नयाँ संहिताको त्रास

- रवीन्द्र मानन्धर

सरकारले केही महिनाअघि लागू गरेको नयाँ संहितामा पत्रकार,  फोटो पत्रकार, व्यंग्यकार तथा कार्टुनिस्टलाई विशेष किसिमको अंकुश लगाइएको छ । विभिन्न दफामा लेखिएका छन्, बिनाअनुमति कसैको फोटो खिच्न पाइँदैन, कसैमाथि सीधा वा घुमाउरो पाराले व्यंग्य गर्न पाइँदैन, अनुहारलाई बिगार्न पाइँदैन, कसैको क्यारिकेचर गर्न/बनाउन पाइँदैन । होस पुर्‍याउनु है । परिवार तथा शुभचिन्तकले पटकपटक भने तर वास्ता गरिएन । मलाई लाग्यो, आफ्ना गल्ती र कमजोरी उदांगो गर्नेलाई निरुत्साहित पार्न यस्ता बुख्याचा दफा कोरिएका हुन् । त्यसैले मनमा फिटिक्कै डर थिएन ।

केही समयअघि सरकारले ढाड सेक्ने गरी दोहरो कर लगाएकामा व्यंग्य गर्दै कार्टुन बनाएर सामाजिक सन्जालमा पोस्ट गरेँ । नवविवाहित वरको बाटो छेकेर कर मागिरहेका प्रधानमन्त्रीको कार्टुन थियो त्यो । कार्टुन सेयर गरेको एकैछिनमा लाइकका साथै उत्तिकै तथानाम गाली  आउन थाले । जनताले राज्यबाट पाउने सुविधाअनुरुपको कर एउटै हुनुपर्छ भन्नेहरुले कार्टुन रुचाए । केहीले त नानाभाँतीका क्याप्सन राखेर रिपोस्ट पनि गरे । तर एउटा समूहले भने कार्टुनको विरोध गर्दै नयाँ ऐनको हाउगुजी देखाएर सामाजिक सन्जालमा अश्लील शब्दसम्म लेख्न भ्यायो । तिनका प्रति मेरो कुनै जवाफ थिएन । चुपचाप बसेँ । कतिले छिट्टै पक्राउ पुर्जी आउन सक्नेसम्मको त्रास देखाए । तर यस्तो केही भएन । तर्साउन खोज्नेहरु केही दिनमा आफैँ सुस्ताए ।

प्रधानमन्त्रीको पछुतो

स्कुलमा एक पटक क्यारिम बोर्ड प्रतियोगितामा पहिलो भएको थिएँ ।  अभिभावक दिवस पारेर आयोजना गरिएको कार्यक्रममा उद्घोषकले पुरस्कार लिन मेरो नाम बोलाए । म भीडमा अलि पछाडि थिएँ । मेरै नाम गरेका मित्र अगाडिको कुर्सीमा आसन जमाएर बसेका रहेछन् । उनले मभन्दा अघि मञ्चमा पुगेर नि:संकोच पुरस्कार थापे । म जिल्ल परेँ । घाँटीमा मेडल थियो तर त्योभन्दा ठूलो लाजको भारी साथीको अनुहारमा झुन्डिएको थियो । केही दिनअघि अखबारमा छापिएको प्रधानमन्त्रीले मेडल लगाएको फोटो देख्दा मलाई त्यही साथीको भारी अनुहार याद आयो ।

प्रसंग हो, भर्खरै राजधानीको सोल्टी होटलमा सम्पन्न एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओलीले थापेको सुशासन पदकको । पदक थापेपछि उनले पनि फोटो खिचाएछन्, जुन पत्रपत्रिकामा छापियो । छापिएको तस्बिरमा उनको मुहारमा पनि गलत पुरस्कार थापेकामा मेरो साथी पछुताएजस्तै भाव देखेँ । हुन पनि, ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल १ सय ३१ औँ स्थानबाट १ सय २२ औँ स्थानमा उक्लिएको छ । यसैले प्रधानमन्त्रीको मुहारमा पछुतो देखिएको हो कि ? कि निर्मलाका हत्यारा अहिलेसम्म बेपत्ता छन् भनेर मेडलले जिस्क्याएजस्तो लाग्यो फोटो खिच्ने बेला । लौ न ! बताइदिनु पर्‍यो, प्रमज्यू ।  जनता जान्न चाहन्छन् ।

प्रकाशित: मंसिर २८, २०७५

ट्याग: नोटबुक