महसुस भएको छैन ।

प्रकाशित: पुस १२, २०७५

ट्याग: अचानक