तमोरमा डुंगा सरर

- गणेश साम्पाङ

पाँचथर– तमोर नदीमाथि कहिलेकाहीँ युवाहरू डुंगा खियाउँदै रमाइलो गर्दै देखेका मेदिनी लावतीलाई आफैँ र्‍याफ्टिङमा हुइँकिँदा साँच्चै आनन्द लाग्यो । पर्यटकीय पहिचान बनाइसकेका इलाम र ताप्लेजुङ पुग्ने पर्यटकलाई पाँचथरतिर तान्न र्‍याफ्टिङलगायतका साहसिक र रोमाञ्चक खेल सुरु गरिएपछि मेदिनीले पनि त्यसको अनुभव लिन पाए ।

पाँचथर र ताप्लेजुङलाई सीमा बनाएर बग्ने तमोर नदीमा मंसिर पहिलो साता र्‍याफ्टिङ सुरु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–२ पिनासीघाटबाट फिदिम–४ माझीटारसम्मको साढे १२ किलोमिटरको यात्रा पूरा गर्न साढे दुई घन्टा लाग्छ । प्याराग्लाइडिङको परीक्षण उडान सफल भई सञ्चालनको अन्तिम तयारी थालिएको तमोर भ्याली ट्राभल्स टुर्स एन्ड ट्रेकिङ प्रालिका दीपेन्द्र तुम्बापो बताउँछन् ।

सदरमुकाम फिदिममा प्याराग्लाइडिङको व्यावसायिक उडान २१ पुसदेखि सुरु हुने भ्याली भ्यू एडभेन्चर प्रालिको दाबी छ । हावाको चाप र अन्य हिसाबले पनि पाँचथर र फिदिम दुवै स्थानमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको अनुभव फिदिमको आकाशमा उडेर परीक्षण उडान सफल गरेका पाइलट केशव अधिकारीको छ । जिल्लाका अन्य पर्यटकीय सम्भावना बोकेका बजारमा परीक्षण उडान गरिनेछ ।

नेपाल राष्ट्रिय एसोसिएसन र्‍याफ्टिङ एजेन्सीका पूर्वअध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदीमा र्‍याफ्टिङ सञ्चालन गर्न सन् १९९७ मै सर्वे गरिए पनि सरकारले सन् २००२ मा मात्र अनुमति दिएको थियो । सरकारले नेपालका १६ नदीमा र्‍याफ्टिङ गर्न अनुमति दिइसकेको छ ।

नेपालमा केही वर्षदेखि पर्यटकको ध्यान तान्न र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी र क्लाइम्बिङजस्ता साहसिक खेल सफल भइसकेका छन् । र्‍याफ्टिङका लागि विदेशी पर्यटकको पहिलो रोजाइमा भोटेकोसी नदी परेको छ भने नेपालीका लागि तमोर । रिभर गाइड राजन थापामगर भन्छन्, “यहाँको नदीको बहाव नेपालीका लागि उत्तम देखियो । विदेशीभन्दा आन्तरिक पर्यटक लक्षित बनाउन सकिन्छ ।”


तस्बिरहरु : गणेश साम्पाङ


पूर्वमै पहिलो पटक र्‍याफ्टिङ र प्याराग्लाइडिङ सञ्चालन भएपछि इलाम र ताप्लेजुङ आउने पर्यटकले अब पाँचथरलाई पनि गन्तव्य बनाउनेमा व्यवसायी विश्वस्त छन् । पाँचथर उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरे भन्छन्, “पोहोरदेखि मिनी मुस्ताङ उपमा पाएको साधुटार आउने पर्यटक अब प्याराग्लाइडिङ र र्‍याफ्टिङले तान्ने निश्चित छ ।”

प्रकाशित: पुस १, २०७५

ट्याग: पर्यटन