विमर्श संकट

पुस्तक : मार्क्सवाददेखि उत्तरमार्क्सवादसम्म | लेखक : कृष्ण गौतम | प्रकाशक : भृकुटी एकेडेमिक पब्लिकेसन्स | पृष्ठ : २३६ | मूल्य : ६९५ रुपैयाँ

- गुरुङ सुशान्त

संसारका सबैभन्दा चर्चित र आलोचित वाद सायद मार्क्सवाद हो । परम्परागत भाववादी दर्शनको अमूर्त र आध्यात्मिक स्थापनाविरुद्ध मार्क्सवादका आधारस्तम्भ द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद अभूतपूर्व चुनौती थिए । आज पनि छन् । डार्विनको विकासवाद र जर्मन दार्शनिक हेगेलको द्वन्द्वात्मक पद्धतिबाट प्रभावित मार्क्सवाद अनेक भूगोलमा विविध रुप, संशोधन र व्याख्यामा उपलब्ध छन् । सर्वहारा वर्गको दर्शनको रुपमा चिनिएको मार्क्सवादको लहरा नवमाक्र्सवाद हुँदै उत्तरमार्क्सवादसम्म झाँगिएको छ ।

कृष्ण गौतमको चासो मार्क्सवादका पुरानाभन्दा नयाँ संस्करणमा ज्यादा देखिन्छ । गौतमको व्याख्याले हेगेललाई मार्क्सको इडिपसीय पिता मान्छ किनकि हेगेलीय ऐतिहासिकता, समग्रता र द्वन्द्वन्यायलाई कायम राख्दै मार्क्सले प्रेम पनि देखाए । र, चेतनाको प्राथमिकतालाई भौतिकताले विस्थापित गर्दै घृणाको जनाउ पनि दिए । हेगेलका अनुसार बुद्धि/चेतनाको विकासले समाज, सामाजिक संस्था र राज्यको समृद्धिमा बल पुग्छ । तर मार्क्सको मान्यता छ– आर्थिक विकासबाट बुद्धि/चेतनाको प्रवद्र्धन हुँदै समाज परिवर्तन हुन्छ । पहिलोको जगमा चेतना छ, दोस्रोमा यथार्थ । यसरी मार्क्सवादको जन्मकथामै प्रश्न र डिस्कोर्सको सालनाल जोडिएको छ । त्यही बलमा आजसम्म चिन्तन–परम्परामा मार्क्सवाद जीवित छ । साहित्य र समाजलाई आफ्नो व्याख्यामा मिहीन ढंगले जोड्ने गौतमलाई कतिपयले कोठे विद्वानका बिल्ला लगाएर पन्छाइदिन्छन् । समाजविज्ञानी/राजनीतिशास्त्रीहरु गौतमलाई साहित्यिक मात्रै ठानेर हलुका कलम  देख्छन्, विश्वविद्यालयका प्राविधिक–विश्लेषकहरु उत्तरआधुनिक चिन्तक मानेर उनका विषयमा मुख खोल्दैनन् । अंग्रेजीभाषी लेखकहरु उनको लेखनलाई अनुवादबाट उत्ति टाढा राखेर हेर्दैनन् भने मार्क्सवादीहरुले प्रतिध्रुवीय कित्तामा देख्छन् । यिनै चेपुवामा परेर बेवास्ताको सिकार भएका छन् गौतम । तीन दशकदेखि उत्तरचिन्तनमाथि लेखिरहेका गौतमको पुस्तक मार्क्सवाददेखि उत्तरमार्क्सवादसम्ममा करिब दुई दर्जन चिन्तकमाथि विमर्श छ ।

पुस्तकको शक्ति हो– जटिल दर्शनलाई पनि खँदिला उपमाहरुको सहयोगमा सरस र सरल बोधमा उतार्नु । गौतमले चिन्तकहरुका महत्त्वपूर्ण घुम्तीलाई सुरुचिपूर्ण ढंगले टिपेका छन्, जसका कारण उनीहरुको दार्शनिक व्यक्तित्व निर्माणका कार्य–कारणबारे पाठक विश्वस्त हुन्छन् । धेरैले उत्तरआधुनिकतालाई सतह र गहिराइको द्वैतमा विश्वास नगर्ने सतही दर्शन मान्छन् । तर गौतममा उत्तरआधुनिकताले यसरी जरा गाडेको छ कि भन्छन्– ‘अडर्नोको चिन्तनमा उत्तरआधुनिकताका संकेतहरु भएकाले आज पनि यिनमा विशेष चाख देखाइन्छ ।’ मुसोलिनीको चाहना थियो, ग्राम्स्कीको मस्तिष्क २० वर्षसम्म नचलोस् । ग्राम्स्की सोच्थे– शासक दलले लोकप्रिय मतको अनुमोदित टेकोबाट संस्कृति, शिक्षा, धर्म आदिलाई अनुकूलित पार्दै जनतामा आफ्नो विश्वदृष्टि लाद्छ । नयाँ समाज निर्माणमा शासक उत्पादित बौद्धिकभन्दा अर्गानिक बौद्धिक सहयोगी हुन्छ । आखिर अग्रगामी सोच जेलभित्र पनि कैद हुँदैन भन्ने उदाहरण हुन् ग्राम्स्की । उनीप्रति गौतमका शब्दहरु भुवादार प्रतीत हुन्छन् । मार्क्सको मृत्युपछि मार्क्सवादमा बढेको मतान्धता अर्थात् एकोहोरो मार्क्सवादमाथिको ग्राम्स्कीय प्रहार गौतमलाई निको लाग्यो सायद ।  

शास्त्रीय मार्क्सवादीले उत्तरमार्क्सवादीलाई भ्रष्टीकरणको ओरालो बाटो हुँदै उत्तरआधुनिक रामरमितामा मिसिन खोजेको ठान्छन् । तर गौतम उत्तरमार्क्सवादी प्रयोग–प्रेम, कलात्मक कदमलाई परख गर्छन् र चिन्तनको नयाँ चौतारी देख्छन् । मार्क्सवादको दीर्घायु नयाँ व्याख्याता र आलोचकहरुकै हातमा छ, नत्र त प्रशंसकले उहिल्यै ‘खोपीको देउता’ बनाइसक्थे । आजको बहुलवादी युगमा मार्क्सवादी एकत्ववाद छरपस्ट भएको ठान्ने गौतम महत आख्यानमाथि विश्वास गर्दैनन् । उनको अध्ययनले पायो कि सात्र्रले मार्क्सवादलाई आफ्नो युगको अविजेय चिन्तन घोषणा गरे पनि १९६८ को फ्रान्सेली आन्दोलन मार्क्सवादी किसिमको मजदुर आन्दोलन थिएन । नेपालमा ‘माटो सुहाउँदो’ समाजवादका विविध रुप देखिए । आफ्नो आइडियोलोजीका जरामा बीपीको समाजवादीय मलजल रहे पनि गौतम अनेक रुप अनेक पठनमा रुचि देखाउँछन् । तर अध्ययनलाई आफ्नो वैचारिक कोणबाट प्रस्ट आलोचनात्मक मूल्य–निर्णय पेस गर्दैनन् कहिलेकाहीँ । उनको ‘शालीनता’ कतिपय प्रसंगमा शक्ति बनिदिन्छ, कतिपय सन्दर्भमा सीमा ।

मार्क्सवाद–उत्तरमार्क्सवादलाई गहिराइमा बुझ्ने हुटहुटी जगाउन सकेमा यो पुस्तकको असली उद्देश्य पूरा होला । तर दु:खको कुरा– एकातिर, मार्क्सवाद दीक्षित ‘कम्युनिस्ट’ हरु सत्तामञ्चमा चढेपछि ‘आइटम डान्स’ मा मस्त हुन्छन् । अर्कातिर, समाजको लट्टाइबाट चुँडिएको स्वैरकल्पनाको चंगामा मग्न भइदिन्छन् केही लेखक । परिणाम–मार्क्सवाददेखि उत्तरमार्क्सवादसम्महरु पुस्तक पसल या पुस्तकालयको कुनाकाप्चामा धूलो ओढेर बस्छन् । राजनीतिमा होस् या साहित्यमा– प्रयोगहरु अनिवार्य/अपेक्षित हुन्छन् । तर ती साध्य हुनुहुँदैन ।

प्रकाशित: पुस १२, २०७५

ट्याग: पुस्तक