कांग्रेसको कांग्रेसत्व

परिहास

- सुरेश किरण

नेपाली कांग्रेसको महासमिति बैठक भर्खर समाप्त भयो । महासमिति बैठकबाट थाहा भयो, अहिलेका कांग्रेसीहरु आफ्नो कांग्रेसीपन क्रमश: गुमाउँदै गइरहेका छन् । कांग्रेसले समाजवाद गुमायो, बीपीवाद गुमायो भन्ने कुरा त पहिले पनि सुनिँदै आइरहेको हो । तर यथार्थमा कांग्रेसले समाजवाद वा बीपीवाद मात्र होइन, आफ्नो कांग्रेसत्व नै गुमाइसकेको रहेछ । त्यो अहिले आएर थाहा भयो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भन्नुभयो, “तपाईंहरु केपी ओलीको विरोध गर्नुको सट्टा मेरो विरोध गर्दै हुनुहुन्छ । मलाई जति केपी ओलीको विरोध गर्नुस् न ।”

यथार्थ पनि यही हो । जुन कांग्रेसीले केपी ओलीको विरोध गर्दैन, त्यसलाई कसरी कांग्रेसी भन्ने ? त्यो त कांग्रेसत्वै नभएको कांग्रेसी भयो । यदि कोही भित्रैदेखि कांग्रेसी हो भने उसले बाहिरैदेखि ओलीको विरोध गर्नुपर्‍यो । शुद्ध कांग्रेसी हुनुको प्रमाण पनि यही हो ।

तर यसो हुँदाहुँदै पनि यतिबेला कांग्रेसीहरु केपीको विरोध गरिरहेका छैनन् । बरु आफ्नै सभापति देउवाको विरोध गर्छन्, ओलीको विरोध गर्दैनन् ।

यसबारे मैले एक कांग्रेस नेतालाई सोधेको पनि थिएँ, “नेताजी, तपाईंहरु विपक्षी भइकन पनि किन केपी ओलीको विरोध गर्नुहुन्न हँ ?”

नेताजीले भन्नुभयो, “खोइ कसरी विरोध गर्ने हो ? ओलीको विरोध गर्‍यो कि कार्यकर्ताहरु हामीलाई माधव नेपालको मान्छे ठान्छन् । अनि कसरी विरोध गर्ने ?”

विचरा कांग्रेसजनहरुको पनि आफ्नै समस्या रहेछ ।  

 

प्रकाशित: पुस ९, २०७५

ट्याग: परिहास