धर्म र राजनीतिको खिचडी

- सुरेन्द्र लाभ

संघीय राजधानी काठमाडौँमा हालै क्रिस्चियन–लीला मञ्चन गरियो । काठमाडौँमा आयोजित सानो गोष्ठी पनि राष्ट्रिय हुँदो रहेछ । मञ्चित कार्यक्रम आयतन र धनतत्त्व दुवैमा ठूलो थियो । तसर्थ, पूरै देश नै हल्लियो । सञ्चारको संसार तरंगित भयो । सत्ताधारी दलभित्र पनि भूकम्प आयो । खोइ कति दिनसम्म कम्पन रहने हो ? यसले कस्तो परिणाम ल्याउने हो ?

प्रदेश २ को राजधानी जनकपुरमा पनि यसै साता एउटा जन्ती–लीला हुनेवाला छ । प्रसंग छ, विवाह पञ्चमीको । प्रत्येक वर्ष मंसिर महिनाको पञ्चमी तिथिका दिन जानकी महोत्सवले मनाइने परम्परा छ । विवाह पञ्चमीको नामबाट प्रख्यात यो विवाहोत्सवले यसपालि बढी चर्चा पायो किनभने जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउँदै छन् । पक्ष र विपक्षमा मान्छे विभक्त भए । सामाजिक सन्जाल तर्क–कुतर्कको जालोमा जेलियो । सञ्चारमा बयानबाजीको बजार तातो भयो । अर्थात्, ज्वारभाटाको ठूलै छालबाट प्रदेश आच्छादित हुन पुग्यो ।

प्रश्न छ, काठमाडौँ र जनकपुरमा यति उचाइमा विवाद किन चुलियो ? उत्तर सरल छ– धर्म र राजनीतिबीच पाकेको खिचडीले । सम्पूर्ण भारतीय जीवन यसै खिचडीबाट आक्रान्त छ । धर्मका लागि राजनीति र राजनीतिका लागि धर्म– यसैको आड त्यहाँ लिइँदैछ । के नेपाल बिस्तारै यसै मोडलमा अगाडि बढिरहेको हो ? के यस्ता घटनालाई संकेतको रूपमा लिन सकिन्छ ? के सोझासीधा नेपालीलाई सिकार बनाइँदैछ ? अथवा बढी चलाख भएर हामी जालमा फस्दैछौँ ? सबै पक्ष विचारणीय छन् ।

संविधानको व्यवस्थाअनुसार नेपाल धर्मनिरपेक्ष राज्य हो । तर गतिविधि धर्मसापेक्षजस्तो किन ? किन सरकारी संयन्त्र यस्ता क्रियाकलापमा लिप्त हुने गरेको छ ? विभिन्न विषयमा प्रदेश र संघीय सरकारबीच मनमुटाव देखिन्छ । तर चरित्रगत रूपमा गजबको समरूपता देखियो ।  उता काठमाडौँमा सम्पूर्ण सरकारी तह १ हजार ५ सय अतिथिको स्वागतमा जुटे । यता योगीको स्वागतमा मुख्यमन्त्री परिसरमै ५ सय १ जन्तीसहित १ हजार ५ सयलाई भोज खुवाउने व्यवस्था छ । कहिले मुख्यमन्त्रीको टोली रंगभूमि मैदान र कहिले जानकी मन्दिर परिसरको सरसफाइमा समय र शक्ति खर्चिने गरेको छ । सुरक्षा निकायलाई हम्मेहम्मे परेको छ ।

अतिथिको स्वागत गर्नु हाम्रो परम्परा र कर्तव्य हो, गरौँ । तर बिनामौसमको बाजा बज्दा कान ठाडो पनि हुन्छ । ०६१ पछि प्रत्येक पाँच वर्षमा अयोध्याबाट जनकपुर जन्ती आउने परम्परा थालनी भयो । सोही परम्पराअनुसार अयोध्याबाट अर्को वर्ष जन्ती आउनेछ । त्यसैले अहिले एक वर्षपूर्व नै आउन लागेको जन्तीका लागि जानकी मन्दिरले निम्तो पनि गरेको छैन । प्रदेश सरकारले पनि निम्तो गरेको छैन । तर पनि मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आँउदै छन् । प्रश्न उठ्छ– किन हतारो ?

भारतमा विभिन्न प्रदेशमा निर्वाचन भइरहेको छ । योगीलाई स्टार प्रचारकका रूपमा उपयोग पनि गरिएको छ । हिन्दुत्वको मुद्दालाई आक्रामक हिसाबले प्रस्तुत गर्न उनी पोख्त छन् । फेरि अर्को वर्ष अर्थात् ०१९ मा संसदीय निर्वाचन पनि हुँदैछ । उत्तर प्रदेशमा अयोध्या छ, अयोध्यामा राम जन्मभूमि । र, राम जन्मभूमिको सवाल हिन्दुवादी संगठन र भाजपाको स्थायी मुद्दा रहिआएको छ । यस परिस्थितिमा रामकी अर्धांगिनी जानकीको माइत र कर्मथलो जनकपुरमा हुने योगी भ्रमणलाई ‘हिन्दु कार्ड’ का रूपमा पनि लिइएको छ । यहाँका हिन्दुवादी संगठनहरू उत्साहित पनि छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण होस् अथवा मुख्यमन्त्री योगीको– जनकपुर चर्चाको शिखरमा छ । यसबाट आन्तरिक र बाह्य पर्यटकको ओइरो नै लाग्छ । तर भारतीय राजनीतिलाई प्रभावित गर्न जनकपुरलाई प्रयोग नगर्ने कसले ग्यारेन्टी दिन सक्छ ? नेपाललाई पुन: हिन्दु राष्ट्र बनाउनुपर्ने मनसाय राखेका यता र उताका पक्षलाई यस्ता भ्रमणबाट प्राप्त हुने मलजललाई कसरी र कसले रोक्न सक्छ ? यस्ता तमाम प्रश्न उत्तरको खोजीमा अलपत्र परेका छन् ।

यस सन्दर्भमा सबैभन्दा ठूलो प्रश्न के छ भने, धर्मका नाममा सारा शक्ति खर्चिंदा जनजीविकाका सवाल के हुने ? सञ्चार, सामाजिक सन्जाल, सरकार–सबै धर्मकै विषयमा अल्झिराख्दा के गरिबी, बेरोजगारीजस्ता जल्दाबल्दा प्रश्नले प्राथमिकता पाउँछन् ? समृद्धि र विकासले गोरेटो पहिल्याउँछन् ? धर्मको नाममा नारा, जुलुस र बहस गर्ने जनशक्तिले आफ्नो जीवन सुखमय बनाउन सरकारमाथि आवश्यक दबाब सिर्जना गर्न सक्छ ? सबैले विचार पुर्‍याउनुपर्ने हुन्छ । धर्मको नाममा नेपाल कतै बिस्तारै नयाँ द्वन्द्वतिर धकेलिने त होइन ? आशंका गर्ने ठाउँ छन् । कुनै पनि धर्मका नाममा नेपाल कुरुक्षेत्र बन्नु हुँदैन ।

प्रकाशित: मंसिर २८, २०७५

ट्याग: विचार