बलेकी दीया

- गोकर्ण गौतम

नेपाली रंगकर्ममा चिनिएको नाम हो, दीया मास्के । तर दीया नाटक मात्र खेल्दिनन्, निर्देशन पनि गर्छिन् । उत्तिकै राम्रो नृत्य गर्छिन् । फिल्म खेल्छिन् । रियालिटी सोको निर्णायक पनि हुन् । हिमालय रोडिजको दोस्रो संस्करण सकिन नपाउँदै उनी शिल्पी थिएटरको मञ्चमा देखा परिन् । नाटक हो, शकुन्तलाको औँठी । सुरज मल्ल निर्देशित यस नाटकमा नाटक खेल्ने मान्छेकै कथा भनिएको छ । दीयाचाहिँ कनकको भूमिकामा । करिब १५ वटा नाटक खेलिसकेकी दीया भन्छिन्, “यो नाटक हामीजस्तै सामान्य मान्छेको कथा हो, जहाँ नाटकसँगै कलाकारको जिन्दगी अगाडि बढ्छ ।”

सुरजको यो पहिलो निर्देशन हो । यसअगाडि उनीहरुले सँगै नाटक खेलेका थिए । फिल्म पनि खेलेका छन्, दोख । लामो समयको चिनजान भएकाले नाटक खेल्न सहज भयो । भन्छिन्, “सुरज साधनामा रमाउँछ । हल्लाखल्लाभन्दा काममा ध्यान दिन्छ । धैर्यवान छ ।” सुरजबारे जे भनिन्, उनको हकमा ठ्याक्कै मिल्छ । उनको प्राथमिकता पनि चमकधमकतिर होइन, गुणस्तरीय काम गर्नुमा हुन्छ । यसो नहुँदो हो त, नाटक, फिल्म, टेलिभिजन जताततै छाउन सम्भव छ र ! अझ कहिलेकाहीँ त म्युजिक भिडियोमा पनि देखा पर्छिन् ।

दीयाको फिल्म यात्रा सुरु भएको थियो, कागबेनीबाट । त्यसयता उनले सुनगाभामा समलिंगी महिलाको भूमिकाबाट काफी प्रशंसा बटुलिन् । दोख  र कस्मिक लभ  प्रदर्शन हुन बाँकी छ । नाटक त छँदैछ, नृत्य प्रशिक्षणमा पनि समय खर्चिने दीया भन्छिन्, “जता जे गरे पनि कलाकारिता नै गर्छु । समय मिलाएर गर्दा सबैतिर भ्याइँदो रहेछ ।”

प्रकाशित: मंसिर २४, २०७५

ट्याग: रङ