बौद्धिक स्वतन्त्रताको ऊर्जा

- सरस्वती प्रतीक्षा

हर्मन हेस्सेको सिद्धार्थ  पहिलो पटक किशोरावस्था सुरु हुँदै पढेकी थिएँ । त्यतिबेला धेरै किताब पढियो । तर सिद्धार्थ  मनमा यसरी गड्यो कि अहिले पनि त्यसको रोमाञ्चकता र गहिराइ महसुस गर्न सक्छु । सानै उमेरमा जिन्दगीका गहन प्रश्नको जवाफ खोज्न जसरी सिद्धार्थ घर छाडेर हिँड्छ, त्यो यात्राले जहिल्यै मोहनी लगाउँछ मलाई । जिन्दगीलाई नै प्रश्न र सिंहावलोकन गर्न सिकाउँछ सिद्धार्थले । जति पटक यो किताब पढ्छु, त्यति नै केही न केही नयाँ कुरा भेट्छु । पूर्वीय दर्शनको जगमा उभिएर पश्चिमा लेखकले लेखेको शक्तिशाली किताब हो यो । किताबहरुको पनि आयु हुन्छ । कुनै किताबको त प्रकाशन गरेलगत्तै मृत्यु हुन्छ । केही किताब एकाध वर्ष/दशक बाँच्छन्, केही अजम्बरी हुन्छन् । सिद्धार्थचाहिँ कुनै कालखण्डमा पनि नमर्ने किताब ठान्छु ।

सिद्धार्थको चरित्र मायावी लाग्छ सधैँ । अनन्त खोजको आध्यात्मिक यात्रामा निस्कँदा उसलाई भौतिक भोकले सताउँछ भने भौतिक यात्रामा निस्कँदा आध्यात्मिक भोकले । कठोर व्रत, तप, साधनादेखि छेलोखेलो पैसा, वेश्यासँगको प्रेम, सहवास सबै भोग्छ उसले । अन्त्यमा शास्त्रहरुमा वर्णितभन्दा फरक अर्थ आफ्नै भोगाइबाट निर्माण गर्छ । ‘स्व’ को खोजीमा लाग्न जहिल्यै अभिप्रेरित गर्ने हुनाले प्रिय लाग्छ सिद्धार्थ

म सानैबाट अलि एकलकाँटे र अन्तर्मुखी स्वभावकी मान्छे । अरु लफडामा फस्नुभन्दा किताबी दुनियाँमा रमाउन रुचाएँ । यही स्वभावले मलाई किताबप्रेमी बनायो । किताब पढिरहँदा एकसाथ आफूभित्र दर्जनौँ आँखा उत्पत्ति भएजस्तो लाग्छ । जीवन र जगतलाई हेर्ने नयाँनयाँ आयामहरु किताबले दिन्छ नै ।

विचारविज्ञानसँग तानिनुको कारण ‘विचार’ शब्द नै हो । विचार, आस्था, प्रतीक्षाजस्ता शब्दहरु किशोरकालदेखि नै मन पर्थे मलाई । एक त खप्तड बाबाको जीवन आफैँमा अनौठो लाग्छ । त्यसमाथि उनले व्यक्त गरेका विचार झनै गहिरा लाग्छन् । भनिन्छ, एक सेकेन्डमा सात पटक पृथ्वीको परिक्रमा गर्न सक्ने बिजुली–वेगभन्दा विचारको गति अधिक हुन्छ । संसारको हरेक युद्ध विचार–युद्ध हो । राजनीतिक, आणविक वा सांस्कृतिक युद्ध मूलभूत रुपमा विचारकै युद्ध हुन् । ‘हामी के हौँ’ को निर्धारण हाम्रो विचारले गर्छ । केस्राकेस्रा केलाएर विचारलाई कसरी शुद्धीकरण गर्ने भनेर सिकाउँछ विचार–विज्ञानले । गालिबको एउटा शायरी छ– ‘उम्रभर गालिब यही भुल करता रहा, धूल चेहरे पर था और आइना साफ करता रहा ।’ आममान्छे पनि आफ्नो जिन्दगीको धमिलोपन हटाउन बाहिरबाहिर ऐना सफा गर्दै समय बिताउँछ । खास फोहोर त उसको आफ्नै विचारमा हुन्छ र त्यही विचार सफा गर्नबाट ऊ चुक्छ । विचारको यस्तै शक्ति र महत्ता बुझाउने यो किताब चुम्बकीय लाग्छ मलाई ।

छुवाछूत कहीँ छ भने सबैभन्दा बढी बौद्धिक वर्गको मस्तिष्कमा छ अचेल । एउटा वामपन्थीले गैरवामपन्थीको किताब पढ्नै नहुने वा नामै लिनै नहुनेजस्तो गरिन्छ । गैरवामपन्थीले वामपन्थीलाई लेखक मान्न तयार देखिँदैन । म भने सबै खालका किताब पढ्न रुचाउँछु । मेरो पहिलो रोजाइमा कविता, आख्यान र दर्शनका किताब पर्छन् । आध्यात्मिक किताबहरु पनि म उत्तिकै रुचिले पढ्छु । जति अभिरुचिपूर्वक म नोम चोम्स्की वा पाब्लो नेरुदा पढ्छु, उत्ति नै जे कृष्णमूर्ति वा रमण महर्षि पढ्छु । एकातिर नारायण ढकालको नैबन्धिक सामाजिक चेतले झंकृत हुन्छु भने अर्कोतिर कुमार नगरकोटीको स्वैरकल्पनाले उत्तिकै आनन्दित हुन्छु । लाग्छ– पढ्दा आफैँलाई रुढ विचार/वादको झ्यालखानामा कैद नगरुँ । ‘बर्ड्स आइ भ्यु’ सहित पढ्न रुचाउँछु ।

भर्जिनिया उल्फका मोटामोटा किताबहरुको भीडमा शक्तिशाली किताब हो– रुम अफ ओन्स ओन । शेक्सपियरको काल्पनिक जुम्ल्याहा बहिनी जुडिथका माध्यमबाट भर्जिनियाले जुन प्रश्न उठाउँछिन्, त्यो सार्वकालिक प्रश्न लाग्छ महिलाका सन्दर्भमा । शेक्सपियरले सिर्जनात्मकताको आकाश छोए तर उनीजस्तै क्षमतावान् हुँदाहुँदै पनि जुडिथको सिर्जनात्मकता कसरी भान्साघर र शयन कक्षको पर्खालभित्रै सड्न पुग्यो ? गम्भीर प्रश्न उब्जाउँछ किताबले । मायालाई मात्रै सर्वस्व ठान्ने महिलालाई सिर्जनात्मक हुन सिकाउँछ भर्जिनियाको किताबले । कोरा भावनाभन्दा माथि उठेर व्यावहारिक रुपमा उभिन मार्गनिर्देश गर्छ । बौद्धिक स्वतन्त्रताका लागि आवश्यक आर्थिक स्वतन्त्रताको महत्त्वमाथि बोल्छ यो किताब ।

भर्जिनियाको यो सानो किताबले आफ्नो बौद्धिक स्वतन्त्रताका निम्ति अनवरत लडिरहन ठूलो ऊर्जा दिन्छ मलाई । महिला पछाडि पर्नुको कारण केही अर्थमा ‘कम्फर्ट जोन’ बाट निस्कने आाट नगर्नु पनि हो । अरुले सजिलै दिने माया र सुरक्षाको लत लागेपछि खतरा मोल्न हिच्किचाउँछौँ । अ रुम अफ ओन्स ओनले महिलालाई चुनौतीसँग लड्ने दरिलो साहस दिन्छ ।

प्रस्तुति : गुरुङ सुशान्त | तस्बिर : सुरज श्रेष्ठ

प्रकाशित: मंसिर २७, २०७५

ट्याग: किताब