पोल चाहियो

- सुरेश किरण

अस्ति म विद्युत् प्राधिकरणको कार्यालय जाँदै थिएँ– महसुल तिर्न । कार्यालयको मूल गेटमा केही मानिस उभिइरहेको देखेँ । उनीहरु कार्यालयभित्र जान खोजिरहेका थिए तर गेटमा रोकिएका रहेछन् । हेर्दा सबै सोझासीधा देखिन्थे । किन रोकिएको होला ?

मैले एक फुर्तिला देखिने व्यक्तिसँग सोधेँ, “के कामले भित्र जान लाग्नुभएको क्या रे ! भित्र कसलाई भेट्ने ?”

उनले भने, “भित्र हाकिमलाई भेट्ने हो ।”

मैले सोधेँ, “कामचाहिँ के नि ? हाकिमलाई त्यसै भेट्न त दिँदैनन् ।”

उनले शिरको टोपी मिलाउँदै जवाफ दिए, “कुरोचाहिँ के भने हाम्रा गाउँमा पनि यो बिजुलीको पोल राखिदिनुपर्‍यो । यत्ति भन्न आएको ।”

मैले भनेँ, ‘पोल मात्र राखेर बिजुली कसरी आउँछ ? गाउँमा बिजुली आयो त ?”

उसले भन्यो, “बिजुली त आएको छैन । तर हामीलाई बिजुली नआए पनि केही छैन, पोलचाहिँ आउनुपर्‍यो ।”

“होइन, बिजुली नै आएको छैन भने पोल किन चाहियो ? के काम त्यो पोलको ?” म अचम्मित हुँदै बोलेँ ।

“पोलको के काम रे ? पोल आएपछि त्यही पोलमा बसेर सरकार पनि आउँछ रे । आखिर हामीले पनि सरकार त देख्न पाउनुपर्‍यो नि । पर्‍यो कि परेन भन्नुस् त । बरु एकपटक पोलमा बसेर सरकारलाई आउन दिऊँ, त्यसपछि पोल फिर्तै लगे पनि हामी केही भन्दैनौँ ।” गाउँले दाजुले प्रस्टै जवाफ दिए ।

प्रकाशित: मंसिर २४, २०७५

ट्याग: परिहास