कार्टुन हेर्ने सजाय

- नेपाल संवाददाता

अमेरिकाको मिजौरी राज्यका डेभिड बेरी नामका मृग तस्करले जेलमा एक वर्षसम्म कार्टुन हेर्नुपर्ने सजाय पाएका छन् । सयौँ मृग मारेकै कारण मिजौरीको अदालतले बेरीलाई महिनाको एकपटक बाम्बी नामक डिज्नेको कार्टुन हेर्नुपर्ने सजाय दिएको हो ।

सन् १९४२ मा बनेको यो कार्टुनमा सिकारीका कारण आमा मारिएपछि एक्लै हुर्कन बाध्य मृगको कथा छ । अदालतका अनुसार उनी त्यो राज्यकै खुंखार मृग तस्कर हुन् । बेरीले मृग मारेर टाउकाको तस्करी गर्ने र शरीर त्यत्तिकै छाडिदिने गरेको अदालतले जनाएको छ ।

मृग मारेको अभियोगमा बेरी जेल परेसागै तस्करीमा सघाएका उनका बाबु, दुई भाइ र एक सहयोगीलाई समेत सिकारका लागि प्रतिबन्ध लगाइएको विदेशी सञ्चार माध्यमले उल्लेख गरेका छन् । ५१ हजार डलर तिरे पनि बेरीलाई न्यायाधीशहरुले वन्यजन्तु तस्करी गरेकामा सजाय थपेका हुन् ।

मिजौरीको वन्यजन्तु संरक्षण विभागका अनुसार बेरीसहित १४ जनालाई ११ राज्यमा २ सय ३० वटा मृग मारेको अभियोग लागेको छ ।

प्रकाशित: पुस ९, २०७५