महाराज नांगै छन्

- सुरेश किरण

हुँदा–हुँदा महाराज नांगै बाहिर आउन थालिसकेका थिए । पहिले–पहिले त नांगै भए पनि अलिकति लाज ढाकेर आउँथे । तीन औँलाकै भए पनि जिउमा कपडा नामको कुनै वस्तु हुने गथ्र्यो । तर पछिल्लो समय त महाराजले त्यो पनि त्याग्न थाले । फलस्वरुप सम्पूर्ण नांगो अवस्थामा पुगे ।

तर महाराज त महाराजै हो । नांगो भए पनि महाराज नांगो छ भन्ने कसले ? आखिर नांगै भए पनि महाराजलाई दौरासुरुवाल कस्तो सुहाएको भन्नुपर्ने स्थिति मुलुकमा जो थियो । भन्न सक्ने वातावरण छैन । तर नभनी धर पनि छैन । त्यसैले राज्यका केही बुद्धिजीवीहरुले निर्णय गरे– महाराज नांगै छन् भन्ने कुरा यदि आफूले भन्न सक्ने अवस्था छैन भने कुनै एउटा बालकलाई भन्न लगाऔँ । बालकले भनेपछि महाराजले पक्कै बुझ्नेछन् । एउटा बालकले राजा नांगो छ भनेको कुरालाई राजाले तुरुन्तै बुझेको एउटा कथा पनि उनीहरुले कतै पढेका रहेछन् । बुद्धिजीवीहरुले पनि त्यही कथा लागू गर्ने सोचे ।

राजाको सवारी हुन लाग्दै थियो । सवारीका बेला बाटो ब्लक गर्ने चलन त्यहाँ पनि रहेछ । ब्लकका बीच राजाको सवारी भयो तर नांगै ! सबै छक्क परे । छक्क परेर के गर्नु ? बोल्नुभएन । त्यही बेला बुद्धिजीवीहरुद्वारा प्रायोजित बालक ट्याक्क राजानजिक पुग्यो । र, ठूलो स्वरमा भन्दिहाल्यो– राजा त नांगै रहेछ । छ्या कस्तो लाज नभाको राजा होला ?

कथाअनुसार त बालकले यति भनिसकेपछि राजा सोचमग्न हुनुपर्ने हो । सुधारबारे चिन्तन गर्नुपर्ने हो । तर यहाँको घटना भने कथाजस्तो भइदिएन । बालकले राजा नांगो छ के भनेको थियो, राजाले तुरुन्तै जवाफ फर्काइहाले– म नांगो भए तँचाहिँ के हो त ? तेरो पनि पोल खोल्दिऊँ ? बच्चा बेला तैँले पनि तुरतुरे देखाएर खिचाएको फोटो मसँग छ । पत्रिकामा छापिदिऊँ तेरो त्यो फोटो ?

राजाको जवाफ सुनेर बालक त्यहाँबाट भागिहाल्यो । बालकलाई प्रायोजन गर्ने बुद्धिजीवीहरुले के गरे, त्योचाहिँ थाहा भएन ।

प्रकाशित: पुस २, २०७५

ट्याग: परिहास