कृष्णप्रसादका अन्तिम दिनहरू

- कमल कोइराला

विसं २०३९ मा कृष्णप्रसाद कोइरालाका माइला छोरा, नेपालमा पहिलोपल्ट दुई तिहाइ बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्री  बीपी कोइरालाको मृत्यु भयो, काठमाडौँमा । पशुपतिको पश्चिम जयबागेश्वरीबाट निस्केको शवयात्रामा  हजारौँ जनताले सहभागिता जनाए– ‘बीपीको सपना साकार पार्छौं–पार्छौं, बीपी कोइराला अमर रहून्’ भनी ।

जेठा छोरा मातृकाप्रसाद कोइरालाको विसं २०५४ मा काठमाडौँ महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भयो । मातृका नेपाली सेनाका महारथी हुादा सेनाका परमाधिपति राजा वीरेन्द्रले सैनिक सम्मानका साथ अन्त्येष्टि गर्न लगाए ।

कान्छा छोरा गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टि र शवयात्राको शब्दचित्र काठमाडौँसहित नेपालभरका जनताको स्मरणमै छ । गिरिजाप्रसादको अन्तिम शवयात्राका लागि दशरथ रंगशाला भरिएको थियो भने आउजाउ गर्ने बाटासमेत बन्द थिए, मानिसको घुइँचोले गर्दा ।

जसका तीन छोराहरु नेपालका प्रधानमन्त्री भए, दुई नातिनी उप–प्रधानमन्त्री भए, ४ नातिहरु जननिर्वाचित प्रतिनिधिसभामा जनसमर्थनले सांसद चुनिए । विडम्बना ! यस्ता सन्तानका बाउबाजे कृष्णप्रसादको शवयात्रा र अन्त्येष्टि भने बडो विजोगपूर्ण र दयनीय भयो । राणातन्त्रीय शासन हटाउन काठमाडौँमा बन्दी जीवन व्यतीत गरिरहेका कृष्णप्रसादको आर्यघाटमा नभई ललितपुर शंखमूलमा दाहसंस्कार भयो, १४ माघ २००१ मा ।

साहित्यकार शंकर कोइरालाले पिताजीको मृत्युको पृष्ठभूमि वर्णन गर्दै लेख्नुभएको छ– ‘काठमाडौँ उपत्यकामा माघे जाडो अति प्रबल हुँदै थियो । पशुपतिनाथले कैलाश नै खिचेर काठमाडौँ उपत्यकामा ल्याउनुभएको हो कि भनेझैँ तीन दिनदेखि फुसफुस हिउँ परिरहेको थियो । जता हेर्‍यो हिउँले घर, रुख, सडक, चउर, खेत, डाँडाकाँडा सेताम्मे देखिन्थे । ...तुफान आउनुअघिको शान्तिझैँ रहेछ– प्रलयका लागि– बिहानै खबर आयो, खर्दारबा स्वर्गे हुनभो रे ।’

कृष्णप्रसाद पुत्र केशवसँग अढाई तीन महिनाअघि बिहे भएकी १६/१७ वर्षजति नोना कोइराला जुद्ध धर्मशालामा पिताजीको अन्तिम समयसम्म रहनुभएको थियो । नोनाका अनुसार बिहे गरेको भर्खर तीन महिना भएको थियो । पिताजी बिरामी हुनुहुन्थ्यो । एक दिन जुद्ध धर्मशालामा पुलिस निगरानीमा नजरबन्द ससुरा (पिताजी) कहाँ एउटा व्यक्ति सिपाही लिई जेल लैजाने आदेश लिएर आयो । छोरा केशवले ती व्यक्तिलाई भन्नुभयो– ‘पिताजी बिरामी हुनुहुन्छ, यस्तो अवस्थामा जान सक्नु हुन्न ।’

पुलिससहित पिताजीलाई लिन आएका ती व्यक्तिलाई केशवका कुरा पत्यार लागेनछ । उनीहरु केही बेरपछि उलिनकाठ लिएर आए । केशवले घरको तलामा सुतिरहेका पिताजीको अवस्था देखाएपछि मात्र फर्किए । त्यति नै बेला हजुरआमाद्वय (कृष्णप्रसादका जेठी पत्नी मोहनकुमारी र कान्छी दिव्याकुमारी) ले सोध्नुभयो, “केशव के यस्तो अवस्थामा पनि जेल लग्लान् पिताजीलाई ?”

सबैमा पिताजीलाई लग्दैनन् होला भन्ने विश्वास थियो । तर एक घन्टापछि उनै व्यक्ति थप सिपाहीसहित स्ट्रेचर लिएर आए । पिताजीले श्रीमतीहरु र छोरा केशवलाई भन्नुभयो, “मलाई उनीहरुले जसरी पनि जेल लैजाने अड्डी लिए । तिमीहरु मुख आध्यारो नपार्नू र एक थोपा आँसु पनि नखसाल्नू ।”

पिताजीलाई लगेपछि त्यहाँ भएका सबै सामान निकाल्न लगाएर ढोकामा भोटे ताल्चा लगाइदिए । पिताजीलाई भद्रगोल जेल पुर्‍याएर आएका छोरा केशवले परिवारको यस्तो विचल्ली आफ्नै आँखाअगाडि देख्नुपर्‍यो । यसअघि पहिल्यै जेल बस्दा परिचित प्रजातन्त्रप्रेमी वेदनाथ अर्यालको घरमा केशवसहितका सदस्य चार रात बसे । चौथो रात केशवको नाम लिई कसैले बोलायो । त्यो व्यक्तिको हातमा एउटा कागज थियो । त्यो कागजमा पिताजीलाई फेरि जेलबाट धर्मशाला ल्याउने आदेश थियो ।

कागजको बेलिविस्तार लगाउँदै नोनाले भन्नुभएको छ, “भोलिपल्ट बिहान ९ बजे आमा दिव्याकुमारी, केशव र बुनु जेलको ढोकामा पुग्नुभयो । मातृकाकी आमा, सुशीला दिदी (बीपी पत्नी) र म पिताजीलाई खाना लिई धर्मशालातिर जाने तयारी गर्दै थियौँ । अकस्मात हिउँ (असिना) को वर्षा हुन थाल्यो । हजुरआमाले हिँड जाऊँ, पिताजीको खाने बेला भयो भन्नुभयो ।”

१६/१७ वर्षकी नोना बनारसमा जन्मे–हुर्केकी, कहिल्यै हिउँ परेको नदेखेकी । उनी काठमाडौँमा परेको हिउँमा रमाउँदै, खुट्टा गाड्दै हिँड्न थालिन् । उनका लागि धर्मशाला टाढा भइगयो । हजुरआमा र सुशीला दिदीले ‘नोना तिमी दौड’ पनि भने । नोना दौडिन् । धर्मशाला पुग्नै लाग्दा पछारिइन् ।  ससुरा हेर्न उनलाई धर्मशाला बोकेर लैजानुपर्‍यो । यसरी राणाहरुले पिताजीलाई कहिले घरमै नजरबन्द, कहिले धर्मशाला त कहिले जेल सारिरहे अन्तिम अवस्थासम्म ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: मंसिर २८, २०७५

ट्याग: स्मरण