समवेदनाशून्य मलामी–लस्कर

- कृष्ण धरावासी

मार्चपछि बिस्तारै भर्जिनियाको बिहान तातिँदै जान थाल्छ । जनवरीदेखि नै मर्निङ वाक गर्न छाडेको म मार्चदेखि फेरि निरन्तर बिहान हिँड्न थाल्छु । गर्मीमा चिरिक्कै घाम चर्किने यहाँको मौसम जाडोमा त त्यसै पनि हाकिम भई नै हाल्छ । मलाई बिहानैदेखि हतारिँदै काममा जान तयारी गरिरहनु पर्दैन तर मञ्जुजीलाई बिदा नगरी निस्कन्नँ । आठ नबजी त बाहिर निस्कन अझै पनि गाह्रै थियो । बाटोमा अरु मानिसहरु पनि त्योभन्दा पहिले उति हिँडेको देख्दिनथेँ ।

मलाई एक सुरले मनमा कुरा खेलाउँदै एक्लै हिँड्नु साह्रै आनन्द लाग्छ । आफूभित्रै एउटा ठूलो संसार हुन्छ । त्यसलाई व्यवस्थित गर्न सकियो भने जीवनमा त्यो जति रमाइलो कुरा अरु केही होलाजस्तो लाग्दैन । बाटोमा हिँडिरहनेहरु पनि प्राय: एक्लै दौडिरहेका वा अर्धदौड गरिरहेका हुन्छन् ।  बिस्तारै हिँड्नेहरु भनेका कि दौडिसकेर गलेकाहरु हुन्छन् कि त कुनै कारणले खुट्टामा समस्या भएकाहरु ।

यो निरन्तरको मर्निङ वाकमा निकै साथीहरु बनिसकेका थिए । तीमध्येमा केही सेवानिवृत्त र केही जवान पनि थिए । केही त्यस्ता महिला पनि थिए, जो सधैँ ठेलामा नानीहरुलाई गुडाउँदै आइरहेका वा गइरहेका हुन्थे । एक जना मार्क थिए, सत्तरी वर्षजतिका तर एकदमै फुर्तिला र हँसिला । जहिल्यै पनि ‘दौड दौड’ भन्दै अघि जान्थे । एक बूढी थिइन् जेनी, ती पनि कुद्थिन् जसोतसो ।  तीन महिला थिए नानीलाई साइकले कोक्रोमा राखेर हाँक्ने । एउटी युवती थिइन् कानमा एयरफोन लगाएर कुदिरहने । यी सबैसँग आँखा जुध्ने, मुसुक्क हाँस्ने, बढी भए हाई–हेल्लो गर्ने मात्र भए पनि यो नियमित भेटघाटले हामी एक प्रकारले साथीजस्ता भइसकेका थियौँ । कसैलाई एकाध दिन नदेखेमा भेट्दा ‘तिमी सञ्चै ?’ भनेर सोध्ने गरिन्थ्यो ।

 नियमित भेटिनेहरुमध्ये एक दक्षिण भारतीय वृद्ध थिए । उमेरले पचहत्तर नाघेको बताउने उनी हट्ठाकट्ठै थिए । उनको घुँडाको पांग्रो खिएको हुादा छिटो हिँड्न नहुने रहेछ । पहिला–पहिला त हाम्रो उति बोलचाल भएन । एक दिन उनैले मुख फोरे– “तिमी पनि इन्डियन हो ?” अंग्रेजीमै भएको संवादमा आफू नेपाली भएको बताएँ । नेपाली भनेपछि उनले अझ चासो राख्दै सोधे– “नेपालमा त सबै हिन्दु धर्म मान्छन् होइन ?” मैले भनेँ– “नेपालमा बौद्ध, इसाई, मुसलमान, किराँती आदि धेरै धर्म मान्ने मानिस बस्छन् । तीमध्ये सबैभन्दा बढी हिन्दु छन् ।” त्यो परिचयपछि प्राय: हरेक भेटमा हामी बिस्तारै भारत–नेपालकै बारेमा कुरा गर्दै हिँड्ने भयौँ ।

 अमेरिका आउनुका कारण र आफ्ना कथा बताउन थालेपछि हरेक दिन अलिअलि गर्दै उनले पनि आफ्नो कथा सुनाएका थिए, लामै ।

उनी सन् १९६३ मा पानीजहाज चढेर अमेरिका आएका रहेछन् । बीस वर्षको उमेरमा सिभिल इन्जिनियर भएका उनलाई कुनै इन्डियन ठेकेदारले आफ्नो कम्पनीका कामदारका रुपमा ल्याएका रहेछन् । यता आएपछि बिस्तारै आवश्यक कागजात मिलाएर यतैका नागरिक बनेछन् । सानैमा विवाह भएका उनी भारत आउनेजाने क्रममै दुई छोराका बाबु पनि बनेछन् । उनले परिवारलाई अमेरिका ल्याए पनि पत्नी भने कहिल्यै यहाँ खुसी हुन सकिनछिन् । धेरैजसो समय पत्नीले भारतमै समय बिताएपछि उनको जीवन ब्रह्मचारीको जस्तो बितेछ । उनले एक्लै संघर्ष गरेर दुवै छोरालाई उच्च शिक्षासम्म पढाएछन् । दुईमध्ये एकले आईटीमा र अर्कोले चिकित्साशास्त्रमा विशेषज्ञता हासिल गरेछन् । सानैदेखि अमेरिकी शिक्षा पढेका उनीहरुको जीवनशैली पनि अमेरिकी नै भएछ । बूढा भने जति अमेरिका बसे पनि भारतीय भावुकताबाट मुक्त थिएनन् । उनलाई सन्तानले आफ्नो संस्कार र धर्म बिर्सिएकामा ठूलो पीडा रहेछ । उनी भन्थे– “तिमी आएको धेरै भएको रहेनछ । सक्छौ भने आफ्ना सन्तानलाई उतै फर्काऊ । पछि बुढेसकालमा तिम्रो पनि मेरोजस्तै हालत हुनेछ ।”

दिनदिनै अलिअलि गर्दै उनले आफ्नो कथा भनिरहेका थिए । एक दिन बडो भावुक आफ्नो कथाको पन्तुरो खोले ।

                                                                          …

पत्नीलाई अनेक गरेर फकाएर ल्यायो, केही महिना बसेपछि राख्नै नसकिने । उनलाई यहाँका मठमन्दिर, देवता, पूजापाठ गर्ने तरिका केहीले पनि चित्त बुझाउन सकिँदैन थियो । हुर्किएर गरिखान सक्ने भइसकेका छोराहरु बिस्तारै आ–आफ्नो बाटो लागे । छोराहरुले विदेशी केटी बिहे गरेपछि बुहारीहरुसँग पनि उनको सम्बन्ध राम्रो हुन सकेन । नातिनातिनाहरु र उनको भाषा पनि नमिल्ने भएपछि तिनीहरुसँग  माया बस्न सकेन ।

उनी मलाई सधैँ भारत जान कर गर्थिन् । म पनि ‘अबचाहिँ फर्केर आउँदिनँ’ भनेर जान्थेँ तर केही महिना बसेपछि छटपटी हुन्थ्यो । त्यहाँ मेरा पुराना साथीसंगीहरु थिएनन् । आफन्तहरु पनि  कोही धेरै बूढा भएका, कोही मरिसकेका हुन्थे । मेरो समय कटाउने कुनै आधारै  नभएपछि फेरि यतै फर्किन्थेँ । बस्नु त यहाँ पनि एक्लै नै थियो । तैपनि यहाँ मेरो पचास वर्षदेखिको समाज छ । मेरा सबै आफन्त–मित्र जो छन्, यहीँ छन् । मेरो जीवनशैली यतैको बनिसकेको छ ।

सारा जीवनै यहीँ बित्यो । के कमाइयो के गुमाइयो, अब केही लेखाजोखा गर्नु छैन । यत्ति हो, जीवनमा सन्तुष्ट भने कहिल्यै हुन सकिनँ । दुईतिरको मन बोकेर अन्तरिक्षमा बाँचेजस्तो भयो सबै । अब त कुनै रहर र इच्छा पनि बाँकी छैनन् ।

पछिल्लोपल्ट उनको उमेर पनि धेरै भइसकेको थियो । छोराहरु पनि कहिल्यै नफर्किने गरी यतैको भइसकेपछि सधैँ यतै बस्ने गरी ल्यायौँ । यहाँ आएपछि बिस्तारै उनी रोगाउँदै गइन् । खासै रोग नदेखिए पनि दिनदिनै कमजोर हुँदै गएर दुई वर्षअघि उनी बितिन् । हुन त, पहिला पनि एक्लै हुन्थेँ तर मनमा एक प्रकारको ढुक्क थियो– भारतमा भए पनि पत्नी छिन् । अब त साँच्चै नै मसँग केही पनि छैनजस्तो लाग्छ । मसँग भएको सम्पत्तिको यहाँ खासै अर्थ छैन किनकि छोराहरु आफैँ सम्पन्न छन् । अब म मरी गए यो सबै सम्पत्ति सरकारी ट्रस्टमै जाने हो । आज सोच्छु, त्यत्रो दु:ख गरेर सम्पत्ति केका लागि कमाइएछ होला ! कसैलाई काम नलाग्ने सम्पत्तिको खोजीमा जीवन किन बिताइएछ होला !

                                                                         …

बूढालाई कुरा सुनिदिने मानिसको खाँचो रहेछ भन्ने लाग्थ्यो । म केही दिन निस्किनँ भने भेट भएको बिहान सधैँ सोध्थे– “सञ्चै छौ ? तिम्रो श्रीमती त ठीक छिन् ?” प्राय: उनी सधैँ श्रीमतीका बारेमा मात्रै सोध्थे, सन्तानका बारे कहिल्यै सोधेनन् ।

भर्जिनियाको हर्नडन सिटीमा थियो हाम्रो बसाइ । पहिला कर्डल वे र पछि डाकोटा ड्राइभमा सरेका थियौँ । साइकललाई साइड दिँदै कहिले रेस्टन टाउनको छेउसम्म पुगेर फर्किन्थेँ, कहिले त्यसको उल्टो बाटो हुँदै निकै परसम्म फन्को मारेर फर्किन्थेँ । झन्डै एक हप्तापछि एक दिन ढिलो गरी निस्केँ । मर्निङ वाक सकेर फर्किंदै गर्दा हर्नडन टाउन सेन्टरछेउमा रहेको फिनरल हाउसमा निकै मानिस देखेँ ।

अमेरिकामा मानिस मरेपछि आफन्तहरु भेला भएर तात्तातै घाट लैजान पाइँदैन । पहिला पुलिसलाई खबर गर्नुपर्छ । पुलिसले लास उठाएर लगेपछि डाक्टरले मृत घोषित नगरेसम्म मरेको मानिँदैन । निकै कानुनी प्रक्रिया र विधि पूरा गरेपछि मात्र दाहसंस्कारका लागि योग्य हुन्छ । लास त्यसबेलासम्म अस्पतालमा रहन्छ, जबसम्म फिनरल हाउसले समय दिँदैन । कहिलेकाहीँ त हप्ता/दस दिनसम्म पनि पालो नआउन सक्छ ।

त्यो भीडमा केही चिनेका मानिस पनि देखेँ । हलभित्र दाहसंस्कारअघिको विधि गरिँदै थियो । यसो हेरेँ, हिन्दु विधिमा जस्तो कसैले संस्कृत मन्त्रहरु वाचन गरिरहेको थियो । ‘सेफ वे’ मा काम गर्ने एउटा भाइलाई अलिक वर तानेर सोधेँ– “को बितेछ भाइ ?” उनले बिस्तारै भने– “यी नारायनन् हुन् । दक्षिण भारतीय ब्राह्मण ।” यो सुनिसक्दा म झसंग भएँ । उनी तिनै महानुभाव थिए, जोसँग मेरो अत्यन्त राम्रो घुलमिल थियो र एक प्रकारले प्रात:कालीन भ्रमण–साथी पनि ।

मैले ती भाइलाई सोधेँ– “तपार्इंले यिनलाई कहाँ चिनेको ? कहिले कसरी बितेछन् ।” उनले भने– “यिनकै घरको बेसमेन्टमा म बस्ने गर्थें । बूढा एक्लै बस्थे माथि । उनलाई खुब गफ गर्नुपर्ने । यिनले नजानेको केही थिएन । अमेरिकाको आधा शताब्दीको अनुभव थियो यिनीसँग । पाँच दिनअगाडि म राती दस बजे काम सकेर कोठा पुग्दा यिनी सिँढीमै लडिरहेका थिए । मैले आत्तिँदै तुरुन्त यिनका छोराहरुलाई फोन गरेँ  । उनीहरुले पुलिसलाई फोन गर्न भने । बूढा अघि कतिबेला मरिसकेका रहेछन् । पुलिसले लास उठाएर लग्यो । छोराहरु भोलिपल्ट बिहान आएर मसँग सोधपुछ गरेर गए ।”

दुई जवान पुरुष लासको बाकसछेउ उभिएर दाहविधिमा पुरेतलाई सघाइरहेका थिए ।

मन कस्तो–कस्तो उदासजस्तो भयो । एकछिन बुद्धिले जीवनको अर्थ खोजी हेर्‍यो, केही भेटेन । सुखको खोजी गर्दै बीस वर्षको उमेरमा अमेरिका पसेको एउटा मानिस त्यसको पचपन्न वर्षपछि मर्‍यो  । र, उसका सन्तानले हतारहतार विधि पूरा गरिरहेका थिए । के पाए उनले ? के गुमाए उनले ? जीवनमा पाउनु र गुमाउनु भनेको के हो ?  पाउनैपर्ने र पटक्कै गुमाउनु नहुने भन्ने पनि के होला त !

झट्टै दिमाग आफूतिर फर्केर चलमलायो, मैले यहाँ केका लागि जीवन बिताइरहेको ? के यही बाकसमा बन्द हुन  ? यस्तै समवेदनाशून्य मलामीको लस्कर पर्खिन ?

कोठा फर्किंदा खुट्टा भारी भएका थिए । मन र शरीर दुवै गलेर शिथिल भएका थिए ।   

प्रकाशित: मंसिर २७, २०७५

ट्याग: संस्मरण