शोभराज सर्जरी

- राजकुमार बानियाँ

हात्तीसारको कफी–टकमा २१ मंसिर बिहान पाठक/शुभचिन्तकको घेरामा थिए, डा रामेश कोइराला, ५० । धमाधम सही धस्काउँदै थिए नयाँ किताब, चार्ल्स शोभराज : इन्साइड द हार्ट अफ द बिकिनी किलरमा । दिल्लीमा रिलिज भएको तीन सातापछि काठमाडौँ एयरलिफ्ट गरिएको ‘बुक–साइन’ मा भुलिरहँदा कुराकानीका लागि निर्धारित समय दुई घन्टा घर्किसकेको थियो ।

मुटु सर्जन रामेशको खातामा चानचुन ६ हजार शल्यक्रिया दर्ता छन् अहिलेसम्म । गंगालाल अस्पतालमा ज्यादा शल्यक्रिया गर्ने शीर्षसूचीमा उनै छन् । यद्यपि उनलाई (कु) ख्याति दिने शल्यक्रिया भने चार्ल्स शोभराजकै भइदियो । नेपालभित्र या बाहिरका जिउँदा मान्छेमध्ये चर्को बदनामी उही ‘बिकिनी किलर’ कै छ ।

१२ जुन ०१७ मा रामेशले ट्वीट गरेका थिए, ‘यस्, ही ह्याज अ हार्ट एन्ड आई जस्ट फिक्स्ड भल्भ्स इन्साइड । रिकभरिङ नर्मल्ली । #चार्ल्स #शोभराज ।’ (हो, उनीसँग मुटु रहेछ र मैले त्यसभित्र भल्भ फिट गरेको छु र बिस्तारै ठीक हुँदैछन् ।)

 

 

गंगालालमा सानुमैया या हर्कबहादुरहरूको शल्यक्रिया गर्दा अक्सर घरमा सुनाउँदैनन् रामेश । शोभराजको शल्यक्रियाको खबर भने चिकित्सक पत्नी पुनम शर्मालाई पहिले नै सेयर गरे । तर टिचिङ अस्पतालकी गाइनोकोलोजिस्टले सुनेको नसुन्यै गरिन् । अलिक बेरपछि बल्ल मौनता तोडिन्, ‘डज ही इभन ह्याभ अ हार्ट ?’ (उसको पनि मुटु छ र ?)

हो, त्यही सवालको जवाफ थियो रामेशको ट्वीट । त्यत्तिकै सवाल गरेकी थिइनन् डा पुनमले । तिहाड जेलबाट शोभराज भाग्दा त्यहीँका जुनियर पुलिस अफिसर रहेछन् पुनमका पिता । शोभराजको जेल–ब्रेकपछि दुई महिना इन्क्वायरीमा परेछन् । तनावका ती दिन सम्झेर पुनमलाई दिक्क लागेको पनि हुन सक्छ ।

रामेशका पत्रकार मित्रहरू धेरै छन् । ‘ ब्रेकिङ न्युज’ कसलाई दिने ? उनलाई द्विविधा भयो । आफैँ बाजी मारे ट्वीटरमा । कसैको गाली खाए, कसैको ताली । भैपरी या संयोग मात्र थिएन शोभराजको शल्यक्रिया ।

किताबको पहिलो अध्याय ‘फोन डाँडा : अ टेलिफोन रिङस्’ ले के बताउँछ भने पोहोर मार्चताका उनी खप्तड घुम्न गएका थिए । फोन डाँडाको उकालो चढ्दा एक घन्टी गयो उनलाई । शोभराजकी ‘लयर इन ल’ शकुन्तला थापाको रहेछ । गंगालालमा शोभराजको शल्यक्रिया ‘क्यान्सिल’ भएछ । अपरेसनका लागि अनुनय–विनय थियो त्यसमा ।

खप्तडबाट फर्केपछि वकिलसहित अस्पताल गए शोभराज । बोलक्कड शोभराजले पनि बिन्ती बिसाए, ‘तिमीसँगै अपरेसन गर्छु, बरु कुर्छु ।’ केही चरणको कुराकानीपछि रामेश तयार भए । बिरामीको सेवा त ड्युटी नै हो ।

गंगालालका एक से एक डाक्टर शोभराजको शल्यक्रिया गर्न तत्पर थिए । त्यसकै लागि कुनै डाक्टरले त राजीनामा नै पछि धकेलेका थिए । रामेशलाई पनि तानेकै थियो र त अरू डाक्टरको ओपीडीमा आउँदासमेत अनुमति लिएर फोटो खिचाएका थिए । रामेशकै जिम्मामा आउँदा एक दर्जन युवतीको कारण होला, कुनै जुनियर महिला डाक्टरले शोभराजको ‘बाहिरी छाला चिर्छु’ भने, कुनैले ‘छाती उघार्छु’ ।

शल्यक्रिया नजिकिँदै जाँदा रामेशसँग नयाँ मेडिकल अफिसरहरूले भने, ‘सर, उसले यति धेरै मान्छे मार्नुको नियत के थियो ? सोध्नु न ।’ उनलाई पनि खसखस भइसकेको थियो– आखिर सिरियल किलर किन भयो शोभराज ? किन दोहोर्‍याएर नेपाल आयो ? कुन आधारमा जेल पर्‍यो ? यी तीनै रहस्यले रामेशको खुफिया खोपडी रन्थनिइरह्यो ।

हुन पनि सन् २००३ ताका विश्वमा १ सय ९० देश थिए । ऊमाथि हत्याको अभियोग लागेका तीन देश थिए, नेपाल, भारत र थाइल्यान्ड । २० वर्षसम्म केस नसल्टिएर थाइल्यान्डमा फाइल थन्किसकेको थियो भने भारतमा सजाय काटिसकेको । मिनरल वाटर र पस्मिनाको व्यापारका लागि फ्रान्सबाट नेपाल नै आउनुपर्ने कारण के हो ?

साँच्चै भन्ने हो भने शोभराज सन् १९७० को हिप्पी कालमा नेपाल न आफ्नो पासपोर्टमा आएको थियो, न त फर्केकै हो । शोभराज आफ्नो नाममै आएको छैन । कसैले उसको फोटो खिचेर राखेको पनि छैन । के–कस्ता सबुतले उसलाई जन्मकैद भयो ?

रामेशले शोभराजको मुटुको माट्रियल भल्व फेरेर कृत्रिम हालिदिए भने ट्राइक्पिड भल्व मर्मत गरिदिए । तीन हप्तापछि डिस्चार्ज हुने बेला उनले प्रस्ताव गरे, ‘तेरा बारेमा म केही लेख्छु, मन्जुरीनामा लेखेर दे । त्यसरी नलिए तैँले फसाइहाल्छस् ।’ निकै बाठो शोभराजले वकिललाई सोध्नुपर्छ भन्यो । पछि, उसले आफैँले लेखेर ल्यायो ।

त्यो तीन साता साँझ–बिहान शोभराजसँगै भए रामेश । पछि ओपीडीमा आउँदा त्यति लामो गफिने मौका मिलेन । बिरामी छाडेर ओपीडी क्यान्सिल गर्ने कुरा पनि भएन । उनले कतिपय कुरा सोधे, कतिपय सोधेनन् । चाहिएको सूचना आओस्, नैतिक समस्या र कानुनी अड्चन नआओस् भन्ने ख्याल गरे उनले ।

“मैले कसरी लेखेँ भन्ने कुरा पाठकले किताब पढेपछि पक्कै थाहा पाउँछन्,” उनी भन्छन्, “चार्ल्स शोभराजसित मेरो दोस्ती भयो कि भएन ? सम्बन्ध कस्तो छ ? पहिले नै थाहा भयो भने किताब पढ्दा त्यति मज्जा आउँदैन ।”

थोमस थम्पसनको सर्पेन्टाइन, रिचार्ड नेविल्लेको लाइफ इन्ड क्राइम्स अफ चार्ल्स शोभराज, नेविल्ले र जुलिया क्लार्कको स्याडो अफ कोब्रा, विकास भट्टराई र अनन्तराज लुइटेलको चार्ल्स शोभराज, अदालती मिसिल र युट्युबको डकुमेन्ट्री अनि मै और चार्ल्स सिनेमालाई सन्दर्भसामग्री बनाए उनले । गत मार्चमा १९ अध्यायमा समेटिएको झन्डै ५० हजार शब्दको पहिलो मस्यौदा ‘द हार्ट अफ द हार्टलेस म्यान : द बिस्ट अफ द हिप्पी ट्रेल’ पठाए दिल्लीको रूपा पब्लिकेसनमा । रूपाका सम्पादक, सेल्स एन्ड मार्केटिङले त्यसको नाम संशोधन गर्‍यो । लौ त लौ भनेर सदर गरिदिए ।

रामेश नेपाली, अंग्रेजी, हिन्दी र रुसी भाषामा पकड राख्छन् । “नेपाली लेखेको भए एक हजार बिक्थ्यो होला, दुई हजारले गाली गर्थे होलान्,” यसपालि अंग्रेजी रोज्नुमा स्पष्ट छन्, “अंग्रेजीमा लेखे संसारभरि मेरो नाम हुन्छ, हिट हुन्छ, पैसा आउँछ भनेर लेखेको हुँ । हाइ–होप नराख्नु होला, हावा किताब सोचेर पढ्न थाले लेखक र पाठक दुवैलाई सजिलो ।”

तीन महिनाको संगतमा शोभराजलाई निर्दोष ठहर गर्न लागेनन् रामेश । एक निर्मम हत्यारालाई बिरामी भएकै आधारमा सहानुभूति जनाउनुपर्छ भन्ने पनि लागेन उनलाई । “जघन्य अपराध गरेपछि ग्लानि हुन्छ,” उनी अनौठो मान्छन्, “तर त्यत्रा हत्यापछि पनि शोभराजमा अपराधी हुँ भन्ने मतलबै छैन ।”

रमाइलो प्रसंग, गंगालाल अस्पताल बस्दा बिहानदेखि बेलुकीसम्म लिची मात्रै खाएको खायै गथ्र्यो शोभराज । कतिसम्म भने फ्रेन्च दूतावासले समेत लिची नै ल्याइदिन्थ्यो उसलाई । एउटा सिरियल किलरका लागि खानेकुरा ल्याउनु के जरुरी थियो ? रामेशले बुझ्न पनि चाहेनन् ।

सर्जनहरू धरतीकै धपेडीका प्राणी मानिन्छन् । मुटु सर्जन रामेशको अगुवाइमा गंगालालमा रोजिन्दै सात–आठ शल्यक्रिया हुन्छन् । दिन बिराएर ओपीडी । आईसीयू, वार्डका बिरामी पनि हेर्नैपर्‍यो । यति हुँदाहुँदै पनि आमवृत्तले चिनेको छ उनलाई । नयाँ संविधान, मधेस आन्दोलन, भारतीय नाकाबन्दी, संघीयता, एनसेल लाभकर प्रकरण, डा गोविन्द केसीको सत्याग्रहलगायतका विषयमा उनले खस्रोमसिनु टिप्पणी गरे । ट्वीटरमा हल्लीखल्ली मच्चाउने यी सर्जनले प्रधानमन्त्रीको रेल सपनालाई रोलर कोस्टर ‘करार’ गरे भने लाभकर प्रकरणमा एनसेल वहिष्कार अभियान चलाए ।

विकासको राजनीतिमा चाख राख्ने यी सर्जनले अहिलेसम्म कसैलाई भोट हालेका छैनन् । गगन थापा स्वास्थ्यमन्त्री हुँदा सल्लाहकार पनि भए । विचारका हिसाबले ‘सोसल डेमोक्रेट’ उनलाई नेपाली राजनीति झूर लाग्छ ।


डा रामेश कोइराला  | तस्बिर : भास्वर ओझा


धेरैलाई लाग्दो हो, सर्जन पनि यति फुर्सदिलो ? उनले सरकारी अस्पताल गंगालालमा काम गरेको १८ वर्ष भइसक्यो । ९–५ को ड्युटीमा रमाउने उनलाई ‘प्राइभेट प्राक्टिस’ मा दिलचस्पी छैन । उनी त अझ गंगालालमा सस्तोभन्दा सस्तो शल्यक्रिया होस्, नि:शुल्क होस् भन्ने सर्जन । गंगालालजस्ता अस्पताल जिल्लापिच्छे खोल्ने र प्राइभेट अस्पताल बन्दै हुनुपर्छ भन्ने मान्यता राख्ने डाक्टर ।

“म उपेन्द्र देवकोटाजस्तो बन्न चाहन्नँ, उनले जिन्दगीभरि दौडेर स्याँस्याँ र फ्याँफ्याँ गरेर पैसा कमाए, आफ्ना लागि एक सुको काम लागेन,” उनी भन्छन्, “कति पैसा भए पुग्छ ? कति कमाउने ? कमाउने मात्र होइन, खर्च गर्ने पनि समय चाहियो नि ।”

आँखा मिच्दै उठेर अस्पताल पुग्ने, बीचमै भाग्ने, अन्यत्र धाउने, शनिबार पनि नभन्ने, बिहेमा पनि कि त नपुग्ने कि ढिलो पुग्ने, गाडीमा एफएम सुनेको भरमा धारणा बनाउने सर्जनको पल्टनमा पर्दैनन्, रामेश । खर्च गर्ने पैसा पुगेन, समय बढी भयो भन्ने बोध भएको दिन बाटो मोड्ने विचार छ । कहिलेकाहीँ आफैँलाई लाग्छ, रामेशमा डाक्टरको क्यारेक्टर नै छैन । खासमा उनी झापा भद्रपुरबाट इन्जिनियर बन्न काठमाडौँ छिरेका रहेछन् । वीरेन्द्र माविबाट दोस्रो श्रेणीमा एसएलसी गरेपछि केही समय लोकल कमर्स कलेजमा अल्झेपछि पाटन कलेजमा आईएस्सीको भर्ना त पाए तर बायोलोजिकल ग्रुपमा । 

त्यसपछि इन्जिनियरिङतिर चिहाएनन्, डाक्टरी छात्रवृत्तिमा रुसतिर मोडिए । हालको युक्रेनमा पर्ने लुबोभ सहरमा एमबीबीएस पढेर फर्के । “डाक्टर बन्ने मेरो दिमागमै थिएन,” उनी भन्छन्, “हिरो बाइ मिस्टेक भन्छन्, मचाहिँ डाक्टर बाइ मिस्टेक हुँ ।”

डाक्टरलाई ‘बाइ मिस्टेक’ मान्ने हो भने लेखक पनि ‘बाइ चान्स’ नै भएका हुन् रामेश । प्रसंग उनी एमबीबीएस पढ्दाको हो, जति बेला रुस अविभाज्य थियो । आमा मुटु रोगी थिइन् । नेपालमा मुटुका बिरामीको रगत जाँच हुन्थेन । त्यसका लागि न रकम जोरजाम हुन सक्यो, न त दाता नै भेटिए । त्यसपछि उनले आइडिया लगाए– किताब लेख्ने, त्यसको मुनाफा रगत जाँच केन्द्रमा लगाउने । त्यसरी जन्मियो, आत्मसंस्मरण आमाको मुटु

उनले ‘रियल इस्यू’ उतारेका छन्, कोपिला आश्रममा । त्यसलाई गैरसरकारी संस्था, कम्युनिस्ट राजनीति र इसाईकरणको ‘स्टिङ अपरेसन’ भने पनि हुन्छ । उनी नग्न यथार्थको चित्रण अनि कटाक्ष कलामा उस्ताद नै छन् । “लेखन प्यासन मात्र हो, पैसाका हिसाबले आकर्षक छैन,” उनी भन्छन्, “समय र श्रम धेरै खर्च हुने, कमाइ कम हुने । कमाउदो हुँ त डाक्टरी छाडेर लेखक मात्रै बन्दो हुँ ।”

लेखकका रूपमा चिन्नेले पनि कुशल लेखक अनि चिकित्सक रूपमा चिन्नेले दामी विशेषण थप्न पाए हुन्थ्यो भन्ने आकांक्षा उनमा हुनु स्वाभाविकै हो । यी डाक्टर ब्लड प्रेसर कसरी ठीक पार्ने ? मुटु कसरी स्वस्थ राख्ने ? के खाने ? के नखाने ? आदि स्वास्थ्य–अन्तर्वार्ता दिँदैनन् । यस्ता सल्लाह लिनलाई त उनको बिरामी भएरै जानु जाती ।

दुब्लो कदकाँठीका यी सर्जनलाई सानोमा ‘नसे’ भनिँदो रहेछ । असमयमै चस्मा लगाउनु परेकाले धीत मरुन्जेल क्रिकेट खेल्नचाहिँ पाएनछन् । युवावयमा थुप्रै पटक हेमा मालिनीसँग नाचेको सपना देख्ने रामेश पक्कै ‘रोमान्टिक’ थिए । एमबीबीएस छोरीका पिता अहिले पनि मनमौजी छन् । वर्षको एक महिनाजति गोजी रित्याएरै घुमघाम गर्छन् । अब पुग्न बाँकी हिमालको बेसक्याम्प कञ्चनजंघा मात्रै हो ।

सात–आठ महिना भयो, शोभराजसँग उनको भेट नभएको । अब भेट्ने विचार पनि छैन । १५ वर्ष सेन्ट्रल जेलको छिँडी कुरेको ७४ वर्षीय शोभराजलाई किताबबारे थाहा दिएका पनि छैनन् । “मेरो किताब शोभराजको जीवनी, संस्मरण वा अन्तर्वार्ता होइन, विश्लेषण मात्रै हो,” उनी ठाडै नकार्छन्, “शोभराज मेरो पात्र होइन, विषय मात्र हो । मैले विषयमाथि अध्ययन गरेको हुँ । यसैले म ऊप्रति धन्य हुनुपर्ने कारण छैन । बरु आफ्नो ज्यान बँचेकामा ऊ मप्रति धन्य भएको हुन सक्छ ।”

प्रकाशित: मंसिर २६, २०७५

ट्याग: प्रोफाइल