बीपीको विरासत धान्ने अवसर

- भास्कर गौतम

बीपी कोइरालाबारे चर्चा गरेर नथाक्ने कांग्रेसजनले उनको ऐतिहासिक विरासतलाई नयाँ ढंगबाट मूल्यांकन गर्न जरुरी छ । कांग्रेसको महासमिति र आसन्न महाधिवेशनलाई ध्यानमा राख्दा यो सवाल झन् पेचिलो हुन्छ ।

कांग्रेसजनले आजसम्म बीपीको आधिकारिक जीवनी प्रकाशन गरेका छैनन् । कांग्रेसीमध्ये कसैले उनको जीवनी लेख्ने छाँट पनि देखिँदैन । आशा गरौँ– कुनै प्राज्ञले भविष्यमा यस्तो काम गर्नेछन् । झट्ट सोच्दा बीपीको जीवनबारे सबै पक्ष थाहै छजस्तो लाग्छ । भोला चटर्जीद्वारा लिखित बीपी कोइराला : पोट्र्रेट अफ रिभोलुसनरी (सन् १९९०) तथा किरण मिश्रको बीपी कोइराला : लाइफ एन्ड टाइम्स (सन् १९९४) प्रमाणस्वरूप पेस गर्न सकिन्छ । अरू पनि एकाध पुस्तक छन् । तर अंग्रेजीमा प्रकाशित यी पुस्तक करिब अढाई–तीन दशकपहिले लेखिएका हुन् । त्यसैले यी पुस्तकले धेरै कुरा भन्दैनन् । पछिल्ला दशकमा बीपीबारे उनको जेलजर्नल, आत्मवृत्तान्तसहित धेरै सामग्री बाहिर आए । त्यसैले बीपीबारे पहिले लेखिएका पुस्तक धेरै हिसाबले अपूरा लाग्छन् ।

बीपीबारे आधिकारिक जीवनी नभएको अवस्थामा ०४६ पछिको पुस्ताले उनलाई कसरी बुझ्ने ? कहाँबाट सुरु गर्ने ? के–के पढ्ने ? उनको राजनीतिक र साहित्यिक विरासतलाई कसरी लिने ? यी पेचिला प्रश्न तेस्र्याउनेबित्तिकै उपलब्ध सामग्रीहरू अपुग लाग्छन् । बीपीले आफूलाई जसरी प्रस्तुत गरे, त्यसरी नै बुझ्न उनका भाषण, दस्तावेज, राजनीतिक र साहित्यिक सिर्जना उपलब्ध छन् । ती रचनाका खास स्रोत, सन्दर्भ र ऐतिहासिकता छन् । यी आधारभूत पक्षलाई पन्छाउँदा बीपीबारेको बुझाइ एकांगी हुन्छ । त्यसका केही दृष्टान्त हेरौँ :

बीपी बाँचेको कालमा भारतमा धेरै विलक्षण नेताहरू थिए– गान्धी, नेहरु, बल्लभभाइ पटेल, सुवासचन्द्र बोस, बीआर अम्बेडकर, भगत सिंह, मोहमद अली जिन्नाह आदि । यीमध्ये गान्धी र नेहरुबाट बीपी प्रभावित थिए । उनी राममनोहर लोहिया, जयप्रकाश नारायण र आचार्य नरेन्द्रदेवका अनुयायीजस्तै थिए भनिरहनु परेन । यीमध्ये लोहियासँग बीपीको मतभेद रह्यो ।

धेरैले भन्छन्– बीपीले आफ्नो जीवनकालमा खुलेर काम गर्न पाएको भए नेपाली लोकतन्त्रले अर्कै बाटो समात्थ्यो । यस्तो मान्यतालाई विशिष्ट ऐतिहासिक सन्दर्भमा हेर्न सकिन्छ । यदि बीपीले काम गर्न पाएको भए सम्भवत: उनले आफ्नो समयको महान् नेता नेहरुले जस्तै काम गर्थे । त्योभन्दा चमत्कारी काम गर्ने सम्भावना किन थिएन भने बीपीले पनि नेहरुले जसरी नै सोचिरहेका थिए । उदाहरणका लागि, ४ असार ०१३ मा डिबेटिङ क्लब (पछि यसलाई एलिट क्लब भनियो) विराटनगरमा दिएको प्रवचनमा बीपीले भनेका थिए– नेपालमा पूर्ण रूपमा उद्योगधन्दा विकास गर्न ‘पहिलो आवश्यकता भनेको सरकारको नियन्त्रणमा पुँजीवादलाई प्रोत्साहन’ दिनु हो । उनले थपे, ‘रुसमा अहिले जुन वाद छ, त्यो पुँजीवाद नै हो, कम्युनिस्ट सरकारको नियन्त्रणमा रहेको पुँजीवाद ।’ बीपीले यसो भनिरहँदा नेहरु भारतमा त्यही गरिरहेका थिए, सरकार नियन्त्रित उद्योगको विकास । बीपीले पाएको भए नेपालमा पनि त्यस्तै केही गर्थे ।

बीपीले नगर्दैमा सरकारद्वारा नियन्त्रित विकासको प्रयोग नेपालमा नभएको भने होइन । धेरैले दूरदर्शी ठहर्‍याएका राजा महेन्द्रले पनि त्यही गरे । उनी महत्त्वाकांक्षी भएकाले सबैभन्दा पहिला बीपीलाई सत्ताबाट अपदस्थ गरे । महेन्द्रको बुझाइमा यसले फरक मतलाई निस्तेज गर्‍यो र नियन्त्रित विकासलाई थप सजिलो बनायो । त्यसपछि उनले कृषिलाई आधुनिक गर्न चाहे, उद्योगधन्दा विस्तार गर्न चाहे, दुवै कार्यलाई गति दिन केन्द्रीकृत शिक्षा लागू गरे । आज धेरैले क्षमतावान देखेका महेन्द्र त्यसबेला नै यी सबै कार्यमा असफल भएका थिए । त्यो पनि त्यस्तो अवस्थामा जतिखेर अधिकांश योजना र त्यसको कार्यान्वयन राजाको नियन्त्रणमै थियो । शीतयुद्धले गर्दा शक्तिराष्ट्रहरूले पनि उनलाई साथ दिए । महेन्द्रले खुलेर शक्ति प्रयोग गरे । तथापि नेपालमा पुँजीको विकास भएन । न कृषिको आधुनिकीकरण भयो, न त उद्योगधन्दा फस्टाए । यसरी हेर्दा राजा महेन्द्र न दूरदर्शी नै थिए, न त क्षमतावान ।

राजा महेन्द्रजस्तो नियन्त्रित सत्ता चलाउने छूट बीपीलाई हुने थिएन । त्यसैले नेपालले संसदीय अभ्यासको गति त्यसबेला समाएको भए नेहरुले आफ्नो कार्यकालमा जे हासिल गरे, सम्भवत: बीपीले त्यो हासिल गर्न सक्दैनथे । भूराजनीति बाधक थियो, अद्यापि छँदैछ । 

बीपीबारे यस्तो निष्कर्ष निकाल्नुका केही आधार छन् । बीपीका केही आधारभूत मूल्यांकन त्यसबेला गलत नै थिए । संयोग नै भन्नुपर्छ, १ पुस ०१७ मा तरुण दल सम्मेलनको उद्घाटन भाषणलगत्तै तत्कालीन प्रधानमन्त्री बीपीलालाई राजा महेन्द्रको आदेशमा सेनाले पक्राउ गर्‍यो । नेपालको संक्रमणकालबारे बीपीले त्यस भाषणमा भनेका थिए, ‘सम्भवत: अरू मुलुकका प्रतिगामी तत्त्वभन्दा कमजोर अवस्थामा रहेका यहाँका प्रतिगामी तत्त्वहरूले इतिहासको क्रमलाई बुझेर नेपालको परिस्थितिमा मूर्खताको बाटोमा नलागी प्रगतिको बाधक हुने छैनन् र हाम्रो समाजको संक्रमण अवधि छोटो हुनेछ तथा संघर्षमय हुने छैन भन्ने मैले ठानेको छु ।’ बीपीले यस्तो ठान्दाठान्दै राजा महेन्द्रले प्रतिगामी शक्ति बलियो रहेको प्रमाण त्यसै क्षण सत्ता हत्याएर दिए । बीपीले सोचेविपरीत महेन्द्रले मूर्खताको बाटो समातेकाले नेपाल सात दशकयता संक्रमणमै छ । अनि, ००७–०१७ को अस्थिर अवधि भोगे पनि तत्कालीन प्रजातन्त्रविरोधी तत्त्वको शक्ति आकलन गर्ने कार्यमा बीपी गलत साबित भए ।

बीपीको गलत अनुमानले त्यसपछिका दशकमा थप निरन्तरता पायो । प्रतिगामीहरू कमजोर नभएको हेक्का बीपीलाई ०१७ पछि भएकै हो । तर तिनीहरूसँग लड्न कस्तो संघर्ष र गठबन्धन आवश्यक छ भन्ने सवालमा बीपीको सोच क्षेत्रीय र वैश्विक परिवेशले बढी प्रभावित रह्यो । त्यसैले बीपी जीवित रहुन्जेल कांग्रेस र कम्युनिस्ट एकजुट भएर राजसंस्थाजस्तो प्रतिगामी शक्तिसँग जुध्न सहकार्य गरेनन् । यसका दुई कारण थिए । पहिलो, कांग्रेस र कम्युनिस्ट मिलेर राजावादीसँग लड्नुपर्छ भन्ने पुष्पलालले राख्दै आएको प्रस्ताव स्वीकार्दा त्यतिबेला सानो अस्तित्वमा रहेको कम्युनिस्ट पार्टीले ठूलो प्राथमिकता पाउँथ्यो । कम्युनिस्टहरूलाई त्यस्तो ठाउँ दिने पक्षमा बीपी थिएनन् । दोस्रो, सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनको समयमा कम्युनिस्टहरूले अंग्रेज शासकलाई हराउन नाजी जर्मनीको साथ लिँदा बीपी सैद्धान्तिक र व्यावहारिक दुवै कारणले रुष्ट थिए । व्यावहारिक तहमा कम्युनिस्टहरूको विश्वास गर्न सकिँदैन भन्ने उनको अनुभव रह्यो । कम्युनिस्टहरूले आफूलाई राष्ट्रिय भावना वा आन्दोलन अनुकूल ढाल्न सकेनन् भन्ने उनको ठहर थियो । सिद्धान्तत: ‘व्यक्तिगत स्वतन्त्रतालाई बलि दिएर समाजवाद स्वीकार्न सकिँदैन’ भन्ने बीपीको मान्यता थियो । ‘भारत छोडो’ आन्दोलनताका कम्युनिस्टहरू यी दुवै क्षेत्रमा चुकेको भारतीय सन्दर्भलाई बीपीले आफ्नो जीवनभरि नेपाली सन्दर्भमा समेत थोपरिरहे । परिणाम, पञ्चायतकालमा राजसंस्था बढी शक्तिशाली भयो । कांग्रेस र कम्युनिस्टले मिलेर संघर्ष गर्न गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको पहलकदमी कुर्नुपर्‍यो । लोकतन्त्रलाई संस्थागत गर्ने संक्रमण थप लम्बियो ।

शंकाको सबै सुविधा बीपीलाई दिँदै यो पनि मान्न सकिन्छ कि केही वर्ष बाँचेका भए सोभियत संघको विघटन र शीतयुद्ध अन्त्यसँगै उनको सोचमा परिवर्तन आउँथ्यो । यसै पनि उनी गतिशील नेता थिए । आफ्नो परिवर्तित विचार बुझाउँदै पार्टीपंक्तिलाई विश्वासमा लिएर काम गर्ने क्षमता राख्थे । त्यसैले उनकै नेतृत्वमा कांग्रेस र कम्युनिस्टले मिलेर प्रतिगामीको मुकाबिला गर्न सक्थे । जसरी बीसौँ शताब्दीको मध्यकालमा उनले नेहरुजस्तै काम गर्ने सम्भावना थियो । त्यस्तै, शताब्दीको अन्त्यतिर अर्का महान् नेता नेल्सन मण्डेलाले जस्तै सबैलाई विश्वासमा लिएर केही गर्थे होलान् । यसो भन्नुका केही आधार छन् ।

शीतयुद्धताका मण्डेला समाजवादी नेता थिए । उनले आर्थिक उन्नतिलाई समाज विकासको आधार मानेका थिए । मण्डेला ‘सबै उत्पादनका साधनमाथि समाजकै नियन्त्रण हुनुपर्छ’ भन्थे । बीपीले पनि यही भने । मण्डेला ‘समाजवाद केवल आर्थिक संगठन होइन, यसको मानवीय पाटो छ’ भन्थे । बीपीले पनि ‘मानवतालाई बिर्सेर सच्चा समाजवाद ल्याउन सकिन्न’ भने । मण्डेलाले पनि मानवता र आर्थिक आधारलाई समाजवादको अविभाज्य पाटो मानेका थिए । त्यसैले सन् १९९० को दशकमा मानवता र व्यक्तिगत स्वतन्त्रतालाई बलियो बनाउन समाजवादलाई तिलाञ्जली दिए । रंगभेदको आधारमा शोषण गरेका गोराहरूलाई आममाफी दिए । पुँजीवादलाई नै अर्थतन्त्रको मूल आधार माने । मण्डेलाले यस्तो बाटो अपनाउनुको विशिष्ट वैश्विक पृष्ठभूमि थियो । समाजवाद प्रतिरक्षात्मक अवस्थामा रहेकाले विश्व शक्ति–समीकरणलाई मण्डेलाले हाँक दिन चाहेनन् । त्यस्तो गरेको भए उनको दक्षिण अफ्रिकाले शक्तिशाली राष्ट्रहरूको सहयोग पाउने थिएन । लामो लडाइँ लडिसकेका मण्डेला जीवनको उत्तराद्र्धमा अर्को संघर्षका लागि तयार थिएनन् । उनलाई देशभित्रसमेत शक्तिशालीहरूको सहयोग आवश्यक थियो । परिणाम, मानवताको जगमा उनले आममाफीको बाटो रोजे । यसले उनको देशमा दण्डहीनता र आर्थिक विभेद थप संस्थागत भयो । मण्डेला भने शक्तिशालीहरूको नजरमा विश्वको महान् नेता दर्ज भए ।

जीवनको उत्तराद्र्धमा बीपीले गान्धीवादी संघर्ष अपनाउन खोजेका थिए । त्यसैले उनले गान्धी र बुद्धको कर्ममा समाजवादको खोजी देखे । यदि बीपी केही समय बाँचेका भए मण्डेलाको जस्तै उनको राष्ट्रियता र समाजवाद दुवै वैश्विक परिवेशका कारण संकटमा पथ्र्यो । उनीसँग मूलत: प्रजातन्त्र, अहिलेको लबजमा लोकतन्त्र बाँकी रहन्थ्यो । लोकतान्त्रिक व्यवस्था प्राप्त गर्ने संघर्षमै बीपीको जीवन बितेकाले लोकतन्त्रको अवयव र उपकरणबारे धेरै घोत्लिन पाएनन् । अझ तीव्र भूमण्डलीकरण र प्रविधिले पेलेको आजको युगमा लोकतन्त्र पूर्ण संकटमा छ । बीपीलाई न्याय गर्नसमेत नेपालको विशिष्ट सन्दर्भका साथै वैश्विक परिवर्तनको पृष्ठभूमिमा लोकतन्त्रलाई कसरी ‘र्‍याडिकल’ बनाउने विषयमा गहन चिन्तन आवश्यक छ । तर त्यस्तो भइरहेको छैन ।

हाल कांग्रेस महासमितिमा देखिएको विवादले भन्छ– शेरबहादुर देउवा, रामचन्द्र पौडेलको पुस्ताले बीपीका गतिशील विचारलाई स्थिर बनायो । अनि गतिहीन विचारलाई परिवर्तनशील नेपाली समाजमा लाद्न खोज्दा असफल भयो । आज सम्पूर्ण नेतृत्वदायी क्षमता शक्ति–लिप्सा र भागबन्डामै अल्झिएको उनीहरूलाई ज्ञात छ । त्यसैले अरूले किन उनीहरूबाट बढी अपेक्षा राख्ने ? अर्को पुस्ताका मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला आदिबाट पनि खासै आशा गर्ने ठाउँ छैन । बीपीको नाममा राजनीतिक स्थान बनाएर शशांक कोइराला, सुजाता कोइराला आदिको पार्टीबाहिर खासै आकर्षण नरहेको छर्लंग छ । त्यसैले यो महासमितिलगत्तै गगन थापा, विश्वप्रकाश शर्मा आदिको पुस्तामा दुइटा जिम्मेवारी आइपरेको छ– ऐतिहासिक यथार्थका आधारमा बीपीको विरासतलाई परख गर्ने । त्यसको जगमा विविधतायुक्त नेपाली समाज र बलशाली भूमण्डलीकरणको वैश्विक परिवेशलाई दृष्टिगत गर्दै र्‍याडिकल लोकतन्त्रका अवयवलाई आमूल परिवर्तनको आधार बनाउने । हालको सन्दर्भमा यस्तो चिन्तनको प्रारम्भ गगन थापाहरूले माग गर्दै आएको संघीय नेपालको संरचनालाई सुहाउँदो तवरमा पार्टीको पुनर्संरचना गर्ने कार्यबाट मात्र सम्भव हुन्छ ।

प्रकाशित: पुस ८, २०७५

ट्याग: विचार