साहित्यिक पत्रिकाको शून्यता

- शिशिर वैद्य

‘वर्तमान समाजका कुरुढीहरुको व्याख्या गर्नु मात्र हाम्रो काम होइन, संसारको नवनिर्माणका निम्ति सबै किसिमका समानता र मानव भातृत्वको नयाँ आदर्शतिर जनतालाई डोर्‍याउनु पनि हामीले आफ्नो कर्तव्य ठानेका छौँ ।’

००८ मा प्रकाशित पहिलो अंकमा साहित्यिक पत्रिका प्रकाशनको उद्देश्य स्पष्ट पार्दै यस्तो सम्पादकीय लेखिएको थियो सेवा मासिकमा । तर पत्रिका लामो समय टिकेन । त्यसको नौ वर्षपछि ०१६ मा प्रकाशक/सम्पादक श्यामप्रसाद शर्माले साहित्य नाम राखेर दुईमहिने पत्रिका सुरु गरे । पत्रिकाको सम्पादकीयमा शर्मा लेख्छन्– ‘हामी यस्तो पत्रिका निकाल्न चाहन्छौँ, जसमा कथा र कविताजस्ता चोखा साहित्य मात्र नरहेर तिनका साथै समस्यामूलक र समालोचनात्मक सामयिक लेखहरु पनि उचित अनुपातमा रहने गरुन् ।’

कमलपोखरी, काठमाडौँस्थित साहित्य सेवा सदन ठेगाना रहेको शर्माको संस्थाले त्यसै समय अर्को पत्रिका पनि प्रकाशन गरिरहेको थियो, स्वास्नीमान्छे । सम्पादक थिइन्, शशिकला शर्मा । ०१५ मा प्रकाशन सुरु भएको उक्त त्रैमासिक पत्रिकाले आफूलाई नेपाली आइमाईहरुको प्रतिनिधि पत्रिकाका रुपमा प्रस्तुत गरेको थियो । साहित्यकार शर्माको गत वर्ष निधन भयो । तर उनको निधनभन्दा निकै पहिले यी तीनै पत्रिका बन्द भइसकेका थिए ।

नेपालमा माक्र्सवादी दर्शन र प्रगतिशील साहित्यको संगठित प्रचारप्रसारको सुरुआत ००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि मात्रै भएको हो । नेपालको स्वतन्त्रता आन्दोलनमा यी प्रगतिशील साहित्यिक पत्रपत्रिकाको अहं भूमिका थियो । सरल भाषाशैलीमा प्रकाशित हुने यी पत्रपत्रिकाले गरिब, निमुखा, उत्पीडित जनताको वेदना खोतलखातल पार्ने गर्थे । समाजमा व्याप्त असमानता र विसंगतिलाई साहित्यमार्फत उठान गर्ने यी प्रगतिशील साहित्यिक पत्रिका विभिन्न चरणका आन्दोलनको एक अंग नै बनेका थिए । यी प्रगतिशील साहित्यिक पत्रपत्रिकाको इतिहास खोतल्ने हो भने फेहरिस्त निकै लामो हुनेछ ।

किनभने, साहित्य र सिर्जना पनि राजनीतिक पार्टीसँगै फुट्न पुगेका थिए । वा भनौँ नेताहरुको विचारको अंकुशमा साहित्यिक पत्रिका पनि अड्किन पुगेका थिए । नयाँ आवरण र नयाँ नामसहित फेरि प्रस्तुत भएका पत्रिकाहरुसँगै साहित्यकार र सर्जकहरु पनि बाँडिए– कोही प्रत्यक्ष, कोही अप्रत्यक्ष । कोही नेता नमिलेर बाँडिए, कोही सिद्धान्त नमिलेर । तर जति नयाँ आवरणमा आए पनि विचार र सिद्धान्त, विसंगति र विकृति, अन्याय र अत्याचारका आवाज कथा, कविता, मुक्तक, गीत, लेख आदि अनेक शीर्षकमा विभिन्न पत्रिकामार्फत जनतासम्म पुग्थे । आम मानिस यिनै साहित्यिक पत्रिकाका स्तम्भमार्फत आफ्ना वेदना महसुस गर्थे, सचेत हुन्थे । आफ्ना विचार, अभिव्यक्तिलाई पार्टीको अंकुशभन्दा बाहिरबाट विचरण गर्न चाहनेहरु यिनै विभिन्न पत्रिकामा छद्म नाममा लेख्थे ।

त्यस समयको नेपाली साहित्य दुई थरीमा विभाजित थियो । ‘एक थरी पत्रिका जनताको पक्षलाई लिएर उनीहरुका हकअधिकारप्रति सचेत तथा जागरुक बनाउन लागेका थिए भने अर्का थरी उच्शृंखल, अनैतिक र कोरा काल्पनिक साहित्य लिएर अघि बढ्दै थिए ।’ ०३८ मा प्रकाशन सुरु भएको हातेमालो  त्रैमासिकको वर्ष १ अंक २ मा लेखिएको थियो ।

प्रगतिवादी साहित्यिक पत्रिकाहरु आन्दोलनको उद्देश्यअनुसार प्रकाशन हुन्थे । जनताको पक्षमा लेखिने प्रगतिशील साहित्य तथा कलालाई सुदृढ बनाउन स्रष्टाहरु यी साहित्यिक पत्रिकामा कलम चलाउँथे । थुप्रै नामी लेखक, कविको सुरुआती लेखन यिनै साहित्यिक पत्रिकाबाट भएका थिए । पारिजात, मञ्जुल, खगेन्द्र संग्रौला, रघु पन्त, मोहन दुवाल, जागृतप्रसाद भेटवाल, मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, चैतन्य, पूर्णप्रकाश नेपाल, श्यामप्रसाद शर्मा, घनश्याम पौडेल, गोविन्द वर्तमान, खुसीराम पाख्रिन, हृदयचन्द्रसिंह प्रधान, कृष्णप्रसाद पराजुली, तारानाथ शर्मा, बालकृष्ण पोखरेल, हरिहर खनाल, रमेश विकल, हरिगोविन्द लुइँटेल आदि । साहित्यिक आन्दोलनमा अग्रपंक्तिमा आउने नाम अझै थुप्रै छन् । कतिपय लेखक छद्म नाममा लेख्थे, कति बेनाम थिए ।

हाँडिघोप्टेको जीतबाजी खगेन्द्र संग्रौलाको चर्चित कथासंग्रह हो । यस पुस्तकको मुख्य कथा हाँडिघोप्टे युगविजय साहित्य संगालोमा ०४० मा प्रकाशित भएको थियो । संग्रौलाकै खरानीमुनिको आगो नाटक ०३० मा संकल्प मासिकमा, हावाको पर्खाल  कविता प्रभात (०२६) मा प्रकाशित भएका थिए । युग विजयका सम्पादक चिरञ्जीवीराज शर्मा, संकल्पकी सम्पादक कुन्ता शर्मा र प्रभातका सम्पादक मनमोहन श्रेष्ठ थिए ।

०२६ मा सुरु भएको सुस्केरा द्वैमासिकका सम्पादक थिए, रामचन्द्र भट्टराई । योगेन्द्रकुमार गर्गको प्रधान सम्पादकत्वमा ०२८ मा युगबोध साहित्यिक संगालो प्रकाशन शुभारम्भ भएको थियो । यो सिरहा जिल्लाबाट प्रकाशित पहिलो साहित्यिक संकलन थियो । चितवनबाट ०२४ मा प्रकाशित दोभानले जिल्लामा साहित्यिक पत्रिकाको सुरुआत गर्ने श्रेय पाउँछ । त्यसपछि प्रकाशित नौलो राँको, जाँगर (०३६), जनसाहित्य (०४८) आदि साहित्यिक पत्रिकाले चितवनका साहित्यकारको आवाजको प्रतिनिधित्व गर्‍यो । ०३० मा वेदना परिवार धुलिखेलले वेदना  साहित्यिक त्रैमासिक प्रकाशन सुरु गर्‍यो । सम्पादक थिए, दिल ‘वरदान’ र सुवास श्रेष्ठ ।

०३४–३५ मा सुरु भएका उत्साह, झिसमिसे, कटिबद्ध, दियो, नवआलोक, अनुभूतिलगायतका साहित्यिक पत्रिका निकै रुचाइए । झिसमिसेका संस्थापक सम्पादक र प्रकाशक थिए, रघु पन्त । ०४६ सम्म निरन्तर प्रकाशित झिसमिसे ०४६ को जनआन्दोलनका कारण दस वर्ष बन्द भयो । रोकिएको एक दशकपछि ०५७ मा पुन: प्रकाशन सुरु भएको उक्त पत्रिका अहिले पूर्ण रुपमा बन्द छ । झिसमिसेकै समकालीन उत्साहले आफ्नो तेत्तीसौँ अंकको सम्पादकमण्डलमा पारिजात, खगेन्द्र संग्रौला, रमेश विकल, मोहन दुवाल, आनन्ददेव भट्टलाई समावेश गरेको थियो । यो पत्रिका पनि अहिले अस्तित्वमा छैन । वर्तमान समयमा नाम चलेका वरिष्ठ साहित्यकार कुनै न कुनै रुपमा विभिन्न साहित्यिक पत्रपत्रिकासँग जोडिएका थिए भन्न यी उदाहरण काफी छन् ।

नाम चलेका यी पत्रिकाहरु अहिले अस्तित्वमा छैनन् । किन छैनन् ?

प्रगतिशील साहित्यिक पत्रिकाहरु काठमाडौँलगायत विभिन्न जिल्लाबाट पनि प्रकाशित हुने गरेका थिए । हेटौँडाबाट प्रयास, बाग्लुङबाट कालीको छाल, झापाबाट दियालो, झटारो, पञ्चामृत, भक्तपुरबाट, युवा साहित्य, युग विजय, क्रन्दन, नवलपरासीबाट नयाँ कदम, भोजपुरबाट सातचोटे, दार्जिलिङबाट साहित्य संगम, बनेपाबाट जनमत (मासिक), आयाम (पाक्षिक), चिराक (मासिक), बिगुल, कास्कीबाट दन्को, नौलो हाँ, स्याङ्जाबाट आँधीखोला, चितवनबाट नौलो राँको, जनसाहित्य (त्रैमासिक), काठमाडौँबाट जस्केलो, लालुपाते, युगधारा, नेपाली साहित्य, नवआलोक, नेपाल पत्र, रातो क्षितिज, निर्माण, झिसमिसे (त्रैमासिक), उत्साह (त्रैमासिक), मधुमास (त्रैमासिक), हातेमालो (त्रैमासिक), अक्षलोक (त्रैमासिक), दियो (द्वैमासिक), सुनाखरी (द्वैमासिक), साहित्य (दुईमहिने), शारदा (मासिक), रुपरेखा (द्वैमासिक), सुस्केरा (द्वैमासिक), शृंखला (मासिक), चिन्तन (त्रैमासिक), मिर्मिरे, अभियान (मासिक) आदि–इत्यादि । यीमध्ये थुप्रै पत्रिका घोषित/अघोषित रुपमा पार्टीको मुखपत्र थिए ।

विभिन्न जिल्लाबाट प्रकाशित यी केही प्रतिनिधि प्रगतिशील साहित्यिक पत्रिकाका नाम हुन् । सबै पत्रपत्रिकाको नाम एउटै आलेखमा समेट्न सम्भव छैन । यीबाहेक विभिन्न मातृभाषामा प्रकाशित साहित्यिक पत्रिका पनि थिए । बौद्धिक खुराकका रुपमा स्थापित यी साहित्यिक पत्रिकाले विविध रचनामार्फत नेपाली साहित्यमा विविधता प्रदान गरेका थिए । एक समय प्रगतिवादी साहित्य पत्रिकाको बाढी नै आएको थियो । यसो भन्दैमा समय सहज थियो भन्ने होइन । सेन्सर बोर्ड प्रगतिशील साहित्यका शब्द–शब्दमा निगरानी गथ्र्यो । थुप्रै पत्रिका प्रतिबन्धित भएका, जफत भएका, सम्पादक, प्रकाशक एवं लेखकले धम्की खेप्नुपरेको, जेल जानुपरेको थियो । लेखकलाई आफ्ना विचार, भावनालाई स्वतन्त्रतापूर्वक शब्दमा रुपान्तरण गर्न निकै असहज थियो ।

कहिले कथा विशेषांक, कहिले कविता विधाविशेष, कहिले संस्मरण विशेषांकका रुपमा साहित्यिक पत्रिका प्रकाशित हुन्थे । विश्वभरिका चर्चित लेखकका अनूदित साहित्य पनि उत्तिकै चाखको विषय हुन्थे । लुसुन, चेखब, प्रेमचन्द, गोर्की, माओ, लेनिन, गोगोल, दोस्तोवस्की आदि विश्वविख्यात साहित्यकार तथा नेताहरुका कथा, कविता, लेखरचना अनूदित भएर छापिन्थे । तर नाम चलेका यी पत्रिकाहरु अहिले अस्तित्वमा छैनन् । किन छैनन् ? के प्रगतिशील साहित्यकारहरु निष्क्रिय भएका हुन्  ? के देशले साँच्चै समृद्धि प्राप्त गरिसकेको हो  ? कि हाम्रा लेखक/साहित्यकार निराश भए ? कि समृद्धिको नारामा आत्मसमर्पित भए ? यो गम्भीर प्रश्न हो ।

जनआवाजको प्रतिनिधित्व गर्ने शब्द संयोजन, नौलो बिहानी, लोक भावनालगायत केही साहित्यिक पत्रिकाले साहित्यिक पत्रिकाको शून्यतामा आफ्नो उपस्थिति बचाइराखेका छन् । साहित्यिक पत्रपत्रिकाको निरन्तरता कठिन कार्य हो किनकि पत्रपत्रिका प्रकाशनसँग अर्थ पनि जोडिन्छ । पत्रपत्रिका र अर्थसँगको सम्बन्धमा विज्ञापनको अटुट सम्बन्ध हुन्छ । विज्ञापनको सम्बन्ध बजारसँग हुन्छ । बजार र उत्पादनले प्रचार खोज्छ । साहित्यिक पत्रिकाको बजार साँघुरो छ । जब विज्ञापनदाताले फाइदा देख्दैन, ऊ विज्ञापन दिन हिच्किचाउँछ । भनसुन र चिनजानका भरमा आउने विज्ञापनले लामो समय पत्रिका चल्न सम्भव हुँदैन । प्रगतिशील साहित्यिक पत्रपत्रिका बन्द हुनुको एक कारण यो पनि हुन सक्छ । नत्र स्रष्टा, पाठक र जनताबीच सम्बन्ध जोड्ने ती साहित्यिक पत्रपत्रिका बिलाउनुको कारण के होला ?

प्रकाशित: पुस ९, २०७५

ट्याग: साहित्य