सरकार स्थिर सबथोक स्थिर

- लक्ष्मण गाम्नागे

हामीले लामो समयदेखि मुलुकमा स्थिर सरकार खोजेका थियौँ । ढिलै भए पनि खोजेको कुरा पायौँ । गएको निर्वाचनमा एउटै पार्टीले बहुमत प्राप्त गरेर सरकार बनाउने स्थिति भए पनि स्थिरतालाई थप पूर्णता दिन पहिलाजस्तै दुई–तीनवटा दल मिलेर सरकार बनाइयो । दशकौँदेखि संयुक्त सरकारमा अभ्यस्त भएकाले एकल सरकारले देशमा अस्थिरता ल्याउला भन्ने डर भएन अब । सरकार स्थिर भएपछि बाँकी कुरा पनि स्थिर भए । राजनीति स्थिर भयो, राजनीतिक दलहरु स्थिर भए । तिनीहरुका गतिविधि पनि स्थिर भए । तिनीहरुमा कुनै अस्थिरता, परिवर्तन, बदलाव आएन । सबै पक्ष स्थिरतामा दृढ देखिए ।

मिलिजुली सरकार सिंहदरबारमा स्थिर छ, धेरै हल्लिएको छैन । प्रधानमन्त्री पनि बालुवाटारमा स्थिर छन्, कहिलेकाहीँ मात्र सिंहदरबार जान्छन् । कतिपय मामिलामा हाम्रा प्रधानमन्त्री कट्टर स्थिरवादी देखिए । समयको पालनामा उनी एकदमै स्थिर छन्, हरेक कार्यक्रममा दुई–चार घन्टा ढिला गर्ने उनको नानीदेखिको बानी जस्ताको तस्तै छ । प्रतिपक्षी र आलोचकहरुलाई थला बस्ने गरी जवाफ लगाउनमा पनि उनी स्थिर छन् । उनको पार्टी पनि स्थिरतामा बिल्कुल कायम छ । पहिला पनि पार्टीमा दुई–चारवटा गुट हुन्थे, अहिले पनि छँदैछन् । गुटका नेताहरुले एकअर्कालाई नंग्याउने, पछार्ने प्रवृत्ति स्थिर छ । प्रतिपक्षी दलले पनि राजनीतिक स्थिरता कायम राख्न पूरा सहयोग गरेको छ । गुटबन्दीले चरम रुप धारण गरी स्थिरतापूर्वक गाँड कोराकोर चलिरहेको छ ।

सरकारका विकास गतिविधिहरु प्राय: स्थिर नै छन् । सहरमा धूवाँको कुइरीमण्डल स्थिर छ । धूलोको मुस्लो स्थिर छ । खाडल स्थिर छन् । भ्रष्टाचार पनि स्थिर छ । हत्या, बलात्कार, ढिलासुस्तीजस्ता कुरा पनि यथावत छन् । यातायातका क्षेत्रमा, ठेकेदारी क्षेत्रमा, वैदेशिक रोजगारीका क्षेत्रमा, उड्डयन क्षेत्रमा केही अस्थिरता सिर्जना हुन खोजेको थियो सुरुमा । तर त्यो पनि अहिले स्थिर भइसक्यो । अब त्यहाँ अस्थिरता नआउला ।

देशमा अनेक काण्डहरु स्थिरतापूर्वक सम्पन्न भइरहेका छन् । सुनकाण्डपछिको कारबाहीको प्रक्रिया स्थिर छ । निर्मला हत्याकाण्डलाई हेर्नुस्, उहिले–उहिले भएको भए घटना घटेपछि यसबेलासम्म अर्कै सरकार आइसक्थ्यो । अपराधी पत्ता नलागे पनि नयाँ सरकार आएपछि अघिल्लो सरकारका पालामा भएको घटना भनेर सामसुम भइसक्थ्यो । अहिले त स्थिर सरकार छ, हत्याकाण्डको अनुसन्धान पनि स्थिर छ । पाँच वर्षसम्मै यो काण्डले स्थिरता लेलाजस्तो छ ।

राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा स्थिरता विद्यमान छ । तेलका ट्यांकरवालाहरु, पेट्रोल पम्पवालाहरु तेल चोर्न पाउनुपर्ने मागमा स्थिर छन् । यातायात व्यवसायीहरु, ट्याक्सीवालाहरु यात्रु ठग्न पाउनुपर्ने विचारमा स्थिर छन् । व्यापारी व्यवसायीहरु कर छल्नमा स्थिर छन् । सरकारको बजार अनुगमन स्थिर छ । सरकार कर्मचारीलाई प्रदेश पठाउने प्रयासमा स्थिर छ, कर्मचारीहरु टसको मस भएका छैनन्, राजधानीमा स्थिर छन् । बिचौलियाहरु आफ्नो कर्मक्षेत्रमा स्थिरतापूर्वक काम गरिरहेका छन् । मानव तस्करका नियमित कर्ममा कुनै अस्थिरता उत्पन्न भएको छैन । युवाहरु विदेशिने कुरामा पनि अस्थिरता आएको छैन ।

समग्रमा हेर्दा देशको स्वास्थ्य एकदम स्थिर छ । आशा गरेभन्दा पनि बढी स्थिरता हामीलाई प्राप्त भएको छ । धन्य छ, हाम्रो स्थिर सरकार, स्थिरतामा एकदमै दृढ छ ।

प्रकाशित: पुस ३, २०७५

ट्याग: झटारो