दल सुधारौँ, माथिबाटै

- जुगल भुर्तेल

  • दोस्रो संविधानसभा चुनावको उत्कर्षमा एमालेबाट प्रतिस्पर्धारत एक नेतालाई हालचाल सोध्न फोन गरेँ । निर्वाचन क्षेत्र फरक परेकाले म उहाँको मतदाता त थिइनँ । तर उहाँजस्ता निष्ठावान मानिसले जित्नुपर्छ भन्ने कामना थियो । निराशाले थाकेको स्वरमा उहाँले भन्नुभयो, ‘जुगल भाइ, संसदीय निर्वाचन मजस्ता मानिसका लागि होइन रहेछ । कार्यकर्तालाई घरदैलो गराउन मात्र दैनिक कम्तीमा ५० हजार रुपैयाँ खर्च हुन्छ । कसरी पु‍र्‍याउनु, कहाँबाट ल्याउनु ∕’ भूमिगतकालमा पार्टीको आदर्शका लागि आफू कार्यकर्ता भएर कसरी उत्साह र समर्पणका साथ लडिएको थियो भन्ने सम्झनाले उहाँको स्वर द्रवित थियो । उ जमानाको रुमानी क्रान्तिगाथाले आजका कार्यकर्ता परिचालित हुने कुरा थिएन, अर्थोकको जोरजाम सायद हुन सकेन । उहाँले चुनाव हार्नुभयो ।
  • गत संसदीय चुनावमा पराजयपछि शेखर कोइरालाले आफ्नो र समग्र नेपाली कांग्रेसको हारको कारण केलाउँदै पार्टी परिचालन पटक्कै नभएको र क्रियाशील सदस्यसँगै भोट माग्नुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको मार्मिक चित्रण गर्नुभयो । अर्थात्, क्रियाशील सदस्य आफूले खेल्नुपर्ने भूमिकाविपरीत निष्क्रिय भएर बसिदिए । बीपीको विराट व्यक्तित्वको आलोकमा कठिन संघर्षको यात्रालाई सहजै झेलेर आएको कोइराला परिवारका सदस्यलाई पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण क्षणमा क्रियाशील सदस्यले आफ्नो क्रियाशीलताको मूल्य यसरी तोक्लान् भन्ने कल्पना थिएन, सायद ।

यी दुई प्रतिनिधि घटना मात्रले पनि ठूला पार्टीका कार्यकर्ताको वर्तमान मनस्थिति सहजै अनुमान गर्न सकिन्छ । हिजोका क्रान्तिकथा कलिलो उमेरको नयाँ कम्युनिस्ट जन्माउन अझै काम लाग्न सक्लान् तर पार्टीको फोहोरी राजनीतिमा अभ्यस्त कार्यकर्तालाई त्यसले उत्प्रेरित र परिचालित गर्न सक्दैन । आजका कांग्रेसी कार्यकर्तालाई बीपीको सपनाको गन्थन पदलोलुप बूढाहरूको ढोङसिवाय अरू केही लाग्दैन । तर कार्यकर्तामा नेतृत्वको प्रतिविम्ब हुन्छ । त्यसैले इतिहासको कठघरामा उसलाई उभ्याउँदा नेतृत्वकर्ताले पनि सँगै उभिनुपर्छ । कार्यकर्तामाथि मात्र केन्द्रित भएर गरिएको विश्लेषणले दलहरूका कमजोरीको निदान हुँदैन ।

यदाकदा दलका नेता–कार्यकर्तामा विकसित यस्तो विसंगतिको विश्लेषणले ‘सुकिलामुकिला’ कै दृष्टिकोणलाई पृष्ठपोषण गरेर यो शिशु गणतन्त्रलाई कमजोर पार्ने हुँदा त्यस्तो विमर्श आधारभूत रूपमै घातक छ भन्ने तर्क गरेको सुनिन्छ, तर त्यो न्यायोचित छैन । यो पुरानै माओवादीभित्र मौलाएको विसंगतिविरुद्ध केही बोल्दा शान्ति प्रक्रिया खल्बलिने चेतावनीभन्दा किञ्चित भिन्न छैन । बरु दललाई थला पारिरहेको रुग्णताको अविलम्ब उपचार नगरे यसैले हाम्रो शिशु गणतन्त्रलाई सिध्याइदिनेछ । नेपालले थालेको कार्यकर्ता बहस मा विष्णु सापकोटाले यी रोगका सारा लक्षण छर्लंगै देखाइसक्नुभएको छ । त्यस्तो विचार सम्प्रेषणले स्थापित दलहरूप्रति जनतामा वितृष्णा उत्पन्न भएर वैकल्पिक शक्तिहरू लाभान्वित हुन्छन् भन्ने आशंका निराधारै त छैन तर विकल्पको रूपमा सधैँ राजा महेन्द्रकै नयाँ अवतार आउने भय वितरण गर्दा नेपाली जनताको विवेकको अपमान हुन्छ । बरु पुरानै शक्तिभित्र घनीभूत हुँदै गएका थुप्रै विकृतिले तिनलाई झन्–झन् अलोकतान्त्रिक, उग्र राष्ट्रवादी र दक्षिणपन्थी बनाइरहेको छ । महेन्द्रका विरुद्ध वर्षौं कालकोठरीमा बिताएका नेताको अशोभनीय आत्मश्लाघामा तिनै महेन्द्रको कारुणिक प्रतिविम्ब छैन र ? मानव जातिमा आजभन्दा राम्रो गर्ने अपरिमित क्षमता छ र नयाँनयाँ विकल्पको खोजी मानवोचित रुझान हो । यद्यपि जनोत्तेजनाका लागि पुरानालाई सत्तोसराप गरेर तिनैका नेता बटुल्दै र तिनकै सांगठनिक मोडेलको नक्कल गर्दै विभिन्न भ्रातृ संगठनमार्फत राज्यका निकायहरूको पार्टीकरण गरेर बन्ने संरचना कुनै व्यावहारिक विकल्प नभएर पुरानैको भद्दा नक्कल मात्र हुनेछ । यसको यथेष्ट संकेत अहिले नै देखिइसकेको छ ।

जारी बहसलाई अघि बढाउँदै नेपालको अघिल्लो अंकमा भास्कर गौतमले एउटा गहन निष्कर्ष निकाल्नुभएको छ– हामीले गरेको अपेक्षाविपरीत दलहरू समाज ‘रूपान्तरणको संवाहक हुन सकेनन्, परिवर्तनकारी शक्ति नै भए’। राजनीतिक दलका नेता–कार्यकर्ताले हिजोकै शासकीय संस्कारलाई मलजल गरेको उहाँको ठम्याइमा असहमत हुने कुनै कारण छैन । राजनीतिक संरचनामा परिवर्तन भए पनि आधारभूत मूल्य–मान्यतामा खासै परिवर्तन हुन नसकेको पीडा उहाँलगायत धेरै विद्वान्ले पटक–पटक व्यक्त गरिसकेका छन् । तर मूल प्रश्न ‘त्यस्तो किन छ’ भन्दा पनि ‘ त्यस्तो किन भयो’ भन्ने नै हो ।

हामीले ‘सबै प्रश्नको जवाफ माक्र्सवादमा मात्र छ’ भन्दै दुनियाँ ढाँटेर आफ्नो दुनो सोझ्याएका थुप्रै कामरेड देखिइसकेको हुँदा घरिघरि माक्र्सतिर फर्किनु औचित्यहीनजस्तो लाग्छ । यद्यपि गरिब देशमा एकै समयमा सर्वहाराको मसिहा बनेर सामाजिक सहानुभूति र प्रतिष्ठा बटुलिरहने तर फेरि पुँजीवादी वैभवप्रति पनि उति नै लुब्ध पात्रको पाखण्डलाई हेर्दै संसार कति विडम्बनाले भरिएको छ भनेर रमाइलो दार्शनिक चिन्तन गर्न पनि बेलाबेला माक्र्सका ठेली पल्टाउनुपर्ने हुन्छ ।

निश्चय नै माक्र्ससँग सबै मानवीय जिज्ञासाको उत्तर छैन । उनका धैरै उत्तर सन्देहको घेरामा पनि छन् । तर उनले पुरानो संसार ध्वस्त पार्ने ऊर्जाले भकभकी उम्लिएको आवेग बोकेर हिँड्ने आफ्ना विप्लवी अनुयायीलाई दिएको एउटा मन्त्र भने अत्यन्त दूरदर्शी थियो, जुन हाम्रो विमर्शमा पनि निकै सान्दर्भिक छ । सर्वहारा स्वयंकै गुणात्मक विकास नभई क्रान्तिका लागि अधीर नहुन श्रमिक वर्गलाई सचेत गर्दै माक्र्सले लेखेका छन्– ‘१५, २०, ५० वर्षको लडाइँ र संघर्ष समाजलाई परिवर्तन गर्न मात्र होइन कि आफू स्वयंलाई परिवर्तन गर्दै राजनीतिक शक्तिलाई अभ्यास गर्न सक्ने क्षमताको विकासका लागि पनि प्रयोग गर्नुपर्छ ।’ क्रान्ति लामो प्रक्रिया हो, जसमा अगाडि बढ्दै जाँदा क्रान्तिकारीहरूमा सबै किसिमको दक्षता वृद्धि हुँदै जान्छ र क्रान्तिको भोलिपल्ट विगतका मालिकहरूको नक्कल नगरी सहजतापूर्वक शासन–सत्ता सञ्चालन गर्न सकिन्छ भन्ने गहन भाव बोकेको माक्र्सको यही सन्देशलाई उपेक्षा गरेकाले नै सबै माक्र्सवादी पार्टीहरूमा विचलन देखिएको हो । ‘सत्ताबाहेक अरू सबै भ्रम’ ठान्ने उन्मादमा सञ्चालन गर्ने कौशलबिना जितिएको सत्ताको सिंहासनमा बसेकै भोलिपल्ट ‘परराष्ट्र सम्बन्धका सूक्ष्मतालाई बुझ्न’ उनै रमेशनाथ पाण्डेको शरणमा पुगेको दयनीय दृश्यका हामी प्रत्यक्षदर्शी हौँ । यसको अर्थ निश्चित परिपक्वता हासिल नहुन्जेल राजनीतिक परिवर्तनका लागि अतिरिक्त प्रयत्न गर्नै हुन्न भन्ने कदापि होइन । यसको आशय लामो क्रान्तियात्रामा सत्ता सञ्चालनको परिपक्वता हासिल गर्ने प्रयत्न आफैँ पनि क्रान्तिको एउटा अभिन्न अंग हो, जसको उपेक्षा घातक हुन्छ ।

पूर्वसोभियत संघमा लेनिनदेखि स्टालिनसम्म पुगुन्जेल प्रमाणित नै भयो कि हिंसाको बलमा हठात कब्जा गरिएको सत्ताले राज्य सञ्चालनका लागि हिंसालाई नै सबैभन्दा सजिलो साधन बनाउने रहेछ । अरू सीप विकास गर्न धेरै समय लाग्छ तर हतियारको प्रयोग त मानिसले आदिकालदेखि गरिआएकै छ । सन् १९१७ को बोल्सेभिक सत्ताकब्जापछि गाउँगाउँमा शासन गर्न पुगेका पात्रहरूद्वारा क्रान्तिका नाममा देखाइरहेको सर्वसत्तावादी ताण्डवले असाध्य पीडित बनेका माक्सिम गोर्कीले आफ्नो नोभाया झिज्न पत्रिकाको नियमित स्तम्भमा नयाँ शासकहरूको तिखो आलोचना गर्दै तिनलाई ‘क्रान्तिकारी विचारको सिर्जनात्मक ऊर्जा’ निस्तेज तुल्याइदिने हिंस्रक पात्रका रूपमा चित्रण गरेका छन् । सोभियतकालजस्तो आज हतियारको बलमा सत्ता टिकाउन सम्भव छैन । त्यसैले हतियारको ठाउँ पैसाले लिएको छ र मूलत: त्यही नै यावत विकृतिको उद्‍गम बनेको छ । 

 माथि कम्युनिस्ट आन्दोलनको कुरा गरिए पनि सत्तारोहणपछिको नेपाली कांग्रेसको मूल चरित्र पनि त्यसभन्दा भिन्न छैन । ०४६ को परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाले माक्र्सको आशंकालाई फेरि एकचोटि प्रमाणित गरे । सत्ता त हासिल गरे तर त्यसको सञ्चालन गर्ने दक्षताको अभावमा उनले उही पुरानो सहज बाटो समाते ‘पैसा, पुलिस र भारत मिलाउने’ । कोइरालाविरुद्ध विद्रोह गरेर नयाँ प्रजातान्त्रिक संस्कार देखाउने अपेक्षा गरिएका शेरबहादुर देउवा कोइरालाका स्वनामधन्य अनुयायी मात्र बनेनन्, उनीभन्दा एक कदम अगाडि बढेर संसदीय व्यवस्थालाई सबैभन्दा बदनाम र असफल साबित गर्ने कर्ता नै बने । माओवादी आन्दोलनले मुलुकको राजनीतिमा मौलिक परिवर्तन ल्याउने आशा राख्नेहरूलाई गिरिजाप्रसादाका सबैभन्दा ठूला प्रशंसक पुष्पकमल दाहालले त झनै निराश तुल्याइदिए । कथित ‘संसदीय भास’ मा प्रचण्ड र देउवाले देखाएको सजिलै तैरिने क्षमता विलक्षण र लोमहर्षक छ । माथिका शीर्ष नेताहरूको यही चारित्रिक विशेषता विस्तारित हुँदैहुँदै तल गाउँतहका कार्यकर्तासम्म पुगेको छ । मुलुकमा नवउदारवादी अर्थव्यवस्थाले दाबी गरेको आर्थिक वृद्धिको ‘ट्रिकल डाउन’ त खासै प्रभावकारी देखिएन तर त्यसका सबै विसंगति भने बग्दैबग्दै सर्वव्यापी भइसकेको छ । पार्टीभित्र संरक्षक नेता र केही सीमित संरक्षित कार्यकर्ताको सानो घेरामा समग्र दलगत राजनीति घुमेको हुँदा पार्टीको समाजसँगको सम्बन्ध अत्यन्त कमजोर भएको छ । यिनै प्रवृत्तिका कारण हुन सक्छ, देशमा भास्कर गौतमले भनेजस्तो जतिसुकै राजनीतिक परिवर्तन भए पनि समाजको वास्तविक रूपान्तरण हुन सकेको छैन ।

राजनीतिक दल र जनताबीचमा हुने संवादको कडी दलका कार्यकर्ता नै हुन् । तर आजका कार्यकर्ता दिग्भ्रमित छन् । पार्टीको लक्ष्यलाई आत्मसात गर्दै त्यसको प्राप्तिलाई जीवनकै उद्देश्य बनाएर जस्तै कठिन संघर्षसँग पनि जुध्ने आत्मविश्वासका साथ पार्टीसँग जोडिन आएको व्यक्ति कार्यकर्ता हो । पञ्चायतीकालको संघर्षमय युगमा पार्टीको कार्यकर्ता लोकतन्त्र प्राप्तिको उद्देश्यले प्रेरित र परिचालित थियो । त्यसअघि राणाकालीन दासत्वबाट मुक्तिका खातिर ऊ पार्टीसँग जोडिएको थियो । त्यसबेला पार्टीको कार्यकर्ता हुनु निकै जोखिमपूर्ण भए पनि त्यसले सामाजिक सम्मान र प्रतिष्ठा दिलाउँथ्यो । यसरी विगतमा पार्टी र कार्यकर्तालाई तानाशाहीविरुद्धको लडाइँले जोडेको थियो । अब त्यसरी लड्नुपर्ने शक्ति छैन । आज पार्टीहरूले गाउने अमूर्त समाजवाद र समृद्धिको गीत कार्यकर्तालाई प्रेरित गर्ने स्पष्ट ध्येय बन्न सकेको छैन । पार्टीसँग जोडिइरहेको ‘क्रियाशील’ कार्यकर्ताको कुनै ‘मिसन’ नभएर ऊ दिशाहीनजस्तो भएको छ । ऊ फगत अरू कुनै वृत्ति नभएर मात्र पार्टीमा सक्रिय छ । र, उसलाई थाहा छ– अब त्यसबाट सामाजिक सम्मान र प्रतिष्ठा आर्जन हुँदैन । त्यसैले उसले आफ्नो सक्रियताको मूल्य निर्धारण गरेको छ । ऊ आहत छ किनकि नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेर आर्थिक लाभ गरिरहेको देखेको छ । ऊ क्रुद्ध छ किनकि नेतागणले क्षमतावान कार्यकर्ताको अवमूल्यन गर्दै सीमित मानिसलाई मात्र प्रवद्र्धन गरिरहेको उसले भोगेको छ । त्यसैले पार्टीको कार्यकर्ता अब भावनामा बगेर तिनका लागि क्रियाशील हुन चाहँदैन । संसद्को समानुपातिक सिट बेचेर आफ्नो साम्राज्य चलाइरहेको नेतृत्वले पार्टीलाई त्यही सिट दिलाउन कार्यकर्ताले निर्वाचनमा नि:स्वार्थ सक्रियता देखाओस् भन्नु अत्यन्त क्रूर आग्रह हो । कार्यकर्तालाई निरन्तर गुटअनुकूल उपयोग मात्र गरिरहने तथा न्याय, स्नेह र उत्प्रेरणा प्रदान गर्न नसक्ने नेताले आम कार्यकर्ताको वफादारी नपाउने हुनाले नै विभिन्न पार्टीमा अन्तर्घात संस्थागत भएको छ । त्यो अराजक र अनैतिक हतियार हो तर पार्टीलाई वर्षौंदेखि कब्जा गरिरहेका गुटाधीशहरूविरुद्धको विद्रोहको रूपमा त्यसलाई बुझे मात्र समाधान निस्कन्छ ।

यी विकृति र विसंगतिबीच विश्वभरि नै लोकतन्त्रमा राजनीतिक दलहरू राज्यलाई जनतासँग जोड्ने पुल हुन् । राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव नहुने हुँदा अन्य योग्य र नितान्त नयाँ मोडेलको लोकतान्त्रिक विकल्प नभेटिउन्जेल जुन दल उपलब्ध छन्, तिनैलाई सुधारेर जानेबाहेक अरू बाटो छैन । सुधारचाहिँ तलबाट होइन, माथिबाटै हुनुपर्छ किनकि पार्टीहरू टाउकोदेखि नै रोगाएका छन् । 

ठूलो संख्यामा साधारण सदस्यता वितरण गर्दा पार्टीभित्र जरा गाडेको संरक्षक र संरक्षित मोडेलको सक्रिय वा क्रियाशील सदस्यता प्रणाली कमजोर हुन सक्छ र पार्टीलाई अझ लोकतान्त्रिक बनाउन मद्दत पुग्छ । साधारण सदस्य बृहत् आदर्शका कारण पार्टीमा आबद्ध हुन्छ तर पार्टीका निश्चित नेता–संरक्षकमा आश्रित हुँदैन । संगठनलाई सामाजिक आन्दोलनको रूपमा प्रयोग गर्न सक्दा साधारण सदस्यको स्वत:स्फूर्त सक्रियतामा वृद्धि भई पार्टी समाज रूपान्तरणको माध्यम बन्न सक्छ । पार्टीको साधारण सदस्यलाई आफ्नो भूमिका आफैँ निर्धारण गर्ने मौका दिइन्छ । समय र स्रोत उपलब्ध छ भने आफ्नो रुचिअनुसार कसैले आमसभामा भाग लिएर पार्टीलाई सघाउँछ, कसैले बैठकमा उपस्थिति जनाएर वा आफ्नो क्षेत्रको निर्वाचनमा उम्मेदवारलाई समर्थन गरेर वा सक्रिय रूपले सघाएर । अनि कसैले पत्रपत्रिकामा लेखेर वा आर्थिक सहयोग गरेर पार्टीलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गर्छ । ती हरेक बिहान सकी–नसकी ‘अभिवादन’ वा ‘जय नेपाल’ टक्र्याउन नेताको आँगनमा पुग्दैनन् । आफ्नै पेसा–व्यवसायमा व्यस्त पार्टीका स्वावलम्बी सदस्यलाई पार्टीबाट मुलुकको शान्ति र प्रगतिबाहेक अन्य कुनै अपेक्षा छैन । आफ्ना सदस्यको त्यो अपेक्षालाई पूरा गर्ने इमानदार प्रयत्नबाहेक पार्टीका नेतालाई पनि सदस्यप्रति कुनै अतिरिक्त दायित्व छैन । आफ्ना विचार र कार्यक्रमलाई जनतामा सम्प्रेषण गर्न पार्टीले सामाजिक सन्जाललगायतका आधुनिक मिडियाको व्यापक र प्रभावकारी प्रयोग गर्ने गरेकाले चुनावमा घरदैलोजस्तो खर्चालु माध्यमको जरुरत छैन । पार्टीमा विशेष सक्रियता देखाउनुपर्ने वा माथिल्लो नेतृत्वमा जान सक्ने क्षमतावान ‘क्रियाशील’ सदस्यको छनोट तिनै साधारण सदस्यबाट हुन्छ । तर ती क्रियाशील पनि पार्टीमा अहोरात्र ‘क्रियाशील’ र आर्थिक रूपले आश्रित हुँदैनन् । ‘क्रियाशील’ सदस्यको बौद्धिक उत्थान र नेतृत्व क्षमता विकासका लागि पार्टीले निरन्तर तालिमको व्यवस्था गरेको छ । त्यसरी आफ्नो व्यक्तित्व विकासको अवसर पाएर तयार हुँदै जाँदा एक दिन पार्टी र देशै हाँक्ने ठाउँमा पुग्न सकिन्छ भन्ने विश्वासले कार्यकर्तालाई पनि उत्प्रेरित गर्छ । सुन्दा अनौठो लाग्छ तर रुसमा करिब २० लाख सदस्य भएको भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ पार्टीको जीवन यसैगरी चलेको छ ।

हामी पनि यस्तै मोडेलको संगठनमा किन नजाने ? अत्यन्त पिछडिएको हिजोको नेपालमा सान्दर्भिक हुने गरी बनाइएका पार्टी संगठनको ढाँचालाई आजको आर्थिक, सामाजिक आधारमा आएको परिवर्तन र प्राविधिक विकासअनुकूल बनाए पनि धेरै विकृतिको अन्त्य हुन सक्छ । अहिले कांग्रेसको महासमिति बैठकलाई पार्टीभित्र यस्तो आमूल सुधार गर्ने अवसर छ, समयक्रममा अरू दललाई पनि यस्तो मौका आउने नै छ । ‘प्रभावशाली’ नेतागणको पदाकांक्षाको सम्बोधन हुन सक्यो भने कांग्रेस बैठकले एकछिन संगठनबारे पनि केही चिन्तन गर्ला भन्ने आशा गर्दा आदर्शवादी बुद्धिविलास ठानिने जोखिम त छ । तर यस्तो बेला बेलायती समाजवादी विचारक राल्फ मिलिव्यान्डको एउटा भनाइले सधैँ मलाई सान्त्वना दिने गरेको छ । आजको तुलनामा कता हो कता आदर्श समाजको निर्माण सम्भव छ भन्दा प्रमाण खोज्नेहरूलाई उनले भनेका छन्– ‘त्यस्तो प्रमाण नहुनुलाई नै निष्कर्ष ठान्ने हो भने अहिले उपलब्धभन्दा अझ उत्कृष्ट वस्तुको प्राप्ति मानव जातिको क्षमताभन्दा बाहिरको कुरा हो भन्ने मान्नुपर्छ ।’

(कार्यकर्ता बहस मा अर्को साता विश्लेषक खगेन्द्र प्रसाईंको विचार प्रकाशित हुनेछ )

प्रकाशित: पुस ३, २०७५

ट्याग: विचार