शवमा संगीन रोपेर अन्त्येष्टि

- कमल कोइराला

राणा शासन हटाएर प्रजाको शासन ल्याउने अभियानमा पिताजी कृष्णप्रसाद कोइराला पक्राउ पर्ने र छुट्ने क्रम चलिरह्यो । विराटनगरदेखि चिसापानीगढी हुँदै काठमाडौँसम्म ल्याएर थुनामा राखियो । पिताजीलाई जेल र जुद्ध धर्मशालाको दुर्गन्धयुक्त चिसो वातावरणमा बस्दाबस्दै निमोनिया भयो । उहाँलाई पहिलेदेखि नै बाथ रोग थियो । शरीर कमजोर हुँदा स्वास्थ्य झनै बिग्रियो ।

माघ २००१ मा काठमाडौँमा परेको ठूलो हिमपातमा पुलिस निगरानीमा रहने गरी पिताजीलाई राणा सरकारले धर्मशालामा थन्काइदियो । धर्मशालामा राणा शासकको थुनुवा रहेको केही दिनमै पत्नीद्वय मोहनकुमारी, दिव्याकुमारी, बुहारीद्वय सुशीला, नोना, छोरा केशव र छोरी बुनु (विजयालक्ष्मी) साथमै उहाँले देहत्याग गर्नुभयो ।

पिताजीको देहत्यागकै दिन भारतीय स्वतन्त्रता संग्रामका  क्रममा थुनामा रहेका सोसलिस्ट पार्टीमा काम गर्ने माइला छोरा बीपी भारत बिहारको सेन्ट्रल जेलबाट छुट्नुभयो । तर बीपी पिताजीको अन्त्येष्टिमा भाग लिन तुरुन्त काठमाडौँ आउन सक्ने कुरै भएन । यसरी जनताको हक अधिकारका लागि अविराम लडिरहने पिताजी कृष्णप्रसाद अन्तिम समयसम्म पनि राणा शासकको तारो बन्नुपर्‍यो ।

पिताजीको शव घाटमा राखिएको थियो । शव उठाउन बाहुन (मलामी) खोज्दा राणा शासकको डरले कोही आउन मानेनन् । ढुण्डीराज कोइराला त्यस समय मोहनशमशेरका छोरा शारदा र विजयलाई ट्युसन पढाउँथे । उनले तत्कालीन पुलिसका सर्वोच्च हाकिम चन्द्रबहादुर थापालाई अनुरोध गर्दा बाआमा मरिसकेका ६ जना पुलिस खटाइदिए । बाआमा निधन नभएकालाई मलामी लैजान नपाइने राणाकालीन थिति थियो ।

त्यतिबेला अहिलेजस्तो कालगतिले मरेबाहेक पोस्टमार्टम गर्ने व्यवस्था थिएन । कृष्णप्रसादको शवमा कात्रो बेर्नुअघि चले–नचलेको जनाउ दिन बन्दुकको संगीनले रोपियो । खासमा राणाकालीन समयमा सरकारी जेलमा रहेर मरेका व्यक्तिलाई संगीनले रोपेर मात्र शव जलाउने परम्परा थियो । पिताजीको शवमा संगीन रोपेपछि छोरा केशवले जंगिएर भने, “मरिसकेको व्यक्तिलाई संगीन किन रोपेको ?”

घाटमा रहेका राणा पुलिसका मान्छेले केशवलाई सम्झाए । थुनामा कैदीको मृत्यु हुँदा उसको शरीरमा संगीनले घोचेर हेर्दा चटपटाएन भनी मुचुल्का लेख्नुपर्ने हुँदा सरकारी चलन भएको प्रस्टीकरण उनीहरुले दिए । सरकारी व्यवस्थाअनुरुप सबै कर्म गरिएको प्रस्टीकरण दिएपछि केशवले चित्त बुझाउनुको विकल्प रहेन ।

कुनै बेला सरकारी जागिर (सुब्बा) को नियुक्तिसमेत पाएको व्यक्तिलाई आफ्नो शासनको बर्खिलापमा आवाज उठाएको भन्दै पिताजी कृष्णप्रसादप्रति राणा कठोर र निर्दयी भए । राणा शासनका अगाडि कसैको केही लाग्दैनथ्यो । उनीहरुको बोली नै कानुन बन्ने अवस्था थियो । भीमशमशेरले त कोइराला परिवारको उठिवास नै लगाएका थिए, सम्पत्ति जफत गरिदिएर । तर, जुद्धशमशेरले प्रधानमन्त्री भएपछि जायजेथा फुकुवा गरिदिएका थिए ।

राणा शासकले पिताजी कृष्णप्रसादलाई सम्मान पनि दर्शाउँथे कुनै बेला, जुन कुरा बीपीले नै उल्लेख गर्नुभएको छ । बीपीले राणा शासकसँग कृष्णप्रसादको सम्बन्धबारे भन्नुभएको छ– ‘भीमशमशेरको मृत्युपछि श्री ३ भएका प्रधानमन्त्री जुद्धशमशेरले पद सम्हालेको त्यस्तै २०/२१ दिन भएको थियो । पिताजी जुद्धशमशेर भेट्न (त्यतिबेला चाकरी भनिन्थ्यो) जानुभएको थिएन । त्यस कुरालाई जुद्धशमशेरले नोट गरेका रहेछन् । उनले आफ्ना आठपहरिया (सरदार) लाई पठाएछन्, कृष्णप्रसादलाई ल्याउनू भनेर । त्यसबेला जुद्धशमशेर जावलाखेल बस्थे । सरदारले कृष्णप्रसादलाई लिएर जुद्धशमशेरकहाँ पुर्‍याए । त्यसपछि जुद्धशमशेरले पिताजीलाई ‘मलाई किन भेट्न नआएको भनेर सोधेछन् ।’

पिताजी सधैँभर जनताका पीरमर्का सम्बोधन होऊन्, देशमा प्रजातन्त्र आएर जनताकै छोराछोरीले शासनाधिकार सम्हाल्न पाऊन् भन्ने विचारका हुनुहुन्थ्यो । पिताजीले जुद्धशमशेरसँगको भेटमा आफ्ना २१ छोराछोरीका लागि बडेबडे महल नबनाउन, बिर्ता नलिनसमेत आग्रह गर्नुभएको थियो । पिताजीका कुरा सुनेपछि जुद्धशमशेरले आफ्ना सन्तानका लागि सम्पत्ति जोड्दिनँ, जनताकै लागि काम गर्छुसमेत भनेछन् ।

यसरी राणा शासकसामु निडर भएर बोल्ने पिताजीलाई उनीहरुले सम्मान पनि दर्शाउँथे । तर, आफ्नै शासनविरुद्ध लागेको भन्दै उनै राणाहरुले पिताजीलाई कहिले जेल, कहिले धर्मशालामा बन्दीका रुपमा राखिरहे । काठमाडौँको जुद्ध धर्मशालामा मृत कृष्णप्रसादका साथ छोरा केशव पाटन शंखमूल गए । शंखमूल (बागमती घाट) मै कृष्णप्रसादको दाहसंस्कार गरियो ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: पुस ५, २०७५

ट्याग: स्मरण