जस्तो उद्देश्य, त्यस्तै सदस्य

- खगेन्द्र प्रसाईं

मंसिर १६ बाट नेपाल  म्यागजिनमा ‘कस्तो पार्टी, कस्ता कार्यकर्ता’ भन्ने विषयमा उच्च महत्त्वको मन्थन सुरु भएपछि तीन लेखकका विचार आइसकेका छन् । यसै सन्दर्भमा यस लेखमा पूर्ववर्ती तीन लेखका दाबीको संक्षिप्त समीक्षा गर्दै आफ्ना धारणा राखिनेछ ।

शृंखलाको बहस–१ दुर्भाग्य नबनून् कार्यकर्ता मा विष्णु सापकोटाले शीर्षककै आशयसँग मिल्ने गरी आजको नेपाली समाज, शासन र राजनीतिका मुख्य समस्याको रूपमा राजनीतिक पार्टीका उपउत्पादन कार्यकर्ता भएको जिकिर गर्नुभएको छ । उहाँको तर्क छ– आजका राजनीतिक कार्यकर्ता आधारभूत रूपले आर्थिक स्वार्थबाट निर्दिष्ट परजीवी हुन् ।

नि:सन्देह राजनीतिक नेता/कार्यकर्ताको एउटा उल्लेख्य हिस्सामा यस्तो चरित्र छ नै । तर उत्तिकै महत्त्वपूर्ण कुरा हो– किन यस्तो हुन्छ ? एउटा सरल समाजशास्त्रीय दाबी के गर्न सकिन्छ भने यस्तो प्रवृत्तिलाई समाजको आधारभूत संरचना र त्यो संरचनाले निर्माण गर्ने व्यक्ति र संस्थाको विश्लेषण गरेर मात्र बुझ्न सकिन्छ । यसकारण नेपालको सन्दर्भमा भन्ने हो भने बेलगाम नवउदारवादी पुँजीवादले ल्याउने नैतिक र सामाजिक भ्रष्टीकरणलाई नजरअन्दाज गरेर दल, नेता–कार्यकर्तामा ल्याउने भ्रष्टीकरण बुझ्न सकिँदैन । यस्तो भ्रष्टीकरण नेपालमा मात्र होइन, संसारभरिका राजनीतिक दलमा छ । अमेरिकादेखि भारतसम्मका दलहरूलाई यसले अठ्याएको छ, कतिपय सन्दर्भमा त नेपालमा भन्दा शक्तिशाली ढंगले । पुँजीवादीलाई ठीक मान्ने तर त्यसले अनिवार्य रूपले व्यक्तिमा निर्माण गर्ने निजी स्वार्थवाद र त्यसअनुकूल व्यवहारलाई समस्या मान्ने कुरा स्वयंमा विरोधाभाषपूर्ण हुन्छ ।

पार्टी भ्रष्टीकरण निवारणको उपायका रूपमा अरू कैयौँले जस्तै सापकोटाले राजनीति सेवा हुनुपर्ने र बनाइनुपर्ने मत राख्नुभएको छ । उहाँ यसलाई चर्चै गर्नु नपर्ने गरी सर्वमान्य र शाश्वत मान्यता मान्नुहुन्छ । तर म के मत राख्छु भने राजनीति जनताको सेवा हो भन्ने मान्यता नै अलोकतान्त्रिक र प्रभुवादी हो । यसले नागरिकलाई सेवा दिने र लिने दुई विपरीत समूहमा बाँड्छ । सेवा दिने महान्, प्रभु, मालिक, परोपकारी, पूजनीय इत्यादि हुँदै जान्छ र सेवा लिने विचरा, दु:खी, परजीवी, मगन्ते बन्दै जान्छ । अघिल्लो स्वभावैले बलियो बन्छ भने पछिल्लो कमजोर । यसले मान्छेको समान नागरिक बन्ने प्रक्रियालाई निषेध गर्छ ।

सापकोटाले लोकतन्त्रले राम्रोसँग काम गर्दा कसरी समाजसेवा राजनीतिको चरित्र बन्छ भन्ने प्रमाणको रूपमा अमेरिकाका बाराक ओबामालाई देखाउनुभएको छ । तर यो उदाहरण दिँदै गर्दा सापकोटा या अमेरिकाका राजनीतिक पार्टी र नेताको भ्रष्टीकरणका भीमकाय तथ्यप्रति अनभिज्ञ हुनुहुन्छ या तिनलाई बेवास्ता गरिरहनुभएको छ । ओबामाकै कुरा गर्दा उनी ठूला पुँजीपतिको सहयोगमा राष्ट्रपति भए र आफ्नो कार्यकालमा तिनको खुब सेवा गरे । उनीहरूका ठगी र आपराधिक क्रियाकलापबाट तिनीहरूलाई बचाए । पद समाप्तिपछि तिनै कम्पनीबाट स्पीच फीका नाममा यति ठूलो रकम हात पार्छन् कि ४० मिनेटको शुल्क राष्ट्रपति हुँदाको एकाध वर्षको तलब बराबरको हन्छ । राजनीति सेवा हो/हुनुपर्छ भन्ने कुराका उदाहरण होइनन् ओबामा ।

बहस मा भास्कर गौतमले हालको राजनीतिक भ्रष्टीकरणको जडसम्म पुग्नुपर्ने आग्रह राख्नुभएको छ । तर यस्तो प्रयत्नमा गौतमले ००७ पछि राजनीतिक परिवर्तन भए पनि वर्चश्वशाली शक्ति–सम्बन्धमा परिवर्तन भएको छैन भन्ने गैरऐतिहासिक मान्यता राख्नुभएको छ । ००७ पछि जति संरचनागत परिवर्तन भए, ती सँगसँगै शासक वर्ग, त्यसको बनावट र चरित्र फेरिँदै गएको हो । यस अर्थमा सत्ता स्थायी थिएन । त्यस्तै, गौतमले भनेजस्तो आजका दल र दलका कार्यकर्ताले यस्तो अपरिवर्तित सत्तास्वार्थ रक्षा गरेका होइनन् । बरु आजको पुँजीवादको पुँजीको स्वार्थ र त्यसको संरक्षक बनेको सत्ताअनुकूल व्यवहार मात्र गरेका हुन् । सत्ताको स्वयंमा स्वार्थ हुँदैन । त्यसले कुनै आर्थिक स्वार्थको प्रतिनिधित्व गर्छ । 

कार्यकर्ताहरू दासत्वबाट उम्कनुपर्छ भन्ने गौतमको माग क्रान्तिकारी नै छ । तर कस्तो सामाजिक र पार्टीगत संरचनामा दासत्व हुर्कन र स्थापित हुन सम्भव हुन्छ भन्ने कुरा अधिक महत्त्वपूर्ण विषय हो । साथै, गौतमले वैचारिक दासत्वलाई ठूलो समस्या मान्नुभएको छ । मलाई लाग्छ– जहाँसम्म आजका पार्टी र तिनको सदस्यको कुरा छ । समस्या वैचारिक घेराका कारण होइन, बरु ठीक विपरीत विचारशून्यता या विचारहीनताबाट जन्मिएको हो । त्यसकारण हरेक दल र त्यसका सदस्यले वैचारिक स्पष्टता हासिल गर्नु र त्यसमा प्रतिबद्ध रहनु समाधानको अनिवार्य अंश हो ।

बहस मा जुगल भुर्तेलको लेख दल र कार्यकर्ता हालको अवस्थामा किन पुगे भन्ने कुरामा केन्द्रित छ । भुर्तेलले भनेझैँ पार्टीको समाजसँग सम्बन्धविच्छेद भएको र पार्टीका टाउका बढी रोगाएको कुरा इन्कार गर्न सकिँदैन । तर पार्टीलाई यस्तो ठाउँमा पुर्‍याउने कुनै सामाजिक र आर्थिक शक्ति छ कि भनेर घोत्लिनैपर्छ । दल भ्रष्टीकरणलाई केवल नेताका निजत्वमा मात्र बुझ्नुहुँदैन । आजका धेरै नेता समर्पण र संघर्षको लामो यात्राबाट आएका हुन् । यिनीहरू आज जस्ता छन्, त्यस्ता किन छन् भन्ने प्रश्न आजको संरचनामा राखेर मात्रै ठीकठाकसँग अनुसन्धान गर्न सकिन्छ । हालका पार्टीगत समस्याको समाधान खोजी गर्दै भुर्तेल पार्टीमा साधारण सदस्यको संख्या र शक्तिको व्यापक विस्तार गरे पार्टी नवीकरण र शुद्धीकरणमा योगदान पुग्ने तर्क राख्नुहुन्छ । भुर्तेलको तर्क छ– आफ्नो व्यवसायमा व्यस्त रहने साधारण सदस्यलाई मुलुकको प्रगतिबाहेक अन्य अपेक्षा हुँदैन । भुर्तेलको यो सिफारिस हेगेलको त्यो सिद्धान्तमा आधारित देखिन्छ, जसअन्तर्गत व्यक्ति एकातर्फ राजनीतिक समुदायको सदस्य हुन्छ, जहाँ ऊ सार्वजनिक जीवन बाँच्छ ।

अर्कातर्फ ऊ नागरिक समाजको सदस्य हुन्छ र निजी हितको कारोबार गर्छ । तर वास्तविक जीवनमा यी दुई समाज अलग हुँदैनन् । प्रत्येक व्यक्तिका व्यवसाय र पेसासँग जोडिएका स्वार्थ र आकांक्षा हुन्छन्, जसको सबैभन्दा प्रभावकारी दाबी र व्यवस्थापन राजनीतिमार्फत नै गरिन्छ । गर्न सकिन्छ । परिणामस्वरूप, राजनीति प्रभावित भइहाल्छ । त्यस्तै, साधारण सदस्यले क्रियाशील सदस्यको छनोट गरे संगठन ठीकठाक हुन सक्ने भुर्तेल ठान्नुहुन्छ । तर राम्रो क्रियाशील सदस्य छान्न साधारण सदस्यहरू पनि निरन्तर क्रियाशील रहनुपर्छ नै । त्यसपछि व्यवहारत: सबै क्रियाशील भइरहने भए । आजको समस्याको समाधान दुईखाले सदस्यताको प्रावधानबाट होइन, पार्टीमा लोकतान्त्रिक प्रक्रिया र संस्कृतिलाई स्थापित र अभ्यास गरेर मात्र गर्न सकिन्छ ।

अब चर्चा गरौँ– कस्तो पार्टी, कस्ता कार्यकर्ता भन्ने प्रश्नको । पार्टी कस्तो र कार्यकर्ता कस्ता हुने कुरा सामान्यकृत र विश्वव्यापी हुँदैन । यो कुरा निर्णायक रूपले पार्टीको लक्ष्यमा भर पर्छ । पार्टीको लक्ष्य पुँजीवाद भए त्यसको संगठन प्रणाली र सदस्य सोहीअनुसारको हुन्छ र हुनैपर्छ । पुँजीवादी सिद्धान्तअनुसार लक्ष्य निजी हित भएपछि व्यक्ति पार्टी या स्वयंका निजी हित वा अरूका निजी हितका प्रवद्र्धनमा  लाग्छ । यदि निजी हितको प्रवद्र्धन गर्नु मानव प्रकृति हो भने त्यसलाई त्यागेर अरूको हित प्रवद्र्धन गर्ने कुरा नि:सन्देह अप्राकृतिक हो । त्यसो भएपछि पुँजीवादी पार्टी र त्यसको सदस्यबाट सामूहिक हितको अपेक्षा गर्नु असैद्धान्तिक हुन्छ । निजी स्वार्थ केन्द्रमा हुने पुँजीवादी पार्टीमा सोही स्वार्थअनुकूलका नियम संरचना, सदस्य र उनीहरूका प्रवृत्ति तथा व्यवहार हुन्छन् । हुनुपर्छ । पुँजीको आर्जन लक्ष्य बनाउनु, पुँजीको सेवा गर्नु, त्यसबाट सेवित हुनु नै पार्टी सदस्यका कर्तव्य र अधिकार हुन्छन् । सामूहिक हितमा आधारित सहकार्य र नैतिकता अस्वस्थ र अप्राकृतिक हुन्छन् । अन्तरपार्टी प्रजातन्त्र आलोचनात्मक जागृति अनावश्यक मात्र होइन, हानिकारक नै हुन्छन् । पार्टीभित्र आलोचनात्मक जागृतिका साथ बहस सुरु भएपछि सामूहिक र पर्यावरणका हित केन्द्रमा आउँछन्, जो पुँजीवादी प्रणालीको पुँजीका लागि प्रतिकूल हुन्छ । पुँजीले आम लोकतन्त्र र पार्टी लोकतन्त्रलाई कमजोर पार्ने या निस्तेज गर्ने प्रवृत्ति राख्छ । पुँजीले लोकतन्त्रलाई बढीमा कर्मकाण्डीय राख्न जोड गर्छ । लोकको हित र पुँजीको स्वार्थमा समाधानै गर्न नसकिने अन्तरविरोध हुन्छन् । जब लोक बोल्छ, त्यसले सामाजिक, आर्थिक जीवनका तमाम विषयलाई आफ्ना हितअनुकूल पार्न चाहन्छ र पुँजीलाई पनि आफ्नो सार्वभौमिकताको अधीनस्थ राख्न चाहन्छ । उता, पुँजीले भने लोकबाट स्वतन्त्र आफ्नो स्वेच्छाचारिताको माग गर्छ । त्यसकारण पार्टीका लागि एकैसाथ पुँजीवादी र लोकतान्त्रिक हुने कुरा तनावपूर्ण अवस्था हो । सारमा पुँजीवादी पार्टीमा लोकतान्त्रिक चरित्र, सामूहिकता, नैतिकता र आलोचनात्मक प्रवृत्ति हुँदैनन् र हुन सक्दैनन् ।

अब कुरा गरौँ– भिन्नै खाले अर्थात् समाजवादी लक्ष्य भएका पार्टीको । समाजवादी लक्ष्यले कस्तो पार्टी र कस्ता सदस्यको अनिवार्य माग गर्छ ? समाजवाद यस्तो सामाजिक अवस्था हो, जसमा स्वतन्त्र रूपले सामाजिकतामा आबद्ध मान्छेले जीवनका तमाम विषयको निर्णय सामूहिक रूपले गर्छन् । यसर्थमा समाजवाद र लोकतन्त्र पर्यायवाची हुन् । निजी स्वार्थ र सामूहिकताबारे समाजवादका दुई मुख्य प्रस्थापना छन्– एक, व्यक्तिको निजी हित सामाजिक अवस्थाबाट अलग नितान्त निजी अस्तित्वमा हुँदैन । ती सामाजिक हुन्छन् या सामाजिक अवस्थामा जन्मिन्छन् र हुर्किन्छन् । दुई, सिद्धान्तत : एउटा यस्तो सामाजिक अवस्था सिर्जना हुन सम्भव छ, जहाँ निजी हित र सार्वजनिक हित अन्तरविरोधी होइनन्,  एकअर्काका परिपूरक र एकअर्कामा एकाकार हुन्छन् । माक्र्सका शब्दमा, समाजवाद एउटा यस्तो व्यवस्था हो, जहाँ सबैको स्वतन्त्र विकास मूल सर्त हुन्छ । अर्थात्, समाजवादी लक्ष्य र त्यस्तो लक्ष्य भएको पार्टीमा मात्रै सामूहिक हित तथा सामूहिक नैतिकता सम्भव र आवश्यक दुवै हुन्छ ।

माक्र्सवादी समाजवादको एउटा विशिष्टता के हो भने यो स्वमुक्तिको सिद्धान्त हो, जसअुनसार पीडित वर्गले आफ्नो मुक्तिको अभियान आफैँ चलाउनु र आवश्यक संगठन, सिद्धान्त र आन्दोलन  उसैले निर्माण गर्नु । स्वमुक्तिको तमाम अभियानले मुक्ति खोज्ने वर्ग तथा पार्टी सदस्यमा स्वमुक्तिको सिद्धान्तसँग उपयुक्त र संगतिपूर्ण हुने खास क्षमता र प्रवृत्तिको अनिवार्य माग गर्छ । एउटाले अर्काको मुक्ति गरिदिने सिद्धान्त अर्थात् परमुक्तिको सिद्धान्तमा मुक्ति लिने व्यक्ति, समूह या वर्गलाई खास क्षमताको आवश्यकता पर्दैन । पीडित वर्गले मुक्ति ग्रहण गर्न जाने पर्याप्त हुन्छ । तर स्वमुक्तिको अभियानमा व्यक्ति र संघमा केही महत्त्वपूर्ण क्षमता आवश्यक पर्छ, जसमध्ये एउटा हो– ज्ञान क्षमता । माक्र्सका अनुसार दर्शन या ज्ञान सर्वहाराको बौद्धिक हतियार हो भने सर्वहारा वर्ग दर्शनको भौतिक हतियार । माक्र्सको जोड थियो– सर्वहारा वर्गको बहुसंख्या र संगठनलाई ज्ञानले नेतृत्व गरेपछि मात्र क्रान्तिको सफलताको सर्त पूरा हुन्छ । यस मान्यताले माक्र्सवादी समाजवादी पार्टी ज्ञानीहरूको हुनुपर्ने कुराको माग गर्छ । यस्तो पार्टी ज्ञानमा विश्वास गर्ने, निरन्तर ज्ञान उत्पादन, ग्रहण र आदानप्रदानमा लागिरहनेको हुनुपर्छ । तर सबै ज्ञान मुक्तिका सहायक तथा उपयोगी हुँदैनन् । मानव ज्ञानको ठूलै हिस्सा अन्धविश्वासी, झूटो र दमन तथा शोषणको पक्षपाती थियो र छ । वैज्ञानिक ज्ञान मात्र मुक्ति अभियानमा सहायक र उपयोगी हुन्छ । आफूलाई समाजवादी मान्ने जवाहरलाल नेहरुले नागरिकमा वैज्ञानिक मनोवृत्ति हुनुपर्ने कुरामा ठूलो जोड दिन्थे । भारतको संविधानमा वैज्ञानिक मनोवृत्ति र खोजचेत राख्नु नागरिकको आधारभूत कर्तव्यभित्रै पर्छ ।

वैज्ञानिक मनोवृत्तिका थुप्रै अंग हुन्छन् । त्यसमध्येको महत्त्वपूर्ण अंग हो, आलोचनात्मक चेतना । यस्तो चेतनाले कुनै दाबी, सिद्धान्त या मान्यताको मूल्यांकन अर्थात् त्यसलाई स्वीकार्ने या अस्वीकार्ने कुरा तथ्य र तर्कका आधारमा मात्र गर्छ । आजभोलि ज्ञानको यस्तो प्रक्रियालाई संवाद या डिस्कोर्स पनि भनिन्छ । माओ, जो अधिनायकवादीको रूपमा आलोचित र निन्दित भए, स्वयंले पनि ‘पुस्तक पूजाको विरोध गरौँ’ भन्ने अभियानमा तथ्यको पर्याप्त तयारी नगरी छलफलमा भाग लिने पार्टी सदस्यलाई बोल्नबाट वञ्चित गर्नुपर्ने कुरालाई तार्किकताका साथ जोड दिएका थिए । माओ भन्थे– जसले तथ्यहरूको तयारी नगरी बोल्छ, त्यसले अर्थहीन कुरा गर्छ । अर्थहीन कुराले समस्याको समाधान गर्दैन ।

आलोचनात्मक चेतनाका दुई मुख्य आयाम हुन्छन् । एक, व्यक्तिमा वैज्ञानिक बोध क्षमता र तर्क शक्ति । दुई, यस्तो क्षमता अभ्यास र विकास हुने सामाजिक र सांगठनिक संरचना । असमान सामाजिक संरचनाले आलोचनात्मक चेतनालाई दमन र दुरुत्साहित गर्छ । त्यस्तो संरचनामा आलोचनात्मक चेतना एउटा विद्रोह हुन्छ र त्यसका लागि ठूलो साहस आवश्यक पर्छ । खास किसिमको शक्ति संरचना मात्र आलोचनात्मक चेतनाका लागि उपयुक्त हुन्छ । सबै मानिस समान हुने या हुने प्रयत्नमा रहने समाजवादी अवस्थाले मात्र आलोचनात्मक चेतनालाई आफ्नो आवश्यकता ठानी संरक्षण र प्रोत्साहन गर्छ । अर्थात्, आलोचनात्मक चेतना समाजवादी संघलाई मात्र आवश्यक हुन्छ  । समाजवादी संघमा मात्र त्यस्तो चेतना सम्भव हुन्छ । पुँजीवादी समाजमा पुँजीको केन्द्रीकरण र त्यसबाट उत्पत्ति हुने संरचनात्मक असमानता त्यसको नैसर्गिक विशेषता हुन्छ, आलोचनात्मक चेतनाको ठाउँ लगभग हुँदैन । यो विद्रोही या फरक मतका रूपमा मात्र अभिव्यक्त हुन सक्छ ।

कतिपय समाजवादीहरू के तर्क गर्छन् भने समाजवाद साध्य हो । समाजवाद साध्य भएको पार्टी साधन मात्र हो र त्यसले आफ्नो आन्तरिक जीवनमा समाजवादी सिद्धान्त अभ्यास गर्न सक्दैन । कतिपय ऐतिहासिक सन्दर्भमा पार्टीमा समाजवादी विधि र संस्कृति अभ्यास गर्ने कुरामा केही सीमा भने हुन्छन् । तर बुझ्नैपर्ने कुरा के हो भने पार्टी साधन मात्र होइन । समाजवादी संघ, मानिसको संघ भएकाले केवल साधन रहन सक्दैन किनकि स्वमुक्तिमा मानिस स्वयं नै साध्य हो । यस्तो प्रक्रियामा साधन स्वयं साध्यको भ्रुण हो । साधनको अभ्यास, विकास र विस्तारले साध्यमा पुर्‍याउने हो र यो प्रक्रियामा साधनभित्रै साध्य घटित हुँदै जाने हो । साध्य–साधन सम्बन्धको गलत बुझाइले साध्यबाट साधन यसरी अलग हुँदै जान्छ कि अन्तत्वगत्वा साधनले साध्यको विपरीत परिणाम दिन्छ । गैरसमाजवादी या असमानतावादी सिद्धान्तको अभ्यास गरेर समानवाद अर्थात् समानताको उत्पादन हुँदैन । हाम्रो आजको दशाको एक प्रमुख कारण यो पनि हो ।

समाजवादी पार्टीको अर्को महत्त्वपूर्ण अंग हो– पारदर्शिता या जनवाद । यदि पार्टीको लक्ष्य या सिद्धान्त जनवाद, लोकतन्त्र, समाजवाद हो भने त्यस्तो पार्टी सम्पूर्ण रूपले पारदर्शी हुनुपर्छ । यस्तो पार्टीमा सदस्यहरूले गोपनीयताको होइन, पारदर्शिताको शपथ खानुपर्छ । यस प्रक्रियाले पार्टीभित्र षड्यन्त्रकारी राजनीतिलाई निस्तेज गर्छ । अन्य सदस्यको नियत र क्षमता चिन्ने अवसर दिन्छ र क्षमताशील सदस्यलाई खुला अवसर प्रदान गर्छ । पारदर्शिता लोकतान्त्रिक पार्टीलाई लोकतान्त्रिक बनाउने न्यूनतम सर्त हो ।

सारमा, पार्टीको लक्ष्यअनुसारको संगठन प्रणाली हुनुपर्छ । लक्ष्य र संगठन प्रणालीअनुसारको पार्टी सदस्य हुनुपर्छ ।

प्रकाशित: पुस ११, २०७५

ट्याग: विचार