गौरी लंकेश हत्याको कथा

पुस्तक : इल्लिबरल इन्डिया, गौरी लंकेश एन्ड द एज अफ अनरिजन | लेखक : चिदानन्द राजघाट | प्रकाशक : कन्टेक्स्ट | पृष्ठ : २१६ | मूल्य : ४९९ भारु

- नीरज महर्जन

कर्णाटकमा पिता पी लंकेशले सुरु गरेको कन्नाड भाषी पत्रिकाको बिँडो थामेकी गौरी लंकेश साधारण पत्रकार थिइन् । उनको कलम पत्रिकामा मात्रै सीमित भने थिएन । उनी स्वयं एक सामाजिक अभियन्ता थिइन् । पछिल्लो कालखण्डमा भारतीय राजनीतिमा चढ्दो हिन्दु कट्टरपन्थ र असहिष्णु राजनीतिको विरोधमा उनी खरो उत्रेकी थिइन् । उनको यही हक्की अभियान धार्मिक र साम्प्रदायिक संकीर्णता बोकेका शक्तिलाई सह्य भएन । ५ सेप्टेम्बर सन् २०१७ मा गौरीको आफ्नै निवासमा हत्या भयो । विचार र आस्थामा मतभेद भएकै कारण पछिल्लो समय भारतमा मारिएका पत्रकार, प्राध्यापक, अधिकारकर्मीको नामावली लामै छ । यही क्रमावलीमा थपिइन्– गौरी लंकेश । उनीजस्तै मारिएका थिए– एमएम कलबुर्गी, गोविन्द पानसारे र नरेन्द्र दबोल्कर । उनीहरु धर्मान्धता र कट्टरताको विरोधमा वैज्ञानिक र तर्कपूर्ण विचारको पक्षमा उभिएकै ‘दोष’ मा मारिए । अनि सुधा भारध्वज, गौतम नौलखा, बरबरा राव, बर्मोन गोञ्जालेसहरु राज्यकै कोपभाजनको सिकार बने ।

लामो समयदेखि अमेरिकाको मेरिल्यान्डबाट टाइम्स अफ इन्डियाका लागि विदेश सम्पादकको भूमिकामा रहँदै आएका चिदानन्द राजघाटको पुस्तक इल्लिबरल इन्डिया, गौरी लंकेश एन्ड एज अफ अनरिजन  गौरीको हत्यालाई केन्द्रबिन्दुमा राखी भारतमा विकसित अनुदार राजनीतिबारे चर्चा गरिएको कृति हो । राजघाटले आफूलाई गौरीका ‘पूर्वपति र आजीवन साथी’ का रुपमा चिनाएका छन् । राजघाटका अनुसार जीवनमा हिँड्ने बाटा अलगअलग भएपछि उनी र गौरीले सम्बन्धविच्छेद गरेका थिए । दुवै पत्रकार हुन् । भारतका विभिन्न मिडियामा सँगसँगै र अलग–अलग पनि काम गरे । पछि गौरी आफ्नै बुबाको पत्रिकालाई निरन्तरता दिन लागिन् भने राजघाटले अमेरिकामा गएर मेरी ब्रिडिङसँग विवाह गरे । त्यहीँबाट पत्रकारितालाई निरन्तरता दिए । 

पुस्तकमा राजघाटले आफ्नी पूर्वपत्नीसँग सम्बन्धका आरोहअवरोहको पनि चर्चा गरेका छन् । तर पुस्तकमा मूलत: गौरीले बाँचेको समयको व्याख्या छ । उत्तरी भारतमा सुरु भएको ‘गेरुवस्त्र’ राजनीतिले क्रमश: दक्षिण भारतका कर्णाटक, केरला, तामिलनाडु, आन्ध्र प्रदेश र तेलंगानामा प्रभाव विस्तार गरिरहेको छ । धार्मिक अतिवादी राजनीतिका कारण आज भारतका अन्य क्षेत्रमा जस्तै ती प्रान्तका धार्मिक अल्पसंख्यक, दलित, महिला, जनजाति, राज्य स्वयं र गैरराज्य अतिवादी शक्तिबाट पिरोलिएका छन् । गौरी आफ्नो अखबारमार्फत यस्तै साम्प्रदायिक र अतिवादी विचारको आलोचना गर्थिन् । उनी मौलाउँदो असहिष्णुताको विपक्षमा थिइन् । त्यस्ता गतिविधि भारतीय संविधानको भावनाविपरीत भएको उनको विचार थियो ।

कर्णाटकमा लिंगायत सम्प्रदायको जनसंख्या अधिक छ । गौरी लंकेश लिंगायत सम्प्रदाय हिन्दुवादी वीरशैव मतभन्दा फरक भएको चिन्तक कलबुर्गीको विचारमा सहमत थिइन् । वीरशैव मतअन्तर्गत परम्परागत र अतार्किक अभ्यासमा सुधार गरी बासाभेश्वाराले लिंगायत सम्प्रदायको विकास गरेका थिए । लिंगायतलाई धार्मिक कट्टरताबाट अलग राख्नुपर्ने गौरीको विचार थियो, जो कर्णाटकका कट्टरपन्थीलाई मन परेको थिएन । उनको हत्यापछाडिको कारण यो मतभेदलाई पनि मानिएको छ ।

रामायणलाई दक्षिण भारतमा हेर्ने दृष्टिकोण उत्तर भारतभन्दा भिन्न छ । अझ हिन्द महाद्वीपमा धेरै थरी रामायण  छन् । तर सबैतिर उत्तर भारतमा जस्तो रामलाई सकारात्मक पात्र र रावणलाई खलपात्रको रुपमा हेरिँदैन । पुस्तकको एक सन्दर्भमा भनिएको छ, ‘जति वटा रामायण, उति जना राम ।’ दक्षिण भारतको पृष्ठभूमिमा लेखिएको पुस्तकमा वर्णित सांस्कृतिक प्रसंगमार्फत लेखकले गौरी हुर्केको सांस्कृतिक जगको व्याख्या गर्न खोजेका छन् ।

दक्षिण भारतमा लामो समयदेखि मिजोरमका राजा टिपु सुल्तानलाई पुज्ने वा नपुज्ने भन्ने विवाद रहँदै आएको छ । हिन्दु अतिवादी मतले टिपु मुसलमान भएको र आफ्नो शासनकालमा हिन्दुमाथि अत्याचार गरेकाले उनीप्रतिको सम्मान अमान्य हुने बताउँदै आएको छ । उदारपन्थीहरुले भने बेलायती उपनिवेशवादविरुद्ध उनले साहसिक लडाइँ लडेका कारण सम्मान गर्नुपर्ने मत राख्दै आएका छन् । गौरी लंकेश आफ्ना केही अग्रजको विचारमा सहमत भई टिपुप्रति सम्मान गरिनुपर्ने मतका पक्षधर थिइन् । इतिहासलाई धार्मिक संकीर्णताको तुलोमा तौलिने विचारप्रति उनको विरोध थियो । 

कवि, आलोचनात्मक चिन्तक तथा पत्रकार पिता पी लंकेशको बलियो प्रभाव र उनको अन्य सरसंगतको प्रेरणाले गौरीलाई विभेदकारी सामाजिक बन्दोबस्त र असहिष्णु राजनीतिको  विरोधमा उभिन सक्ने बनाए । पुस्तकमा दक्षिणी भारतको राजनीति र त्यहाँ मौलाइरहेको अवसरवादको पनि चर्चा गरिएको छ ।

प्रकाशित: मंसिर २६, २०७५

ट्याग: पुस्तक