कांग्रेसका कमल थापा !

- सन्तोष आचार्य

शशांक कोइरालामा अरू सबै गुण छ । तर एउटा असल कांग्रेसमा हुनैपर्ने गुण भने बेपत्ता छ । बीपी पुत्र हुन् । शरीरमा बीपीकै रगत बग्छ । रगतबाहेक बीपीसँग उनको कुनै साइनो छैन । बीपीपुत्र हुनुको सांकेतिक लाभ पाए । पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भए । पार्टीका महामन्त्री पनि जिते । तर न संसदमा आफ्नो क्षमता देखाउन सके, न त पार्टीमा परिपक्व राजनीति नै गर्न जाने । पार्टी सभापतिको पिछलग्गु हुने, तर विवादको अपजसको सानो अंश पनि आफ्नो टाउकोमा नबोक्ने । गुटको राजनीति गरेको आरोप सभापतिलाई लगाउने, तर आफूलाई कोइराला गुटको मुखिया प्रमाणित गर्न खोज्ने ।

०६२/६३ को आन्दोलनपछि पूर्णकालीन राजनीतिमा आएका यी आँखा डाक्टर पछिल्लो समय दृष्टिदोषले आक्रान्त छन् । आफ्नो जन्मदेखि नै धार्मिक स्वतन्त्रताको मान्यतामा कहिल्यै विचलित भएन कांग्रेस । तर त्यही कांग्रेसलाई यी महामन्त्री हिन्दु राष्ट्रको जामा ओढाउन खोज्दैछन् । कांग्रेस झन्डाको चार तारामध्ये एउटाले धार्मिक स्वतन्त्रताको वकालत गर्छ । तर यसविपरीत यी डाक्टरसाहेब बिरामी पार्टीलाई गलत प्रेस्क्रिप्सन दिँदै छन् ।

निर्वाचनमा पार्टी पराजयको कारण खोज्ने हो भने यसबाट महामन्त्री उम्किने ठाउँ छैन । यसबाट बच्न खुमबहादुर खड्काको शैलीमा हिन्दु कार्ड फालेका यी कोइराला कांग्रेसभित्रका कमल थापा मात्र बन्न सक्छन् । अध्ययन, वैचारिक बहस र कार्यकर्तासँगको संवादमा कमजोर कडी यी महामन्त्री आफ्ना रसरङ व्यवस्थापक भरत तिवारी प्रवृत्तिकै भरमा छन् ।

पछिल्लो समय उनीसँग जति पटक मेरो भेट भयो, ‘हिन्दु धर्मले नै कांग्रेसको उद्धार गर्ने, त्यसबाहेक अरु उपाय नरहेको’ बताउन थालेका थिए । अर्थात्, समाजवादी पार्टीका यी नेता हेर्दाहेर्दै भाग्यवादी भएछन् । सायद यिनलाई खुमबहादुरको भूतले समात्यो कि !

माइक महात्म्य

गत निर्वाचनमा नराम्रो हार बेहोरेका कांग्रेसजनलाई आशा थियो, यसपटकको महासमिति बैठकले पार्टीलाई नयाँ दिशा दिनेछ । गुट–उपगुट, सहायक गुटहरुमा विभक्त नेता/कार्यकर्तालाई एक ठाउँमा ल्याउने एकताको महासमिति बैठक हुनेछ । तर त्यसो भएन । आगामी महाधिवेशनमा आफ्नो हैकम कायम गर्ने शैलीमा प्रमुख नेताहरु दुनो सोझ्याउन लागे । महासमिति सदस्यलाई अलपत्र छाडेर व्यक्तिगत हानि–नोक्सानीको जोड–घटाउमा कुना पसे । महासमिति स्पष्ट रुपमा गुटहरुको भेला एकै ठाउँ भनेजस्तै भयो । नेताहरुको देखासिकी अरुले पनि गर्ने भए ।

जस्तो कि, सहमहामन्त्री प्रकाशशरण महत र नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीबीच माइक खोसाखोसले पार्टीभित्र चर्को गुटबन्दीको संकेत दियो । पार्टी सभापति शेरबहादुर देउवा गुटका प्रमुख पहरेदार महत र वरिष्ठ नेता रामचन्द्र पौडेलका पहरेदार केसीबीच बोल्न पाउनुपर्ने र बोल्न नदिने विषयलाई लिएर माइक खोसाखोस र झन्डै हात हालाहालको स्थिति आइपर्‍यो । यी दुई नुवाकोटे नेताको माइक खोसाखोसको दृश्यले के सन्देश दियो भने, कांग्रेस अझै पनि चेतेको छैन, चेत्ने छैन । महासमितिमा माइक महात्म्य जो देखियो ।

रुपन्देहीबाट महासमिति सदस्यका रुपमा काठमाडौँ आएका सोम गुरुङसँग मेरो भेट भयो । उनी आशावादी सुनिए, “यसपालि यस्तै भयो, नेताहरु महाधिवेशनसम्म कसो ठन्डा नहोलान् !”

कांग्रेस हुन्, कांग्रेस होइनन्

दीर्घराज काफ्ले, ७१ कांग्रेस हुन् । तर पार्टीभित्रै यिनको परिचय हराएको धेरै भयो । यसपटकको महासमिति बैठकले पनि देशभरबाट बेपत्ता भएका काफ्लेजस्ता कांग्रेसजनको स्मरण गर्न चाहेन । ५१ वर्षदेखि निरन्तर कांग्रेसमा सक्रिय र समर्पित भैरहवाका काफ्लेले पार्टीकै लागि आफ्नो जीवन खर्चिए । पञ्चायतकालमा १८ पटक प्रहरीबाट चरम यातना भोगे । तीन पटक जेल जीवन बिताए । काफ्लेले पार्टीका कुनै पनि निकायमा आफ्नो स्थान नदेख्दासमेत भैरहवामा सहिद स्मृति पुस्तकालय र सहिद स्मृति सदाचार जागरण पुरस्कार स्थापना गरेका छन्, त्यो पनि आफ्नो पैतृक सम्पत्ति त्यागेर ।

सधैँ मूल्य–मान्यता र आदर्शको राजनीति गर्ने बलदेव शर्मा मजगैयादेखि युवराज शर्माहरुले काफ्लेकै नियति भोगिरहेकै छन् । लोकतन्त्र स्थापनाका लागि पटक–पटक लडेको कांग्रेस जबजब सत्तामा पुग्यो, तबतब काफ्लेहरु कुना पर्दै गए, परिरहेकै छन् । महासमिति बैठकमा नदेखिएपछि मैले उनलाई फोन गरेर सोधेँ, “कांग्रेसप्रति कुनै गुनासो छ ?” उनको जवाफ थियो, “जहाँ गणेशमान सिंह र किसुनजीजस्ता हस्तीहरुले रोएर पार्टी छाड्नुपर्‍यो, त्यो पार्टीसँग मजस्ता सामान्य कार्यकर्ताले गुनासो गर्नुको के अर्थ रह्यो र !”

प्रकाशित: पुस ८, २०७५

ट्याग: नोटबुक