घरेलु मैदानमै बिरानो

- विनोद पाण्डे

अघिल्लो महिना भएको पोखरा प्रिमियर लिग (पीपीएल) र राजधानीमा चलिरहेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) नेपाली खेलाडीले आफ्नो कमजोरी पत्ता लगाउँदै स्तर सुधार्ने एउटा राम्रो ‘प्लेट फर्म’ थियो । तर त्यसको कुनै छनक देखिएको छैन ।

विदेशी खेलाडीको दबदबामा यी प्रतियोगिता चलिरहेका छन् । पछिल्लो तीन फ्रेन्चाइज पीपीएल, ईपीएल र धनगढी प्रिमियर लिग (डीपीएल) प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार विदेशीले जितेका छन् । प्रमुख नेपाली खेलाडीले आफूलाई ‘एक्सपोज’ गराउन सकेका छैनन् । ईपीएलमा विदेशी खेलाडीले सजिलै रन बनाइरहँदा नेपाली खेलाडीका लागि घरेलु मैदानको विकेट पनि बिरानोजस्तै भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको समस्या ओपनिङ ब्याटिङबाट सुरु हुन्छ । भरपर्दो ओपनिङ जोडी नपाउँदा नेपालको ब्याटिङ धरमराउने गरेको छ ।

पछिल्ला घरेलु प्रतियोगिता हेर्दा नेपाल आफ्नो मुख्य समस्यामा केन्द्रित देखिँदैन । नेपालबाट ज्ञानेन्द्र मल्ल ओपनिङ ब्याटिङको भूमिकामा हुन्छन् । तर उनले घरेलु प्रतियोगितामा कमै मात्र ओपनिङ ब्याटिङ गर्ने गरेका छन् । विश्व ट्वान्टी–२० क्रिकेट एसिया छनोटका क्रममा विनोद भण्डारी, प्रदीप ऐरी, अनिल शाह ओपनिङमा देखिएका थिए । पीपीएल र ईपीएलमा भने विनोद तेस्रो, चौथो नम्बरमा प्राय: ब्याटिङ गर्छन् । नेपाली ब्याटिङको अर्को समस्या फिनिसिङमा पनि छ ।

ललितपुरका प्रशिक्षक राजु बस्न्यातका अनुसार ट्वान्टी–२० क्रिकेटमा नियमित स्थान भन्ने केही हुँदैन, आवश्यक परेका बेला जो कोही जुनसुकै स्थानमा खेल्न सक्छ । त्यसैले जो जुन स्थानमा खेले पनि फरक पर्दैन । उसले कसरी खेल्छ र कतिको जिम्मेवार भएर खेल्छ, त्यो महत्त्वपूर्ण हुन्छ । उनको ललितपुरले पीपीएलको पहिलो दुई खेलमा ब्याटिङ क्रम परिवर्तन गरेको थियो । त्यसपछिका दुई खेलमा तोमार र कोल्शावालालाई ओपनिङमा ब्याटिङ पठाउँदा उनीहरूले जब्बर प्रदर्शन गरेका छन् । यी दुई भारतीय ब्याट्सम्यानको प्रदर्शनका आधारमा ललितपुर बलियो टोलीमा उभिएको छ ।

पीपीएल, ईपीएलजस्ता फ्रेन्चाइज प्रतियोगिताको नेपाली राष्ट्रिय टोलीसँग खासै सम्बन्ध नहुनाले पनि खेलाडीलाई खुलेर खेल्ने अवसर दिएको छ । यस्ता प्रतियोगितामा देखाइएको प्रदर्शन राष्ट्रिय टोलीमा पुग्ने र विश्वास बनाउने आधार भएकाले खेलाडीले पनि त्यो बुझेर खेल्दा नेपाली टोलीको जग बलियो हुन सक्थ्यो । त्यसैले आफ्नो स्थान निश्चित गरेर खेल्दा र खेलाडीलाई नै राष्ट्रिय टोलीमा पुग्दा सजिलो हुने थियो ।

फ्रेन्चाइज क्रिकेटका अनुभवी रायन टेन डोस्काथ प्रतिभाका हिसाबमा नेपाली खेलाडीमा कुनै कमी देख्दैनन् । “मानसिक हिसाबमा उनीहरूलाई तयार पार्न जरुरी छ, कसरी खेल्ने, कस्तो खेल्ने हो भन्ने सिकाउन जरुरी छ,” नेदरल्यान्ड्सका यी खेलाडी भन्छन्, “उनीहरूलाई मार्ग निर्देश गर्नुपर्छ ।”

आयरल्यान्डले खेलेको एक मात्र टेस्टमा शतक प्रहार गरेका केभिन ओ’ब्राइन नेपाली खेलाडीले प्रदर्शन नदेखाएसम्म विदेशी खेलाडीले जति गरे पनि केही नहुने बताउँछन् । सोमपाल कामीको अनुपस्थितिमा काठमाडौँ किंग्स ११ को कप्तानी गर्दा ओ’ब्राइनको टोली ललितपुरसँग १० विकेटले लज्जास्पद हार बेहोरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । स्पिन ट्रयाकमा सबै विदेशी खेलाडीलाई खेल्न पनि सजिलो भएको छैन । त्यसैले ओ’ब्राइनसहित पोखरा राइनोजका कप्तान स्कटिस खेलाडी कायल कोएट्जर नेपाली स्पिनरको प्रशंसा गर्छन् । लेग स्पिनर सन्दीप लामिछाने २ खेलमा ५ विकेट लिएर बिग बास खेल्न अस्ट्रेलिया लागिसकेका छन् ।

नेपालको लक्ष्य सन् २०२० मा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नु हो । एसियाली क्षेत्रको दोस्रो चरण हुँदै ग्लोबल छनोट चरणबाट विश्व ट्वान्टी–२० मा पुग्नुपर्छ । विश्व ट्वान्टी–२० क्रिकेट एसिया छनोट ‘बी’ को प्रदर्शनलाई विश्लेषण गरी घरेलु प्रतियोगितामा त्यहीअनुरूपको तयारी गरे नेपाललाई भोलिका दिनमा सजिलो हुन सक्छ ।

प्रकाशित: पुस १, २०७५