बुलेट बाइक

- दुर्गा कार्की

मंसिर ०७५ ।

केही दिनदेखि ‘मोदी हारे’ ले नेपालको सामाजिक सन्जाल तातेको छ । भारतका प्रधानमन्त्री उनै छन्, उनका एक जना मुख्यमन्त्रीको चाकरीमा यताका मान्छे मर्यादाक्रम र स्वाभिमानको चेत मन्दिरमै चढाएर ‘तन डोले मन डोले’ गरिरहेका छन् । तापनि ‘मोदी हारे’ को कुराले नाकाबन्दीको चोट फेरि सम्झाएको छ र आफूलाई चोट लगाउने ढुंगो चर्किएकामा कमजोर मनहरु दंगदास परेका छन् ।

नाकाबन्दीताकाको एउटा घटनाको संस्मरण हो यो । तपाईंलाई हाँसो लाग्ला किनभने अहिले मैले पनि हाँस्दै नै पढेँ तर यो हास्यव्यंग्य होइन, संस्मरण नै हो । विशुद्ध संस्मरण ।

मलाई रमाइलो के सोचेर लागिरहेको छ भने त्यस दिनको मेरो डर र अहिलेको मोदीको डर कुन बढी होला ?

म त मेरा मावली दाइको बाइकबाट जसरीतसरी जोगिएँ, अहंकार र कट्टरताको द्रुतरेलबाट मोदी कसरी जोगिएलान् ?

मंसिर ०७२

म त्यति साह्रो कमजोर मान्छे त होइन, तर लिफ्ट माग्नेजस्तो दकस कुनै काम गर्न लाग्दैन । बाटोछेउ बसेर हरेक २/४ पांग्रेका अघि हात तेस्र्याउनु, त्यो पनि अधिकांशले त देखेको नदेख्यै गरेर हिँड्नुजस्तो बेइज्जत अरु केही हुन्न भन्ने भावना मनको कुनामा दुबोजस्तो जरा गाढेर बसिसकेको थियो । हुन त, कहिलेकाहीँ खलासीसँग कार्ड डिस्काउन्टका लागि ठाकठुकमा पनि सामेल नभइने होइन तर लिफ्ट माग्ने साहस कसैगरी जुटेन । तर नाकाबन्दीमा लिफ्ट नमागी धरै पाइनँ । झन् फेसबुक  र ट्वीटरमा ‘पछाडि खाली सिट राखेर हिँड्दै नहिँडौँ’ जस्ता अभियान चलेपछि मागे पनि नाइँ नभन्लान् भन्ने आशाले दुबोको जरा अलिकति कमलो बनाएको थियो । यही मौकामा मोदीलाई गाली गर्दै बटुलेको रिसको सदुपयोग गरेर दसैँअघि कनिकुथी चार–पाँचपटक लिफ्ट मागेँ । दसैँअघि/पछि जसरी पनि नाकाबन्दी खुल्ने मेरो ठम्याइ थियो किनकि त्यतिबेलासम्म मलाई मोदीको मुटु छैन भन्ने थाहा थिएन ।

तर नाकाबन्दी खुलेन । दसैँमा घर गएर मासुसितै लिफ्ट माग्ने आँट पनि खाइएछ । जे पनि बानी रहेछ । त्यसैमाथि कलेज नखुलेकाले दसैँ–तिहारबीचमा त्यति बाहिर निस्कन परेन । अझ चीनले उदारता देखाइदिएपछि केही समयकै लागि भए पनि बाटोमा गाडी बाक्लिए । लिफ्ट माग्ने साहस र आदत त नेप्से परिसूचकजस्तै स्वात्तै घटेर शून्यतिरै पुग्यो ।

त्यस दिन मामाघरमा ‘स्यानो’ पूजा थियो । मलाई पूजाको प्रसादभन्दा पनि अस्ति तिहारमा आउँदा आमाले बनाइदिनुभएको कोइले चुलोमा सिरानबाट हावा छिरेर माइजूले गरेको परिमार्जन हेर्नु थियो । हतारोले खीर पनि नकुरी अफिसतिर लागेँ । त्यसताका म एक टेलिभिजन कार्यक्रममा प्रस्तोताको काम गर्थें । एकान्तकुना जाने गाडी आउने छाँट नदेखेपछि समयको ख्याल राख्दै कान्तिपुर पक्डेँ । कलंकी पुल पुगेपछि ड्राइभर दाइले स्टार्ट बन्द गरे । अगाडि हेर्छु– आँखाले नभ्याउन्जेल जाम छ, इन्धनको लाइन बसेका गाडीको । त्यही बेला खलासी भाइले भाडा पनि उठाइहाले । केही समय कुर्दा पनि ड्राइभर दाइले स्टार्ट गर्ने छाँट नल्याएपछि १५ रुपैयाँको माया मारेर म ओर्लें । ’ब्ल्याकमा तेल हालीहाली हाम्रा लागि सास्ती खेपेर गाडी चलाइदिने’ हरुको महानताप्रति आत्मसमर्पण गर्दै मैले कार्ड डिस्काउन्टको नारा छाडेको धेरै भइसकेको थियो ।

कलंकीदेखि बल्खुसम्म गाडीहरुको बीचबीचबाट बडो कुशलतापूर्वक जाम छिचोल्दै कुदिरहेका स्कुटर र बाइकलाई टुलुटुलु हेर्दै हिँडेरै पुगेँ । ‘आ, कटा आइपुग्यो दुर्गा बुइनी ?’ भन्दै बिकु दाइ (क्यामेरापर्सन) को फोन पो आउँछ कि भन्ने डर छँदै थियो । सुनीता दिदी (मेकअप आर्टिस्ट) समयमै आइपुगेको भएदेखि कुरेको आधा घन्टा भइसकेको थियो । बल्खुबाट माइक्रो समातेर अफिस पुगेँ । धन्य, दिदी पनि जाममै अड्केर भर्खरै आइपुग्नुभएको रहेछ । लामो सास फेरेँ ।

मुखमा पोतपात गर्ने कार्यक्रमलाई आजै साविकभन्दा अलिक बढी समय लाग्यो । स्टुडियोमा बत्तीले धोका दिएर रेकर्डिङले पनि अल्मल्याइदियो । आफ्ना सामान थन्कोमन्को लाएर निस्किँदा त कीर्तिपुरको डाँडो झिलीमिली भइसकेछ । कुदेँ ।

साइकल आए, बाइक आए, कार आए, माइक्रो आएनन्, बस आएनन् । अरु बेलाझैँ टाउको फुटेर टेप टालेका तराई हुँदै जाने गाडीको समेत मुख देख्न पाइएन । अलिकति जाडोको महिना अनि धेरै मोदी र उनका समर्थकलाई सराप्दै गाडीकै बाटो हेरिरहेँ । आधा घन्टा कटिसक्यो, मरिकाटे आउँदैन । बरु बाको फोन आयो, ‘बत्ती आ’छ ?’

केही दिनअघि छोरी भेट्न आउँदा बत्ती नआएर १ बजेसम्म भात खान नपाएका बालाई बत्तीकै पीर थियो । बिहान पाँचै बजे फोन गरेर ‘भात पका’ भन्न थालेका थिए ।

‘आ, ह्याँ आधा घन्टा भइसक्यो कुरेको, एउटा गाडी आ’छैन, तपाईंलाई बत्तीको चिन्ता !’ मोदीहरुको रिस विचरा बामाथि पोखेँ ।

‘किन ढिला गरेकी त ? टाइममा निस्कनु पर्दैन ?’ बा पनि झर्किए ।

व्यर्थै भनेछुझैँ लाग्यो । कुरो मिलाएँ, ‘बत्ती नभा’सी मैले के गर्नी त ? मेरो हातको कुरो हो र ?’

रातबिखाँ, काठमान्डुको ठाम, केटी मान्छेजस्ता कुरा निकाल्न थालेपछि झन् दिमाग तात्यो । ‘लौ, अ‍ैले राखेँ, गाडी आयो, घर पुगेपछि फोन गर्छु ।’ फोन काटिदिएँ ।

अब भने लिफ्ट नमागी नहुने भो । दह्रो दिमागले कमजोर मनलाई सूचित गर्‍यो ।

भरिएको हो कि खाली नियाल्दैमा बाइक–स्कुटर कटिहाल्थे अँध्यारोमा । हात तेस्र्याउने त मौकै मिल्दैनथ्यो । कारमा लिफ्ट माग्ने त कल्पनै नगरे भइहाल्यो । त्यससम्बन्धी पनि मेरो आफ्नै तर्क थियो– दुईपांग्रेमा त नसोचेको केही भइहाले कराउँदा पनि हुन्छ, मान्छेले सुन्छन्, कारभित्र त ढोका थुनेको घरजस्तै भइहाल्यो, खतरा बढी हुन्छ ।

एक–दुई बाइक रोक्दा लगिदिउँलाजस्तो गरेर नजिकैबाट बिस्तारै गए । दिमागले रोक् रोक् भन्छ, हातले टेर्दै टेर्दैन । बाले फोन गर्ने बेला भइसक्यो । मन आत्तियो ।

‘थुक्क तेरो हुत्ती !’ दिमागले गाली गर्‍यो ।

जेसुकै होस्, रोके रोकोस्/नरोके नरोकोस् भनेर बिस्तारै आउँदै गरेको दुईपांग्रेका अघि स्वाट्ट हात तेस्र्याएँ। रोकियो । बाइक रहेछ ।

“काँसम्म जाने दाइ ?” टाढैबाट सोधेँ ।

“कलंकी । तपाईं काँसम्म ?” होचोहोचो–मोटेमोटे केटोले जवाफ दियो । बुलेट बाइक रहेछ । यो बाइक आफैँमा डल्लो हो कि चलाउने मान्छे, त्यति मेसो पाउँदिनँ । न मलाई यसको रुप मन पर्छ, न त आवाज । बाइकमध्ये सबभन्दा मन नपर्नेमध्ये एक यही हो । एक्सिडेन्ट भइहाले पनि ड्राइभरलाई बचाएर पछाडि बस्नेचाहिँ हुत्तिएर सीधै टाउको ठोकेर मरोस् भनेजसरी बनाइएको भीआर हो कि कुन्नि के जाति, त्यो पनि मन पर्दैन । आफैँ चलाउन नजान्नेले पछाडिको सिटको चिन्ता गर्नुपरेन ?

बल्लबल्ल रोकेको एउटा बाइक उम्कन दिने गल्ती मैले गर्न हुँदैनथ्यो । मलाई बालाजु पुग्नु थियो तर कलंकीबाट त गाडी पाइएला नि भन्ने लागेर यसैमा जाने निर्णय गरेँ । चढ्नै लाग्दा पो केही ह्वास्स गन्हाएजस्तो लाग्यो । गन्ध ठम्याउँदासम्म बाइक हिँडिसकेको थियो । लौजा ! रक्सी पो पिएको रहेछ । बेस्सरी थकथकी लाग्यो ।

रोक्दिनु भनौँ कि के गर्ने होला भन्ने सोच्न थालेकी के थिएँ, केटोले बाइक यसरी दौडायो, मेरो मुटुले ठाउँ छाडिहाल्यो । धन्न भुट्भुट्भुट् आवाजचाहिँ रहेनछ, नत्र आवाजैले ढलिसक्थेँ होला । समात्नलाई पछाडि हात लान्छु, केही पनि छैन बा  ! कस्तो झुर बाइकमा चढिछु  ! लौ, आजै रहेछ, क्यारे अन्तिम दिन !

फ्याट्ट भाइलाई सम्झेँ । राइस कुकरमा भात बसाइसक्यो होला विचराले ।

केही नपाएपछि त्यही सिटलाई नै दह्रो गरी समातेँ । हिजोदेखि थर्मसमा राखेर तातोपानी खान थालेकी मान्छे खुबै ‘प्रसाद हो क्यै हुन्न’ भन्ने माइजूको लहैलहैमा लागेर सेल–पुरी खाने भएकी सजाय हो भन्दै हावाले पनि गलबन्दीलाई नराम्ररी सेक्यो । आफूलाई एक हातले झोला र अर्को हातले सिट समात्दैमा फुर्सद छैन, गलबन्दी कसले समात्नु ? बाँच्न पाए रुघा भन्ने कुरोको त उपाय लाग्ला नि भन्दै सिटतिरको हात अझ दह्रो पारेँ ।

सानेपा आइपुग्दा पनि स्पीड कम हुने छाँट नदेखाएपछि भाइ र बाआमाका लागि भए पनि मैले एकपटक भन्नैपर्ने महसुस गरेँ । ‘दाइ, अलि बिस्तारै चलाउन मिल्छ ?’, ‘दाइ, प्लिज स्पीड कम गर्नोस् न !’, ‘दाइ, मलाई बेस्सरी डर लाग्यो !’ मध्ये कुन वाक्य सबैभन्दा उपयुक्त र प्रभावकारी हुन्छ भनेर विचार गर्दै थिएँ, ड्राइभर आफैँ पो बोले– ‘नडराउनुस् है, यो त मेरो नर्मल स्पीड हो ।’

राम ! राम ! नर्मल स्पीड ? सोध्न मन लागेको थियो– ‘कतिचोटि भाँच्यौ खुट्टो ?’ मौका छोपेँ, ‘ओहो दाइ ! मलाई त अत्ति डर लाग्यो । प्लिज, बिस्तारै चलाउनु न ।’

एक राउन्ड मज्जाले हाँसेपछि उनले भने, ‘लौ, डराउनुपर्दैन । छिटो पुग्नुपर्‍यो नि त, हैन ?’

आत्तिएर बोलेँ, ‘हैन, हैन, पुग्नुपरो । जतिबेला पुगे नि हुन्छ दाइ, पुग्न चैँ परो ।’

उनी अर्को राउन्ड हाँसे । ख्याँसख्याँसे खोकी लागेको रहेछ । एकछिन खोकेर बोले, ”तपाईंलाई म पुर्‍याइदिइहाल्छु नि, डराउनैपर्दैन ।”

यसबीचमा मैले के विचार गरेँ भने बोल्ने क्रममा उनी अलिक बिस्तारै चलाउँदा रहेछन्– आवाज सुन्न होला । मेरो दिमागमा फ्याट्टै आइहाल्यो– अब यसलाई गफै गरेर भुलाउनुपर्छ । हुन त, मैले फेसबुकमा लिफ्ट लिँदा ध्यान दिनुपर्ने कुराहरुमा पढेकी थिएँ, लिफ्ट लिएको अवधिभर सकेसम्म नबोल्नू, पर्सनल कुरा गर्ने काम त गर्दै नगर्नू भन्ने टिप्स । तर यहाँ ज्यानकै सवाल आइसकेपछि ती फेसबुके  टिप्सलाई मैले गोली मार्दिएँ ।

”यसरी त हस्पिटलसम्म पनि पुगिन्नजस्तो छ दाइ ।” मैले सक्दो नरम बनेर भनेँ ।

उनी फेरि मजाले हाँसे ।

”तपार्इंले स्पीड कम नगरे त म बल्खुमै झर्नुपर्लाजस्तो छ ।” म बोल्न छाडिनँ ।

”अरु बेला त म अझ बेस्सरी चलाउँछु । म कसैलाई लिफ्ट दिन्नँ नि । तपाईं त आज मैले फोन उठाएर भर्खर राख्न लागेको बेला पर्नुभो, नत्र मलाई कसैले रोक्नै सक्दैन ।” गर्वसाथ उनी बोले । हामी बल्खुको पुलसम्म आइपुग्यौँ, सकुशलै ।

“अँ, म पनि सितिमिति लिफ्ट माग्दिनँ । आज त आधा घन्टा कुर्दा पनि एउटा गाडी आएन, त्यही भएर ।”

“उता सातदोबाटोमा जाम छ नि । म त भित्रभित्र घुसेर पो आएको ।”

उसको स्पीड नै घटेको हो कि मलाई बोल्न थालेर त्यस्तो लागेको हो जान्दिनँ । तर डर अलिकति भए पनि घटेको चाहिँ साँचो हो ।

बल्खु नियालेँ । एउटा बस थिएन । लौ भगवान्, तिम्रै शरण ! भनेर अघि बढियो ।

“ए, मेरो एक जना दाइ पनि यस्तैगरी चलाउनुहुन्छ । म त उहाँको बाइकमा कहिल्यै चढ्दिनँ ।” मलाई फेरि उसको स्पीड बढेको हो वा मेरो एड्रिनलिन, कन्फ्युजन भयो ।

“हाहाहा । कुन कम्पनीमा काम गरेर आउनुभाको ?”

“ए, म ? आ...” भनौँ कि नभनौँझैँ गरेर भनेँ, “म हल्काफुल्का पत्रकार हो ।”

जमलको बुढो घर भूकम्पले भत्काइदिएपछि बल्खुको पक्की घरमा सरेको भाग्यमानी जनप्रशासन क्याम्पसनेर आएपछि खाली रोडमा मेरो हल्काफुल्का पत्रकारिताको खिल्ली उडाउँदै उसले बाइक बंग्याई–बंग्याई हाँक्न थाल्यो । पाइन्टको खल्तीमा घररर गरेको फोनले मुटुसम्मै कम्पन उत्पन्न गरायो । पक्कै बा होलान् । हे भगवान् ! त्यति आज बचाइदेऊ, अबदेखि लिफ्ट पनि माग्दिनँ, ढिलो पनि गर्दिनँ । मैले जागिरको वर्णन बीचैमा छाडेर भगवान् पुकारेँ । एकै ताल बासँग बोल्न पाए पनि कस्तो हुन्थ्योझैँ लाग्यो । पछाडि समातेको हात अररो भइसकेको थियो ।

“तपाईं यो कुरो त पत्रिकामा लेख्नुहुन्न नि हैन ? बाइकको नम्बरसम्बर त टिप्नुभा छैन नि ?”

हप्काको जस्तो पो गर्छ त ए गाँठे । मेरो सातो गयो । “हैन हैन । किन लेख्थेँ नि । तपाईंले यत्रो सहयोग गर्नुभाछ ।” सकेसम्म कमलो बनेँ ।

“बरु तपाईं लेख्नुस् न । खै, पेट्रोल पा’छैन । आज मात्रै ब्ल्याकमा ३ सय २० तिरेर ५ लिटर पेट्रोल हालेको । तपाईंहरुले विरोध गर्नुपर्‍यो नि ।”

“ए, म त पत्रिकामा काम गर्ने हैन नि । त्यही पनि यो कुरा पत्रकारको हातमा कहाँ छ र ?”

“जे भए नि तपाईं पत्रकार हो नि । तपाईंको ड्युटी हो नि । जनताले यस्तो दु:ख पाइरा’को छ, तपाईंले लेख्नुपर्‍यो नि !” पत्रकार नबोलेरै उसले एक लिटर पेट्रोललाई ३ सय हाल्नुपरेझैँ थर्कायो ।

कस्तो बेलामा पत्रकार भनिछु भनेर आफैँलाई एकछिन धिक्कारेपछि मैले कुरो मिलाएँ, “ए, त्यो त लेख्छु नि, लेखिराछु ।”

किन ढाँटिस् भनेर एक मनले हकार्नेबित्तिकै अर्को मनले सपोर्ट गर्‍यो– पत्रिकामा नभए पनि फेसबुकमा त लेखिराकै हो । त्यो पनि पत्रकारिताभन्दा के कम छ ? हिजोआज त फेसबुकेहरु सबै पत्रकार ।

खसीबजार पुगेपछि उसले फेरि बाइक नराम्रोसँग बंग्यायो । मैले तुरुन्तै गफ सुचारु गर्नुपर्ने आवश्यकता देखेँ, “जे भए पनि तपाईंले स्पीडचाहिँ अलिकति कम गर्नुपर्छ कि दाइ ?”

उसले फेरि एक राउन्ड मीठो हाँसोसहित भन्यो, “यो त मैले त्यति खाएको छैन । खाएको बेलामा त झन् बढी हुन्छ । आज एउटा साथीको बिहेको पार्टी थियो, त्यसैमा खाएको । अब कलंकी गएर बानेश्वर जानु छ फेरि, अर्को साथीको बिहेमा । मेरो फेन्सी पसल छ नि कलंकीमा ।”

“ए, आजकाल मापसे चेक गर्दैन ट्राफिकले ?”

“बसको हुटहुटभरि मान्छे देख्दा त केही गर्दैन, के गर्छ ट्राफिकले ? म त दुई महिनापछि अस्ट्रेलिया जाँदैछु । भिसासिसाको काम भइरा‘छ । मेरो मिसेस अस्ट्रेलिया छ नि त । यहाँ भइन्जेल इन्जोई गर्नुपर्‍यो नि । नेपालमा बसेर क्यै काम छैन हेर्नुस् । बरु तपाईं पनि उतै गएर पत्रकारिता गर्नुस् । के रे, बीबीसी–सीबीसीमा पाइहाल्छ नि ।”

यसपालि खित्का छाड्ने पालो मेरो थियो । तर आवाज दबाएर सकेसम्म बिस्तारै हाँसेँ ।

“लौ, झन् मिसेस अस्ट्रेलिया भएको मान्छे, यसरी इन्जोई गर्दा एक्सिडेन्ट भयो भने के गर्ने नि ?” उसकी श्रीमतीको हात समातेर म टाठिएँ ।

“धेरै भाको छैन, अस्ति तिहारमा त एक्सिडेन्ट भाको ।” उसले निर्धक्क भएर भन्यो । उसकी श्रीमती विचरी पहिल्यै पराजित पो रहिछे !

“म यतै ओर्लनुपर्ला दाइ । तपार्इं उता कालीमाटीपट्टि हो कि ?” मैले तात्तो लगाएँ । मेरो मानसिकता बुझेछ क्यारे, ऊ फेरि गललल्ल हाँस्यो । त्यो बाटोभरि मनलाई ढाढस दिने केही थियो भने त्यो उसको हाँसो मात्र थियो ।

“त्यतै पारि हो, मेरो पसल । तपाईं त्यहाँबाट गाडी चढेर जानुस् । मैले अरुलाई दिन्थिनँ, तपाईं लक्की भएर पाको ।” बडो गम्भीर पारामा उसले ’जोक अफ दी डे’ सुनायो ।

आफूलाई कहिले ओर्लौं भएकै बेला ट्राफिक अंकलले पनि हात तेर्साएर मरे । त्यही हात तेर्साउनाले आज आफ्नो झन्डै हृदयघात भएन । एउटै चीजको कति थरी काम त ?

छिनमै हामी रोकिएकै वरिपरि अरु बाइक थुप्रिए । ऊ कहिले उभिएर मुन्टो तन्काउने त कहिले एक्सिलिरेटर घुमाएर अहिल्यै उडाउलाझैँ भुड्मभुड्मभुड्म पारिरहँदा मेरो छेवैमा पछाडिको सिट खाली भएको, सोझोजस्तो देखिने मान्छेको बाइक आएर रोकियो । मलाई यो बाइकबाट फुत्रुक्क हाम फालेर त्यसैमा चढौँ–चढौँजस्तो लाग्यो । आफ्नै बेवकुफीपन सम्झेर हाँसेँ ।

ट्राफिकको हात कुर्दै गर्दा उसले फेरि सोध्यो, “तपाईंको कास्ट के नि  ? बाहुन त होइन नि ?”

“क्षत्री ।” मैले छोटो उत्तर दिएँ । बाहुन भए सीधै कुटुँलाझैँ उसले सोधेको तरिका हेर्दा त बाहुनै भए पनि अर्थोक भन्थेँ हुँला ।

“कुन क्षत्री ?”

“कार्की ।”

“ए, म थापा हो ।”

“मेरा मावली हुन् थापाहरु ।”

“ए, दाजुबैनी पो परिएछ ।”

अघिदेखि के भनिराखेका थियौ त ? मनमनै मात्र भनेँ । बाहिर त केही पनि भनिनँ किनकि मलाई ओर्लनै हतार थियो ।

“यही अगाडिको हो मेरो पसल ।” उनले पसल देखाउनुअघि नै म बाइकबाट ओर्लिसकेकी थिएँ ।

“ल, थ्यांक यु है !”

मैले “ल दाइ, धन्यवाद है” भन्नुभन्दा पहिले नै पो भने । कहिलेकाहीँ झुक्किन्छ भनेर दायाँबायाँ नसोची हात पनि नतन्काइकन सीधै बस रोकिराखेतिर दगुरेँ । खलासीले अन्तिमको सिटमा गएर बस्न उर्दी दियो । बस्नेबित्तिकै लामो सास फेरेर भगवानलाई धन्यवाद दिएँ । सँगै कामना पनि गरेँ– हे प्रभु, यो केटोलाई सकुशलै चाँडोभन्दा चाँडो अस्ट्रेलिया पठाइदेऊ ।

झट्ट अर्को थोक पनि सम्झेर हत्तपत्त आँखा चिम्लिएँ– अनि कोही पनि आज म भएजस्तो लक्की नहोस् ।

प्रकाशित: पुस ११, २०७५

ट्याग: संस्मरण