भिक्षु अवतार

- मनोज पौडेल

विश्वमा अहंकार र अशान्ति बढ्दो छ । थाइल्यान्डको बैंकक नजिकको माइकसेमका फ्रा मोन्त्री सिङकाङ ‘शान्तिका निम्ति थोरै भए पनि योगदान गर्न सक्छु’ भन्ने लागेर बुद्धका अनुयायी बने । “नागरि कलाई राज्यले सेवासुविधा दिनुभन्दा सुरक्षाका लागि बजेट खर्चने होड चल्दो छ,” उनी भन्छन्, “यो युवा पुस्ताका लागि राम्रो होइन । त्यही भएर युवा जोश, उत्साह र शान्तिकै लागि व्यतीत गर्छु भनेर भिक्षु भएँ ।” २२ वर्षमै भिक्षु भएका उनी अहिले २८ वर्ष पुगे ।

यही शान्तिप्रेमले उनलाई बुद्धजन्मस्थल लुम्बिनीसम्म डोर्‍याएको छ । उनी यहाँ शान्ति, सद्भाव र भातृत्वका लागि झन् खारिन आएका छन् । अहिले लुम्बिनीस्थित रोयल थाई विहारमा बस्छन् ।

“लोभलालच र मोह नभएरै बुद्धको सच्चा अनुयायी बन्न आएको हुँ । त्यसकारण मानवलाई महान् ज्योति, आशा र सर्वोच्च आनन्द प्रदान गरेका बुद्धको सिद्धान्त अंगीकार गरेर स्वयंसेवीभावले काम गर्न प्रेरित हुन्छु । भित्रैबाट करुणा, मैत्री, दयामाया र सहयोगी भावनाले ओतप्रोत हुन्छु,” उनी भन्छन् ।

बिहानसाँझ तीन घन्टा विहारमा ध्यान गर्ने, प्रवचन सुन्ने र बुद्ध पूजामा व्यस्त हुन्छन् । त्यसबाहेक ६ घन्टा काममै बिताउँछन् । लुम्बिनी आएर जीवनै शान्तिका लागि समर्पित गर्छु भनेर प्रतिबद्ध बन्न प्रेरणा मिलेको उनको कथन छ ।

डेढ वर्षयता लुम्बिनी आएका उनले बुद्धको सेवाभावबाट प्रेरित भई आफूले जानेको सीप र कलाले विहार चिरिच्याट्ट पारेका छन् । कलात्मक सिकर्मी उनी हरेक कुरामा कला सिर्जिन्छन् । काठमा थाई अक्षर लेख्न पोख्त छन् । बुद्ध र अन्य कतिपय चित्र पनि कोर्छन् । काठका कुर्सीटेबल पनि बनाउँछन् ।

विहारभित्रको बगैँचा पनि सुन्दर बनाएका छन् । फूलबिरुवा आफैँ रोप्छन् । सिँचिन्छन् । विहार/मन्दिर परिसरका घाँसपात काटेर सुन्दर बनाएका छन् । एकपटक त्यहाँ पुग्ने जोकोही उनको ‘गार्डेनिङ’ देखेर मोहक हुन्छन् । बाटाघाटा, ढल र कुलेसो निर्माणको काम पनि जानेका छन् । मन्दिरमा झाडु पनि लगाउँछन् । खेर गएका पानी बोतल र कृषि कर्ममा प्रयोग गरिने झउवालाई उनले उपयोगी बनाएका छन् ।

फोटोग्राफीमा रुचि राख्छन् । मन्दिरभित्रै टाँसिएका ठूल्ठूला पोस्टर पनि उनकै डिजाइन हुन् । ५ जनाको परिवारमध्ये उनी मात्र भिक्षु हुन् । बाआमा र दुई दाजुभाइ थाइल्यान्डमै बस्छन् । शान्तिकामी सबैका लागि प्रेरणा–स्रोत बुद्ध जन्मस्थल लुम्बिनी आएर स्वयंसेवी बन्न पाउँदा कम्ता खुसी छैनन् ।

हेर्नुहोस् तस्बिरहरु :

शब्द/तस्बिर : मनोज पौडेल

 

प्रकाशित: मंसिर २८, २०७५

ट्याग: दृश्य