एक्ला पात्रहरूको कहानी

पुस्तक : धम्बोझी | लेखक : सरोजराज अधिकारी | प्रकाशक : सांग्रिला बुक्स | पृष्ठ : २५२ | मूल्य : ३५८ रुपैयाँ

- जनक नेपाल

नेपालगन्जको मुख्य चोक धम्बोझीलाई लोकतान्त्रिक आन्दोलनअघि वीरेन्द्र चोक भनिन्थ्यो । आन्दोलनकारीले त्यहाँ राजा वीरेन्द्रको पूर्ण कदको सालिक ढालेपछि चोक पुरानै नाममा फर्कियो, धम्बोझी । ०६३ पुसमा मधेसी–पहाडी दंगा भड्किएर त्यसले मधेस विद्रोहको आधार बनाइदियो । त्यसले मधेसी समुदायमा ल्याएको जागरणको तरंगलाई नै सरोजराज अधिकारीको उपन्यास धम्बोझीले समाएको छ ।

पहिलो मधेस आन्दोलनको उद्गमथलो नेपालगन्जमा विकसित राजनीतिक उतारचढाव र मधेस मुद्दामाथि लेखिएको धम्बोझीमा लेखकले नागरिकताविहीन मधेसी, मुस्लिम र वादी समुदायको संघर्षलाई मूलकथा बनाएका छन् । उपन्यास झट्ट हेर्दा नागरिकता प्राप्तिको संघर्षको कथाझैँ लाग्छ । पञ्चायत विरोधमा लाग्दा अराष्ट्रिय तत्त्व भनेर रत्नेश र विमलेशका बुबा अमरेन्द्रको नागरिकता खोसिएको हुन्छ । प्रशासनले अमरेन्द्रलाई उनकै भाइले फसाएको भ्रम फैलाएर उनीहरुबीच दुस्मनी पैदा गरेको हुन्छ । जेलबाट छुटेसँगै अमरेन्द्रको निधन हुन्छ । कानुनी अड्चन झिकेर उनका छोराहरु रत्नेश र विमलेशले नागरिकता पाउँदैनन् ।

नागरिकता पाउन सशस्त्र विद्रोहमा लागेको रत्नेश मारिन्छ । कानुनी लडाइँ लडेर अधिकार प्राप्त गर्ने विमलेश समाज रुपान्तरणका लागि राजनीतिमा होमिन्छ । तर उपकथाहरुले उपन्यासको मूलकथालाई नै बारम्बार ओझेल पार्छन् । विक्रम, आयरा, फारुक चाचा, विष्णे, सन्तमान, पारोदेवी, बैजनी, ध्रुव दाइका बिल्कुलै भिन्न उपकथाहरुले उपन्यासलाई नयाँ–नयाँ स्वादले भरिएको कथासंग्रह बनाइदिएको छ ।

संविधानले सबैलाई समानताको हक दिए पनि समाजमा विभेद कायमै भएको प्रमाण हो, बाहुनकी छोरीसँग बिहे गर्न गएको दलित विष्णेको जन्ती रित्तै फर्किनु । विष्णेका गाउँले भन्छन्, ‘कागजमा लेखेर बराबरी हुने भए समाज किन चाहिन्थ्यो ?’

तर केही अविश्वासिला पात्रलाई लेखकले ठूलो भारी बोकाएका छन् । जस्तै, टोले गुन्डा ग्याङले विमलेशलाई नागरिकता र अधिकारको संघर्षमा सघाउँछ । उनलाई कर गरेरै राजनीतिमा तान्छ । ग्याङ पनि मधेसी, जनजाति, दलित र ठकुरी समेटिएको बडो समावेशी छ । अनि, त्यही गुन्डा ग्याङबाट समाज रुपान्तरणको गहन अभिभारा पूरा गराउन उपन्यासकार उद्धत देखिन्छन् ।

ग्याङका नाइके हो, विक्रम । मधेसीप्रति हेपाहा स्वभाव छ उसको । डीआईजीका साला, नगर प्रहरी सईका ‘विक्रम दाजु’ । उही विक्रम हाबी हुँदै अन्तिममा मधेस राजनीतिको ठूलै अभियन्ता बन्छ । प्रेम र राजनीतिबारे गहकिला दर्शन छाँट्छ । विमलेशको राजनीतिक उदयको पर्दा पछाडिको नायक ऊ नै बन्छ । ऊ कविता लेख्छ, सायराको नाममा आदिल लतातुम अर्थात् निष्ठावान विद्रोही ।

धम्बोझीमा मधेसी, मुस्लिम, दलित पात्रहरु छन्  । उनीहरु एक्लाएक्लै छन् । तर साथमा समाजको कथा छैन । सामाजिक परिवेशको चित्रण नहुँदा उपन्यासका उपकथा र घटनाक्रम समाचारजस्ता लाग्छन् । पठनीय भए पनि तिनले पाठकको मस्तिष्कमा समाजको चित्र उतार्न सक्दैनन् । मधेस मुद्दा र राजनीतिको कथालाई सरस बनाउन लेखकले आधा दर्जन व्यक्त–अव्यक्त प्रेमकथा घुसाएका छन् ।

मीठो भाषाको बलमा चरित्र स्थापित छन् । ‘अब्बे’, ‘बगालौ’, ‘बड्डा’, ‘चौथी फेल’ जस्ता स्थानीय लबजले संवादलाई जीवन्त बनाएका छन् । छिसमिसे र शुद्ध अवधी लबजले भाषामा पक्का नेपालगन्जिया स्वाद छ । समाचार विश्लेषण, कथा र कवितामा रहेका आफ्ना लेखकीय खुबीलाई अधिकारीले उपन्यासमा प्रस्तुत गरेका छन् ।

सामाजिक तथा राजनीतिक मुद्दाप्रेरित उपन्यासमा अपराध कथा पनि उत्तिकै छन् । पाठकलाई छुने पात्र रत्नेश होस् वा काकाका छोरा मिथलेशको हत्या रहस्यमै रहन्छ । नक्कली भारु नोट कारोबारीको आरोपमा ‘करेन्सी किङ’ भन्दै जुनैदको हत्या हुन्छ, उनका १५ वर्षीय छोरा भारतीय सुरक्षाकर्मीबाट बेपत्ता पारिन्छन् ।

यस्तो लाग्छ, लेखक नेपालगन्जवरपर बितेको एक दशकका सानाठूला घटनालाई उपन्यासमा उतारिरहेका छन् । सत्यकथा लाग्ने घटनालाई नाम फेरेर लेखेका छन् । उपन्यासको उत्कर्ष झन् फिल्मी छ । विक्रम ग्याङसँग लामो उठबस रहेका सई दानबहादुरले मिथलेशको रहस्यीमयी हत्यामा उनीहरुलाई नै फसाउँछ र उपन्यास सकिन्छ ।

उपन्यासभित्र व्यक्त विचारले पात्रहरु सशक्त लाग्छन् । उत्पीडित समुदायको आँसु पानापानामा पोखिएको छ । तर तिनको जमिन भने भेटिँदैन । मधेसको सामाजिक परिवेश उतार्न नसक्दा धम्बोझी सुन्दर मधेस साहित्य बन्न चुकेको छ । यो देहात वर्णनबिनाको एक्ला पात्रहरुको कहानी बनेको छ ।

प्रकाशित: पुस ११, २०७५

ट्याग: पुस्तक