कलामा आत्मखोज

- नवीन सुब्बा

पेरिसमा अन लेट स्टाइल  फेला परेपछि म रोमाञ्चित भएँ । मृत्युको सँघारमा लेखेको यो किताबमा एडवर्ड सइदले स्वनामधन्य संगीतकर्मी, कलाकार, सिनेकर्मीको उत्तराद्र्धकालीन रचनाबारे निबन्धात्मक टिप्पणी गरेका छन् ।  सामान्यत: मृत्यु सन्निकटका मान्छे शान्त र विवेकशील हुने विश्वास गरिन्छ । तर सइदले विथोविनका अन्तिम रचनामा झनै आक्रामकता पाए । सइद लेखनका बहु–तह छिचोल्न विविध पाठ्यसामग्रीका ढोकाबाट छिर्नुपर्ने हुन्छ ।

संगीत, साहित्य, ऐतिहासिकताको छिपछिपे संगतले मात्रै भने सइद बुझिँदैन । त्यसैले अनुशासित पठन–पद्धति नभएका मजस्तालाई सइद–अध्ययन सधैँ चुनौतीपूर्ण लाग्छ । निर्वासित जीवनका कारण पनि हुन सक्छ, सइदले मोजार्टलाई पनि खोतलेका छन् आफ्ना रचनामा । एकबाट अर्को भूगोलमा जाँदै संघर्ष गरेका मोजार्टले पनि सामाजिक अस्वीकृति झेलेका थिए ।

प्राणी विज्ञान, कृषि इतिहास, भौगोलिक इतिहासजस्ता बहुविधात्मक कोण छ, गन्स, जम्स एन्ड स्टिलमा । १३ हजार वर्षको मानव–समाजको चित्रण रहेको यो किताबमा जरेड डायमन्डले अफ्रिकाबाट आरम्भ मानव सभ्यताले अनेक महाद्वीपमा गरेको दीर्घ–यात्रा वर्णन गरेका छन् । बौद्धिकता, वंशाणुगत शारीरिक उच्च क्षमताकै कारण युरोपेलीले अन्य जातिलाई अधीनस्थ गरेको नभई भौगोलिक अनुकूलताले नै त्यो सम्भव भएको तर्क उनको छ । अस्ट्रेलियाली र आदिवासी–अमेरिकीभन्दा युरोपेली तीव्र रुपमा अगाडि बढ्नुमा कृषि र खानपानको भूमिका निर्णायक थिए । अन्यत्र निर्वाहमुखी कृषि–जीवन चलिरहँदा युरोपमा उच्च कार्बोहाइड्रेट र प्रोटिनयुक्त गहुँको जगेडा भइसकेको थियो । अनाज सञ्चयले बिस्तारै सामाजिक–राजनीतिक संस्थाहरु खुले । कलाशिल्पतिर ध्यान दिन थालेपछि अन्वेषणको क्षितिज फराकिलो भयो ।

कृषि युगमा युरोपेलीले केही जनावरलाई घरपालुवा बनाएर कृषि र यातायातमा मद्दत लिए । र, आफ्नो प्रतिरोधात्मक क्षमता पनि विकसित गरे । भनिन्छ– पछि युरोपेली अमेरिका जाँदा ९५ प्रतिशत अमेरिकी किटाणु संक्रमणकै कारण मरे । इस्पाती हतियारधारी दुई सय जना स्पेनीले ८० हजार सेनासहितको कोलम्बियाली आदिवासी राज्यलाई उपनिवेश कायम गरे । तामासम्म मात्र पुगेका कोलम्बियाली काठकै हतियारमा निर्भर थिए । अरुमाथि विजय गर्ने मानवीय चाहना र सभ्यताको द्वन्द्वमा विजयी पक्षका मुख्य कारकलाई बुझ्न यो किताब धेरै उपयोगी हुन्छ । यो पुस्तक राजनीतिक इतिहास त होइन तर लेखन–उद्देश्यचाहिँ राजनीतिकजस्तो लाग्छ । हाम्रो एकांगी सामाजिक दृष्टि भत्काउन पनि यस्ता अध्ययन सहयोगी हुन्छन् ।

सिनेमा–चिन्तनमा रोबर्ट ब्रेसोको ठूलो प्रभाव छ ममा । ४० वर्ष खर्चिएर १३ अब्बल फिल्म बनाएका बेस्रोको अन्तर्वार्ता संग्रह हो, ब्रेसो अन ब्रेसो । क्याथोलिक क्रिस्तानी भएकाले उनका फिल्ममा आत्मखोज भेटिन्छ । सिनेमाको उद्देश्यलाई मुख्यत: दुई वर्गमा बाँडिन्छ– आनन्द र मनोरञ्जन । आनन्दले बौद्धिक/आध्यात्मिक सन्तुष्टिमा जोड दिन्छ, जसले लामो समयसम्म सिनेकर्मी र दर्शकको सोचलाई नै समृद्ध बनाएर लान्छ । तर मनोरञ्जनले क्षणिक आवेगको तुष्टिमै रोकिदिन्छ । सिनेमाको आफ्नै व्याकरण हुन्छ । एक थरी सिनेमाले दर्शकलाई आफूमा समाहित हुन आग्रह गर्छ भने अर्का थरी दर्शकमै समाहित हुन्छ । पछिल्लो समय दुवैको सीमा भत्काउन खोज्नेहरु पनि छन् । यी सबैको जग ब्रेसो नै हुन् । उनले आफ्ना धारणालाई सैद्धान्तिकीकरण गरे । सिनेमाभन्दा सिनेमाटोग्राफ भन्न रुचाउने ब्रेसोले अहिलेका फिल्मलाई नाटकबाट प्रभावित भएकाले घटनाको मञ्चीकरण मात्रै देखे । सत्यजित रेहरु विविध कलाका प्रभावबाट सिनेमा अझ उन्नत हुने बताउँथे ।

सिनेमाटोग्राफीको शक्तिलाई सिनेकर्मीले उपयोग गर्न नसकेको जिकिर गर्ने ब्रेसो फिल्मलाई स्वायत्त कला मान्थे । अरुबाट उधारो प्रभाव लिएको फिल्म कमजोर हुने धारणा राख्ने उनी भन्थे– निर्देशकले कलाकारलाई होइन, आफैँलाई निर्देशन गर्ने हो । चरित्रले फिल्मलाई जीवन दिने होइन, फिल्मले चरित्रमा प्राण भरिदिने हो । कलाकारमा एकै खाले अनुभव मात्रै हुने भएकाले विविध पात्रको संवेदना उतार्न सम्भव छैन । नयाँ फिल्ममा कलाकारले पुरानै संवेदनाको पुनरावृत्ति गर्ने डरकै कारण ब्रेसोले गैरकलाकार मात्रै आफ्नो फिल्ममा खेलाए, कलाकारलाई दोहोर्‍याएनन् पनि । फिल्ममा ध्वनिको प्रयोगपछि सन्नाटा पनि अर्थपूर्ण बनेको अवधारणा राख्ने ब्रेसोलाई सिनेकर्मीले विश्वविद्यालय नै माने हुन्छ । तर कलाको उचाइलाई बुझेर संवाद गर्नुपर्छ । अरुको पद्धति बुझेर मात्रै आफ्नो मौलिकता बुझिन्छ ।

सांस्कृतिक बहुलतायुक्त नेपालमा सिनेमाले धेरै कुरा उत्खनन गर्न सक्छ । आदिवासी–जनजातिको शरीरमा रस सिद्धान्तले काम गर्छ ? सारेगम सिक्नु राम्रो हो तर पालाममा त्यो सहयोगी हुन्छ ? मेथड एक्टिङ हाम्रा लागि काम लाग्दैन भने नयाँ बाटो के हुन सक्छ ? आधुनिकीकरणका नाममा भएको पश्चिमाकरणले हाम्रा मौलिकतालाई मेट्दै छ कि !

प्रस्तुति : गुरुङ सुशान्त 

प्रकाशित: पुस ११, २०७५

ट्याग: किताब