चलाख लेखन

पुस्तक : काठमान्ड्रुइड्स |उपन्यासकार : पिटर जे कार्थक |प्रकाशक : बुक हिल |पृष्ठ : ४४२|मूल्य : ५९९ रुपैयाँ

- नेहा शर्मा

नेपाली पत्रकारिताका एक नाम पिटर जे कार्थकको दोस्रो कृति काठमान्ड्रुइड्सको पहिलो भाग काठमाडौँबासी धनी र शक्तिशाली चार पात्रवरिपरि घुम्छ । उनको काठमान्ड्रुइड्समा छुट्टै संसार पनि छ– नेपाल मण्डला शृंखला । यी दुई भिन्न र समान कथा वाचनले एकअर्कालाई पूर्णता दिन्छन् ।

काठमान्ड्रुइड्सको एउटा कथाका पात्र हुन्– आफूलाई सामाजिक समकारी मान्ने पाटनको एक कुनामा घर भएका काठमाडौँका ‘डन’ वीरेन्द्रबहादुर शाही, नेपालको शासक वर्गकी ‘डिलाइट’ राज्यलक्ष्मीदेवी राणा, श्री ५ को सरकारका सचिव पुरुषोत्तमप्रसाद पण्डित र उनकी श्रीमती मैनादेवी रेग्मी । काठमान्ड्रुइड्सको उपशीर्षक छ: मोनोमिथ र मिनीमिथ । मोनोमिथ अमेरिकी प्रोफेसर जोसेफ क्याम्पबेलको सिद्धान्त हो । मोनोमिथ अर्थात् हिरोको यात्रा । क्याम्पबेलअनुसार फिल्म वा किताबका सबै हिरोहरु एकै हिरोका विभिन्न रुप हुन् । उनले दुनियाँभरका मिथकको अध्ययन गरी दि हिरो विथ थाउजन्ड फेसेज  किताब प्रकाशित गरेका थिए, जसमा मिथकहरुले कसरी मोनोमिथ वा हिरोको यात्रालाई दर्साउँछ भन्नेबारे लेखेका छन् । क्याम्पबेलका अनुसार कुनै पनि हिरोको यात्रा साधारणबाट सुरु भई बीचमा असाधारण–असामान्य दुनियाँमा प्रवेश गर्छ, जहाँबाट ऊ चुनौती सामनासहित विजयी भएर पुन: साधारण दुनियाँमा समृद्ध जीवन लिएर फर्किन्छ ।

अर्को कथामा नेपाल मण्डला शृंखलामा नेपालसम्बन्धी अविस्मरणीय मोनोमिथ अर्थात् हिरोहरुको यात्रा–वर्णन छ । महाभारतका पाण्डव, द्रौपदी, रामायणका राम, सीता, लक्ष्मण, उर्मिला, बुद्ध, यशोधरा, लिच्छविकालका अरनिको, भृकुटीदेखि लिएर मल्लकालीन राजा र तेन्जिङ नोर्गे शेर्पाहरु नेपाल मण्डला शृंखलाका भागीदार छन् । आफ्नो दादागिरी चलाउने वीरेन्द्रबहादुरलाई कार्थकले मिनमिथ भनी चिनाउँछन् ।  अरु तीन पात्र पनि मिनमिथकै वर्गमा पर्छन् । यी पात्रका आफ्नै संघर्ष, दु:ख र स्वार्थ पनि छन् ।

जोसेफ क्याम्पबेलको हिरोको यात्रा चारै पात्रले तय गरेका हुन्छन् । वीरेन्द्रबहादुर नेवार परिवारबाट दु:ख झेलेर काठमाडौँको ‘डन’ बन्न पुग्छ । राज्यलक्ष्मीदेवी पनि राणा परिवारका महिला मोजमस्ती गरी घरमै बस्नुपर्छ भन्ने पारम्परिक सोचविरुद्ध उभिएर विद्यालय सञ्चालिका भएकी हुन्छिन् । पुरुषोत्तम पण्डित पश्चिम नेपालको दुर्गम गाउँदेखि काठमाडौँको सरकारी सचिवसम्म हुन्छ । एउटा दलित नेवार, महारानी र अरु दुई बाहिरबाट काठमाडौँ भित्रिएका बाहुन दम्पती– यिनै पात्रबीचको द्वन्द्व झल्किन्छ काठमान्ड्रुइड्समा ।

उपन्यासको शक्ति हो– द्वैध वाचन । तुलनात्मक रुपमा वीरेन्द्रको मिनमिथ कथाभन्दा नेपाल मण्डला शृंखलाका कथा लामा छन् । यस शृंखलाले नेपालको इतिहासबारे निकै कम जानकारी भएका तर सिक्न मन पराउने पाठकलाई सम्मोहित गराउँछ । लेखकको औपन्यासिक प्रस्तुतीकरण यसैकारण पनि प्रशंसायोग्य छ किनभने यसमा पाठकलाई झुक्याउन सक्ने क्षमता छ । अर्थात्, उपन्यास पढ्दै जाँदा नेपाल मण्डला शृंखला लेख्ने पिटर आफैँ हुन् कि उनका गुरु स्वामी स्वर्णशमशेर, पाठक अलमलमा पर्छन् ।

वीरेन्द्र, राज्यलक्ष्मी, पुरुषोत्तम र मैनादेवी समकालीन कथाका पात्र हुन्, जसलाई लेखकले खुला छाडिदिएका छन् । त्यसैकारण पात्रहरु आधुनिक काठमाडौँबासीझैँ आफ्नो फाइदाका लागि जे पनि गर्न तयार छन् । सम्पत्ति र शक्ति दुवै मिनमिथको हातमा छ । अरनिको, मल्ल राजाजस्ता मेगामिथले आफ्नो कलाले सजाएको काठमाडौँ अहिले वीरेन्द्र र पुरुषोत्तमजस्ता मिनमिथलेप्रदूषित छ ।

कार्थकको लेखनशैली राम्रो छ तर बेजोड छैन । उपन्यासमा ठूल्ठूला शब्द प्रयोगको आधिक्य देखिन्छ । कार्थकको यो उपन्यास नेपालीमूलका पाठकलाई पढ्न भने कष्ट हुन्छ । केही शाब्दिक–अनुप्रासले पाठकलाई दिक्क लाग्न सक्छ । नेपाल मण्डला शृंखलाको अन्तिम अध्याय सकिएपछि कार्थकले वीरेन्द्रको कथालाई दस वर्षपछिको घटनाबारे पन्ध्र पृष्ठ खर्चेका छन् ।

वीरेन्द्र कथाको विवरण कष्टदायी र निराशाजनक छ । न्यारेटिभको बीचबीचमा कार्थकले आफ्नो लेखनलाई व्याख्यामार्फत  सही  सिद्ध गर्ने कोसिस गरेका छन् । उनी पाठकलाई मैनादेवीको आगमन न्यारेटिभमा किन ढिला भयो र उनको भूमिका किन बलियो छ भनी प्रस्ट पार्ने चेष्टा गर्छन् । कार्थकले कथाको व्याख्यालाई पाठकका जिम्मा छाडिदिएका भए हुन्थ्यो ।

लेखकको उद्देश्य नै वीरेन्द्रबहादुरको कथालाई पाठकले मन नपराऊन् र नेपाल मण्डला शृंखलालाई मन पराऊन् भन्ने हो भने मान्नैपर्छ– कार्थक निकै चलाख लेखक हुन् । र, आफ्नो उद्देश्यमा सफल भए ।

प्रकाशित: मंसिर २७, २०७५

ट्याग: पुस्तक