बसाइँ हिँड्नेको ताँती

- गणेश साम्पाङ

पाँचथर– आधा घन्टा हिँडेर २ घन्टा पर्खिंदा पनि एक गाग्रो पानी नपाउने दिनदिनैको हैरानीले पाँचथर, कुम्मायक–१ भदौरेकी अनिता परियारको परिवार बसाइँ सर्‍यो ।

खानेपानीकै हाहाकार हुन थालेपछि अनिताको मात्र होइन, साबिक यासोक–२ का कमला परियार, राजकुमार परियार, भगिश्वर विश्वकर्मा, सुवास कार्की, लक्ष्मी थापाका परिवारले पनि गाउँ छाडेका छन् । “एक गाग्रो पानी पाउन ३/४ घन्टा समय खर्चिनुपर्छ । दैनिकी कसरी चलाउने भन्ने  पिरलोले उनीहरू बसाइँ हिँडेका हुन्,” स्थानीय गृहिणी उमा चाम्लिङ लावती भन्छिन् ।

बिहान ४ बजे एक गाग्रो पानी लिन गएका गृहिणी ८ बजे मात्र घर फर्कन्छन् । कतिपय स्कुलेको पालो पर्खिंदा विद्यालय नै छुट्छ । “पानीको जोहोमा यति धेरै समय खर्चेर कसरी जीवन चलाउने ? पानीको पीडाबाट मुक्ति पाउन छिमेकी बसाइँ सरेका हुन्,” उमा थप्छिन् । पाँच वर्षयता पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक, रानीगाउँ र स्याबरुम्बा क्षेत्रबाट बसाइँ जानेको संख्या बढ्दै गएको छ । खानेपानी अभावले काकाकुल बनेका कुम्मायक (साविक यासोक, रानीगाउँ र स्याबरुम्बा) बाट ०७४ मा एक वर्षमा वडा–१ बाट १ सय ४९, वडा–२ बाट ५३, वडा–३ बाट ५९, वडा–४ बाट ६८ र वडा–५ बाट १ सय सात गरी ४ सय ३६ घरपरिवार बसाइँ सरिसकेको तथ्यांक छ ।

गत वैशाखदेखि असारसम्म मात्र सो पालिकाबाट १ सय ७६ घरपरिवार बसाइँ सरिसकेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराई बताउँछन् । बसाइँ जानेमध्ये ९९ प्रतिशत खानेपानीकै अभावका कारण रहेको अधिकृत भट्टराईको दाबी छ ।

पहिलेदेखि नै सुक्खा क्षेत्र रहेको यस स्थानमा  पछिल्लो समय धाराकुवा सुकेसँगै पानीका लागि एक घन्टाको बाटो हिँड्नुको विकल्प छैन । खानेपानी अभावले दैनिक गुजारा चलाउन गाह्रो परेपछि बाध्य भएर आफ्नो वडाबाट मात्र २०/२२ परिवारले गाउँ छाडेको साविक रानीगाउँ–७ का शिक्षक बलराम फुयाल सुनाउँछन् । खानेपानी अभावले साविकको रानीगाउँ गाविसभरका १४ विद्यालयका चर्पी प्रयोगविहीन छन् । “पानी नभएपछि चर्पी प्रयोग नै छैन भन्दा पनि फरक पर्दैन,” फुयाल भन्छन् ।

साविक स्वाबरुम्बा–८ का दुर्गाप्रसाद बमजन दुखेसो पोख्छन्, “गाउँका सबैजसो पानीका स्रोत सुके । तमोर लिफ्ट खानेपानी आयोजनाको आश पनि रहेन ।” उनकै टोलका चन्द्रबहादुर भण्डारी, लक्ष्मी भण्डारी, दुर्गा भण्डारी, खड्गबहादुर विक, टेकबहादुर नेपाली र हर्कबहादुर नेपालीको परिवारले यसै वर्ष गाउँ छाडेको छ । बसाइँ हिँडेकाको खेतबारी बाँझै छन् ।  स्थानीय पशुपालन र कृषि पेसा छाड्न बाध्य छन् ।

कुम्मायक क्षेत्रमा खानेपानी संकट बढ्दै गएपछि जिविस पाँचथरले जिल्लापरिषद्बाटै ३ गाविसलाई ०६७ मै सुक्खा क्षेत्र घोषणा गरेको थियो ।


अन्य टोलकाले पानी लैजाने आशंकामा कुवा  प्रयोगकर्ताले लगाएको ताला | तस्बिरहरू : गणेश साम्पाङ


अधूरो तमोर लिफ्ट

खानेपानी अभावले पीडा खेपिरहेका साविक तीन गाविसलाई छेलोखेलो पुग्ने पानीको स्रोत कहीँकतै थिएन । स्थानीयलाई खानेपानी उपलब्ध गराउन तमोर नदीको पानीलाई मोटरले तानेर पाइपबाट वितरण गर्ने गरी तमोर लिफ्टिङ खानेपानी आयोजना सुरु गरिएको छ ।

५२ करोड रुपैयाँ लागतमा दुई वर्ष पहिले आयोजना सुरु भए पनि समयमा काम सम्पन्न नहुँदा स्थानीयमा निराशा छाएको छ । ३ हजार ४६ घरपरिवारलाई खानेपानी उपलब्ध गराउने गरी निर्माण सुरु गरिएको आयोजनाको ८० प्रतिशत काम पूरा भएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बरसिं सम्बाहाम्फे बताउँछन् ।

ठेक्का प्रणालीबाट निर्माण थालिएको आयोजनाको ३६ किलोमिटरको पाइप बिछ्याउने ११ वटा रिजर्भ ट्यांकी बनाउन इन्टेकका लागि चाहिने बिजुली पोल भने गाडिसकिएको छ । “धेरैजसो निर्माणका काम सम्पन्न भइसकेका छन् । अब पानी तान्ने मोटर ल्याएर जडान गर्न मात्र बाँकी छ । अबको एक वर्षमा स्थानीयको घरघरमा पानी झर्ने निश्चित छ,” अध्यक्ष सम्बाहाम्फेको दाबी छ ।

पानी नपाएर आक्रान्त बनेको यासोक क्षेत्रका लागि प्रदेश १ को सरकारले तत्काल डिप बोरिङ प्रविधिबाट पानी निकाल्न परीक्षणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । बोरिङ प्रविधि प्रयोगका लागि कुम्मायक गाउँपालिकाको चार स्थानमा परीक्षण गरिनेछ  ।

३१ मंसिरमा मेसिन ल्याएर डिप बोरिङको काम सुरु गरिएको डिप बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमरसिंह थापा बताउँछन् । थापाका अनुसार उक्त दिन कुम्मायक–१ यासोकको थापा गाउँमा गरिएको परीक्षण नतिजा सकारात्मक देखिन थालेको छ । “अझै खन्ने काम हुन्छ । राम्रो भयो भने गाउँपालिकाबाटै बजेट तर्जुमा गरेर योजना प्रभावकारी बनाउन पहल गर्ने सोचमा छौँ,” अध्यक्ष थापा भन्छन् ।

ट्रयाक्टरबाट पानी बिक्री

बजारमा पानी वितरण गर्ने ट्रयाक्टर


यासोक क्षेत्रमा खानेपानी अभाव भएपछि केही वर्षदेखि स्थानीयलाई ट्रयाक्टरबाट खानेपानी बिक्री गरिँदै आएको छ । अहिले निजी स्तरबाट ३ वटा ट्रयाक्टरले दैनिक दुई पटक पानी बिक्री गरिरहेका छन् । ट्रयाक्टरले १० किलोमिटर टाडा छोरुवा खोलाबाट पानी ल्याएर (२ सय ७० लिटरको) प्रतिड्रम तीन सय रुपैयाँमा बिक्री गर्दै आएको व्यवसायी राजु गुरागाईंको भनाइ छ । पानी अभावका कारण कुम्मायक गाउँपालिकाले एउटा ट्यांकर र एउटा ट्रयाक्टर खरिद गरेर प्रतिलिटर ६० पैसाका दरले स्थानीयलाई पानी बिक्री गर्दै आएको छ ।

“एकपटकमा ४ हजार ५ सय लिटर पानी ल्याउँछौँ । मागअनुसार सबैलाई पानी पुर्‍याउन गाह्रो छ”, गुरागाईं भन्छन्, “हिउँद लागेपछि बजारमा मात्र होइन, गाउँतिर पनि पानीको माग बढ्दो छ ।”

खानेपानी समस्याका कारण यासोक क्षेत्रका व्यवसाय धरापमा पर्दै गएका छन् । खासगरी पानी नभई नहुने होटल व्यवसाय चलाउन कठिन बनेको व्यवसायीको गुनासो छ । “ट्रयाक्टरले ल्याउने पानी प्रतिलिटर एक रुपैयाँ ३० पैसामा किनेर व्यवसाय कसरी चलाउने ? वर्षमा ४०/४५ हजारभन्दा बढीको पानी किनेर  होटल चलाउन सम्भवै छैन,” प्रधान होटलका प्रोप्राइटर वीरेन्द्र श्रेष्ठ भन्छन् ।

होटलमा आउने पाहुनालाई लुगा धुन, नुहाउन निषेध गरेर भए पनि जेनतेन चलाइरहेका छन् । रानीगाउँ तिङदेनका होटल व्यवसायी लेखनाथ खनाल दिक्क छन्, “पानी किनेर गरेको होटल व्यवसायबाट फाइदा नभए पनि पहिलादेखि चलाउँदै आएको पेसा भएकाले बन्द गर्न सकिएको छैन ।”

पानीको वैकल्पिक स्रोतका लागि डिप बोरिङ परीक्षण

प्रकाशित: पुस ९, २०७५